बहसः नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ?

0

तथा प्रतिनिधिसभाको निर्वाचनमा उनीहरुले उल्लेखनीय जित हासिल गरेका छन । सबै कम्युनिष्ट पार्टीहरु (एमाले-माओवादी-मसाल-राष्ट्रिय जनमोर्चा) आदिले पाएको लोकप्रिय मत जोड्दा ५० प्रतिशतको नजिक छ भने सीटको हिसाबले उनीहरु झण्डै दुईतिहाईको नजिक छन् ।

केन्द्रमा ‘बाम गठबन्धन’ को सरकार संघारमा छ । देश संघीयतामा गएसँगै पहिलोपटक रचना गरिएका ७ मध्ये ६ प्रदेशसभामा उनीहरुले सरकार चलाउन सुविधाजनक बहुमत पाएका छन् । संघीय मुलुकहरुमा यस स्तरको निर्वाचन परिणाम विरलै पार्टी वा गठबन्धनका पक्षमा प्राप्त हुने गर्दछ । यो सफलतालाई कुनै पनि अर्थमा सानो, थोरै, कमजोर, सामान्य वा अनुल्लेखनीय मान्न सकिन्न ।

कम्युनिष्टहरुको यो सफलतासँगै ‘कम्युनिष्ट’ शब्दको चर्चा र प्रयोग पनि उत्तिकै बढ्दै गइरहेको छ । हुन त कम्युनिष्ट शब्द नेपाली समाजका लागि कुनै नयाँ हैन । २००६ सालमा नेकपाको स्थापना हुनु अगाडिदेखि नै यो शब्द नेपाली राजनीतिमा प्रयोग भइरहेकै थियो । तर, यो शब्दलाई सबैले आ-आफ्नो राजनीतिक स्वार्थ र अनुकुलतामा प्रयोग गरिरहेका थिए/गरिरहेकै छन् ।

कम्युनिष्ट समर्थकहरुले यो शब्दबाट ‘गरिब, विपन्न र सर्वहारा श्रमजीवी वर्गको मुक्तिदाता’ राजनीतिक आन्दोलनको अर्थमा बिम्ब निर्माण गर्न खोजे । विरोधीहरुले हिजोको सोभियत संघ र आजको चीनको जस्तै ‘एकदलीय अधिनायकवादी सत्ता’ को अर्थमा प्रयोग गर्न खोजे ।

यथार्थमा जाने हो भने यी दुबै विम्वमा आ-आफ्नो प्रकारको अर्थसंकट व्यप्त छ । पहिलो तर्कप्रणालीको आधिकारिता स्वयं कम्युनिष्ट पार्टी र त्यसका नेताहरुमा हुनु स्वभाविकै हो । भरखरै एउटा राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा यो संकटलाई सबैभन्दा ठूलो कम्युनिष्ट समूह एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेका छन् । उनले भनेका छन- नेपालका कम्युनिष्टहरु ‘फिलोसफिकल’ वा ‘आइडोलजिकल’ कम्युनिष्टहरु हैनन्, ‘पोलिटिकल’ कम्युनिष्टहरु मात्र हुन् । बुझ्नेका लागि यो भन्दा ठूलो स्वीकारोक्ति अरु केही चाहिँदैन ।

दोस्रो तर्क पद्दतिले कम्युनष्टिहरुको जुन विम्व निर्माण गर्न खोजेको छ, त्यो शीतयुद्धकालिन चेतनामा आधारित छ । सन् १९१७ मा रुसी अक्टोबर क्रान्ति हुनुअघि संसारका कम्युनिष्टहरु एकदलीयतामा विश्वास गर्दैनथे । सन् १९८९-१९९१ मा एक दलीय कम्युनिष्ट सत्ताहरुको विश्वव्यापी पतनपछि फेरि कम्युनिष्टहरुले एकदलीयताको मोह त्याग गरेका छन । हुन तः अहिले पनि चीन, उत्तर कोरिया, क्युवा, लाओस र भियतनाममा एकदलीय कम्युनिष्ट सत्ताहरु कायमै छन् । त्यसमध्ये उत्तरकोरियाको ‘किम वंशको शासन’ सबैभन्दा बदनाम छ ।

