बलेवा विमानस्थल संचालनको तयारीमा

0

सन्तोष थापा/उज्यालो ।

पर्वत, माघ १८ – २८ बर्षदेखि बन्द बलेवास विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार गर्ने कार्य भैरहेको छ । पर्वत सदरमुकाम कुस्माबजार सँगै जोडिएको बागलुङ बलेवा विमानस्थल सञ्चालनका लागि पूर्वाधार तयार गर्न थालिएको हो ।
गौरचरणमा परिणत भएको विमानस्थल संचालनका लागि सहमति भएसँगै बिहीबार प्राविधिकहरुको अवलोकन गरेका छन् । अवलोकन गरेपछि पूर्वाधार निर्माणको काम तत्काल सुरु हुने भएको छ । विमानस्थलमा रन वे मर्मत, पुरानो टावरको चेकजाँच तथा मर्मत र विमानस्थल वरपरका अग्ला संरचना हटाउने र रुखहरु तत्काल हटाउने कार्य केही दिनमै सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्द्रराज शर्माले सुरुमा पूर्वाधार तयार हुनुपर्ने बताउनुभयो ।
वि.स.२०४६ सालमा पोखरा–बाग्लुङ सडकमा सवारी  साधन गुड्न थालेपछि विमानस्थल बन्द रहेको थियो । विमानस्थल पुग्ने बाटो कच्ची भएको कारण बीचमा परिक्षण उडान भए पनि विमानस्थल नियमित संचालनमा आउन सकेको थिएन । तीन वर्ष अघि विमानस्थल संचालन ल्याउने तयारीका साथ तत्कालीन शिक्षामन्त्री तथा माओवादी नेता दिनानाथ शर्माको पहलमा नेपाल एयरलाइन्सको ट्वीनेटर जहाजले टेस्टिङ् उडान गरेको थियो । अहिले मालढुंगादेखि—नारायणस्थान हुँदै सरंगीसम्मको कालीगण्डकी करिडोरको सडक नेपाली सेनाले पाँच करोडको लागतमा निर्माण गरिसकेको छ । कुश्मादेखि बागलुङसम्म जान एउटा झोलुङ्गे पुल र एउटा यान्त्रिक पुल समेत संचालनमा