क्युवाका फिडेल क्यास्त्रो पनि भाइलाई सत्ता हस्तान्तरण गरेर परलोक भए । यिनै यथार्थहरुलाई आधार मान्ने हो भने ‘कम्युनिष्टहरु सत्ता आए एकदलीय अधिनायकवाद लाद्नेछन्’ भन्ने भाष्य ठीकै हुन्थ्यो होला । तर, यो ०४६ पछि नै नेपाली जनता र मतदाताले नपत्याएको भाष्य हो । नेपाली कांग्रेसले यसपटक पनि त्यही भाष्य उपयोग गर्न खोजेको विदितै छ, जुन बिकेन भनेर सबैले भनिराखेकै छन् ।

यहाँनेर प्रश्न उठ्छ- नेपाली मतदाताले कम्युनिष्टको दोस्रो बिम्ब किन पत्याएनन् त ? यसका मुख्य दुईवटा कारण छन्ः

पहिलो कारण- नेपालका आम मतदाताले संसारका सबै कम्युनिष्ट मुलुकहरुको इतिहास नपढ्को, नदेखेको, नबुझेको, अनुभव नगरेको हुनु स्वाभाविकै हो । तसर्थ ती देशमा के भएको थियो, त्यो नेपाली मतदाताका लागि खासै महत्वको कुरा भएन । नेपालका कम्युनिष्टहरुलाई नेपाली मतदाताले नेपालकै सन्दर्भबाट हेर्छन् । नेपालका सन्दर्भबाट हेर्दा नेपाली कम्युनिष्टहरुले पञ्चायत र राजतन्त्रको विरुद्धमा, सामन्तवाद र रुढीवादका विरुद्धमा आमचेतना र निणर्ायक संघर्ष निर्माण गर्न अभूतपूर्व योगदान, त्याग र वलिदान गरेका छन् । नेपाली कांग्रेसले ‘विदेशी सन्दर्भबाट टिपेका दुईचार वटा आरोप’ लगाउँदैमा मतदाताले पत्याउँने कुरै आउँदैन ।

दोस्रो कारण- स्वयं नेपालका कम्युनिष्टहरुले आफ्नो इतिहास, दर्शन र विचारधारासंगको ‘लिगेसी’ निरन्तर परित्याग गर्दै जानु हो । नेपालका कम्युनिष्टहरुले कहिल्यै पनि ‘लोकतन्त्र, प्रजातन्त्र, बहुदलीय व्यवस्थाका विरुद्धमा जाने छौं’ भन्न सकेका छैनन् । २०१५ सालको आम चुनावमा कम्युनिष्ट पार्टीले भाग लिएकै थियो । २०१७ पछि पुष्पलालले ‘विघठित संसदको पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन’ गरौं भनेर कांग्रेसलाई भनेकै हुन् । २०३६ सालको जनमत संग्रह ‘केही दिन बहिष्कार’ गरे वापत तत्कालीन मालेले सार्वजनिक आत्मआलोचना गरेर बहुदल पक्षलाई सहयोग गरेकै हो ।

२०४६ सालमा बाममोर्चा पञ्चायतविरोधी जनान्दोलनको एउटा महत्वपूर्ण हिस्सा छँदै थियो । जनयुद्धकै बीचमा माओवादी नेता प्रचण्डले ‘संसदवादी दलहरु गणतन्त्रवादी हुन तयार छन् भने हामी बहुदलवादी हुन तयार छौं’ भनेकै हुन् । उपयुक्त अवसर छानेर उनले ‘प्रचण्डपथ’ स्थगन गरिदिए । आफूलाई ‘जनताको बहुदलीय जनवादी’ भन्ने पार्टीसंग एकता गर्न अहिले उनी राजी छन् ।

जनान्दोलन २०६२/२०६३ मा कम्युनिष्टहरुको योगदान घामजत्तिकै छर्लङ्ग छ, चर्चा गर्न नै जरुरी छैन ।

यहाँसम्म कि एमालेभित्र ‘लेनिनवाद’ परित्याग गर्नुपर्ने बहस चलेकै छ । एमाले-माओवादी एकतापछि लेनिनवाद हट्ने सम्भावना उत्तिकै छ । यहाँसम्म कि वैद्य र विप्लवजस्ता ‘क्रान्तिकारी कम्युनिष्ट’ हरुले पनि ‘हामी संसदीय प्रणालीको मात्र विरुद्धमा हौं, बहुदलीय लोकतन्त्रको विरुद्धमा हैनौं’ भन्दै आएका छन् । यतिको कुरा त कांग्रेसभित्रै प्रदीप गिरी, नरहरि आचार्य र गगन थापाले पनि गरेकै हुन् ।

यी यथार्थले के सिद्ध गर्दछ भने नेपालका कम्युनिष्टहरु लेनिन, स्टालिन, माओ, किम, होचिमिन्ह वा क्यास्त्रोको लिगेसीलाई धान्ने मनोवल भएका वा त्यसलाई सखारेका कम्युनिष्टहरु हैनन् । यी १९१७ अघिका र सन् १९९० पछिको अवस्थाका कम्युनिष्टहरु हुन् जसलाई यी बीचको अवधिको आरोपले खासै काम गर्न सक्दैन ।

यहाँनेर स्मरणीय अर्को कुरा के छ भने नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै चार प्रकारको स्कुलिङ्ग थियो । पहिलो- पुष्पलालको, दोस्रो- मोहनविक्रम सिंहको, तेस्रो-मनमोहन अधिकारीको र चोथो-केशरजंग रायमाझीको ।

आजका मितिसम्म आइपुग्दा यी चारवटै धारहरु एकीकृत भएका छन् । केशरजंग रायमाझीको विरासत उनको पलायनपछि बर्मा, मानन्धरजस्ता समूहले बोेकेका थिए । त्यसको पछिल्लो कडी नेकपा (संयुक्त) यो चुनावमा माओवादी केन्द्रमा विलय भयो ।

मोहन विक्रमसँगको मसाल प्यूठान र बागलुङ्गमा सहकार्य गरेर जोडियो । चुनावी सभाहरुमा उनले पनि ‘एकीकृत कम्युनिष्ट’ पार्टीको युग शुरुवात भएको भाषण गरे । त्यसैको विरासतबाट बनेको माओवादी केन्द्रको स्थिति सबैलाई थाहा छँदैछ ।

मनमोहन र पुष्पलालको स्कुलिङ माले- माक्र्सवादी एकीकरणमै एक भइसकेका थिए । यी दृष्टान्तले के अर्थ दिन्छ भने जसरी नेपालका कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रुपमा सन् १९१७ अघिको अवस्थामा छन्, राष्ट्रियरुपमा विस २०१९ भन्दाअघिको अवस्थामा छन् ।

वास्तवमा कम्युनिष्ट थियो के ? यो ऐतिहासिकरुपमा कसरी विकसित भएको थियो ? कुन परिस्थितिले उनीहरुलाई यहाँसम्म ल्याओ ?

कम्युनिष्ट शब्द ल्याटिन भाषाको ‘कम्युनिस’ हुँदै प|mान्सेली भाषामा भित्रिएको थियो । फ्रान्समा मात्र हैन, युरोपका केही देशमा आज पनि स्थानीय राजनीतिक एकाई वा सामुदायिक ढाँचाको संगठनलाई जनाउँन ‘कम्युन’ शब्द प्रयोग गरिन्छ ।

सन् १७७७ मा फ्रान्सेली लेखक भिक्टर डिहुपेले पहिलोपटक ‘कम्युनिज्म’ शब्द प्रयोग गरेका थिए । उनले स्थानीय तहको राजनीतिक एकाई वा सामुदायिक भावनाको सवलतामा जोड दिन यो शब्द प्रयोग गरेका थिए ।

कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले सन् १८४८ मा ‘कम्युनिष्ट मेनुफेष्टो’ लेखेपछि यो शब्द विश्व राजनीतिमा तीव्र विस्तार भयो । त्यसअघि युरोपको ‘सामाजिक जनवादी’ आन्दोलनमा ‘कम्युनिष्ट’ को साटो ‘सोसलिष्ट’ मात्र प्रयोग गरिन्थ्यो । घोषणापत्रमा ‘कम्युनिष्ट’ किन लेख्नुपर्‍यो भन्नेबारे सन् १८८८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रको अंग्रेजी संस्करणको भूमिकामा सहलेखक फ्रेडरिख एंगेल्सले भनेका छन् ‘समाजवाद शब्द सामान्यकृत भयो । वि्रटेनका ओवेनिष्ट र फ्रान्सका फुरियरिष्टहरुले यसको धेरै प्रयोग गरे । यसले मध्यम वर्गको राजनीतिक आन्दोलनलाई बुझाउन थाल्यो । त्यसबाट फरक गर्न, सर्वहारा आन्दोलनको अर्थ दिन, ‘कम्युनिष्ट’ शब्द प्रयोग भएको हो ।’

‘कम्युनिज्म’ को अनुवाद भारोपेली भाषा परिवारका दक्षिण एशियाली भाषामा ‘साम्यवाद’ हुनुपथ्र्यो वा ‘समुदायवाद’, यो अर्को बहसको विषय हो । ‘साम्यवाद’ र ‘समुदायवाद’ झटट् सुन्दा उस्तै लागे पनि दुबैको अर्थ एकै हुँदैन । ‘साम्यवाद’ शब्दले सबै मान्छे सबै हिसाबले बराबर वा एकाम्य भएको/हुनसक्ने अर्थवोध गर्छ, जुन असम्भव कुरा हो ।

त्यसमा पनि साम्यवादको मुख्य जोड आर्थिक समानतामा देखिन्छ । त्यसले मानिसका बहुआयामिक अस्तित्व, चाहना र आवश्यकताबारे कमै महत्व दिएको पाइन्छ ।

‘समुदायवाद’ ले सामुहिकतामा आधारित सामाजिक तथा आर्थिक प्रणालीको अर्थवोध गराउँछ । वर्गविहीन, राज्यविहीन, निजीसम्पतिविहीन र अतिरिक्त मूल्यविहीन समाजको अर्थवोध गराउने पहिलो अर्थबाट नेपालका मात्र हैन संसारभरिकै कम्युनिष्टहरु विमूख भइसकेका छन् । दोस्रो सामुहिकतामा जोड दिने अर्थमा ‘समुदायवाद’ सायद अहिले पनि प्रासंगिक छ । एक क्षणलाई सिद्धान्तको कुरा छोडेर व्यवहारको कुरा मात्र गर्ने हो भने नेपालका कम्युनिष्टहरु ‘साम्यवादी’ त हैनन् हैनन् उनीहरु ‘समुदायवादी’ पनि हुन सकिरहेका छैनन् ।

रुसी अक्टोबर क्रान्तिभन्दा अघि मार्क्सवादी पार्टीहरुले आफूलाई ‘कम्युनिष्ट पार्टी’ भन्दैनथे । स्वयं लेनिनको पार्टीको नाम ‘रुसी सामाजिक जनवादी मजदूर पार्टी’ थियो । २०१७ को अक्टोबर क्रान्तपछि लेनिनले आफ्नो पार्टीको नाम फेरेर ‘कम्युनिष्ट’ बनाएसंगै ‘लेनिनवाद’ समर्थक ‘सोसलिष्ट’हरुले नाम फेरेर कम्युनिष्ट बनाए । कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय संगठनका रुपमा ‘कोमिन्र्टन’ गठन गरियो । ठीक यही परिदृष्य सन् १९९० पछि देखिन्छ । तिनै पार्टीहरुले फेरि आफ्नो नाम फेरेर कम्युनिष्टबाट सोसलिष्ट बनाए । त्यसको सबैभन्दा गतिलो उदाहरण युगोस्लाभियाको स्लोवोदान मिलोशोविचको पार्टी थियो जसले युगोस्लाभियाली कम्युनिष्ट पार्टीको नाम फेरेर सर्वियाली समाजवादी पार्टी बनायो ।

यहाँनेर जोड दिन योग्य अर्को कुरा के हो भने मार्क्सवादी दर्शन वा समाजवादी आन्दोलनका अनुयायीहरुले त्यतिखेरै पनि सबैले आफूलाई कम्युनिष्ट भन्दैनथे । लेनिनवाद माक्र्सवादको एक मात्र आधिकारिक भाष्य थिएन । माक्र्सकै पालामा एडवर्ड बर्नस्टिनले माक्र्सको भन्दा फरक लोकतन्त्र सहितकै समाजवादको कुरा गरेका थिए । कार्ल काउत्स्की वा रोजा लम्जेम्बर्गजस्ता मार्क्सवादी चिन्तकहरुले बहुदलीय लोकतन्त्रसहितकै समाजवादी आन्दोलनमा जोड दिन्थे । सोभियत संघमा स्टालिनको उदयपछि पश्चिम युरोपेली एन्टोनियो ग्राम्स्की, पामिलो ट्याँगिलियाती, मिलोवन द जिलास, सान्टिआगो कैरिल्लो जस्ता चिन्तकहरु बहुदलीय लोकतन्त्रसहितकै कम्युनिष्ट आन्दोलनको पक्षमा थिए जसलाई ‘युरोकम्युनिज्म’ भनिथ्यो ।

कम्युनिष्टहरुले पनि बहुदलीय प्रणाली मान्नुपर्छ भन्ने विचार नेपालमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याएर भएको हैन । त्यो लेनिनकै पालादेखिको एउटा फरक धार थियो । तर, अरु मार्क्सवादी चिन्तकहरु लेनिनझैं सत्ता हत्याउन सफल भएनन् । लेनिनले रुसमा सत्ता हत्याउँन सफल भएको कारण लेनिनको धार विश्वव्यापी रुपमा बढी प्रचार भयो । अरु चिन्तकका विचारको खासै प्रचार हुन सकेन ।

नेपालका कम्युनिष्टहरु पनि त्यही धारको शिकार भए । उनीहरुले लेनिनको जन्मदिन अपि्रल २२ को दिन परेर पार्टी स्थापना गरे । तर, आज उनीहरु बुझ्न बाध्य भए कि अबको दुनियाँ लेनिनवादी साम्यवादको हैन, तसर्थ उनीहरुले ऐतिहासिक विरासतलाई छद्म रुपमा जोगाउँदै बर्नस्टिन, काउत्स्की, रोजा, ग्राम्स्की, दजिलास र कैरिल्लोको लाइनमा आएका हुन् ।

नेपालको कम्युनिष्ट साहित्य र बौद्धिक चिन्तनमा कुनै समय ‘एक पार्टी प्रणाली’प्रति विशेष मोह थियो नै । सन् १९९० अघिसम्म उनीहरुले रुसको ‘सोभियत प्रणाली’ र चीनको ‘संयुक्त जनवादी अधिनायकत्व’ लाई आदर्श राज्यप्रणालीमा रुपमा ग्रहण गर्दथे । त्यही अर्थमा उनीहरुले लेनिनवाद/ माओवादलाई मार्गदर्शक सिद्धान्तको मान्यता दिए । ती प्रणालीमा वैचारिक स्वतन्त्रता, दलीय व्यवस्था र आवधिक निर्वाचन हुँदैनथ्यो भन्ने कुरा पनि उत्तिकै प्रष्ट हो । नेपालको कम्युनिष्ट आन्दोलनबाट यस्तो चिन्तनलाई हटाउन मदन भण्डारीले उल्लेख्य भूमिका गरे ।

पूर्वी युरोप र सोभियत संघमा साम्यवादी व्यवस्थाको पतन मदनका लागि उचित अवसर बन्यो । मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ मार्फ्त त्यस्ता सोचमाथि तीव्र प्रहार गरे । उनले रुस, चीन कै दर्शन, विचार र प्रणालीको लिगेसीबाट जन्मिएको पार्टीमा तिनै विचारको रक्षा गरेजस्तो भान वा प्रतिति हुने गरी तिनै विचारलाई पराजित गरे । भण्डारीले बहुदलीय जनवादमा ‘लेनिनवाद कायमै राखेर संसदीय प्रणाली अपनाउँने’ पार्टीका रुपमा एमालेलाई फेरे ।

वस्तुतः भण्डारीले भनेको जनताको बहुदलीय जनवाद र लेनिनवादका बीचमा कुनै तारतम्य र संगति थिएन । यो कुरा भण्डारी राम्ररी बुझ्दथे । तर, व्यक्त गर्दा पार्टीपंक्तिले नपचाउने र कार्यनीतिक स्टेप नमिल्ने हुँदा त्यसलाई उनले अनदेखा छोडिदिए ।

यो कुराको आधिकारिकताका लागि एमालेकै केही जीवित नेताहरु छन् । उनीहरुले यो कुरा यो लेखकसँगको व्यक्तिगत भेटघाटमा स्वीकार गरेका छन् । उहाँहरुको राजनीति जीवनमा पर्ने असरलाई ध्यान दिँदै यहाँ नाम उल्लेख गर्न चाहन्न । तर, उनीहरुको भनाइमा ‘मदन भण्डारी यो कुरा राम्ररी बुझ्दथे, नेपालमा उग्रकम्युनिष्ट चिन्तनको प्रभाव कायमै भएको हुँदा हतारो गर्नुहुँदैन’ भन्ठान्दथे ।

मदन भण्डारीले गर्न नसकेको यही काम आज घनश्याम भुसाल गर्न खोजिरहेका छन । एमालेमा भूसालीय चिन्तनको मुख्य विन्दू वा उनको बौद्धिक लोकप्रियताको आधार यही नै होे । यस अर्थमा एमालेको बहुदलीय लोकतन्त्रप्रतिको निष्ठामा शंका गरिरहन आवश्यक छैन । उसका लागि ‘कम्युनिज्म’ पार्टीको ‘ओरिजिन’ र इतिहासप्रतिको लिगेसी मात्र हो ।

माओवादी केन्द्रको कुरो हिजो फरक थियो । आज भने उसको नियति पनि एमालेकोभन्दा खासै फरक छैन । हिजोआज त प्रचण्ड आफैं ‘मदन भण्डारीको सपना पूरा गर्ने’ वाचा गर्दै हिँडिरहेका छन् ।

तसर्थ नेपालका कम्युनिष्ट पार्टीहरुलाई अब रुसी क्रान्ति अगाडिको समाजवादी आन्दोलनको अवस्थाबाट, शीतयुद्धको अन्त्यपछिका कम्युनिष्टका रुपमा, बहुदलीय व्यवस्थाभित्रको प्रतिस्पर्धी दलका रुपमा हेर्नु बढी सही हुन्छ । उनीहरुसँग प्रतिस्पर्धा गर्ने रणनीति पनि सोहीअनुरुप बनाउनु राम्रो हुन्छ ।

केपी ओलीले आफूहरुलाई दार्शनिक तथा विचारधारात्मक कम्युनिष्टका रुपमा हैन, राजनीतिक कम्युनिष्टका रुपमा मात्र बुझिदिन गरेको आग्रहको सार त्यही हो ।

Share.

Leave A Reply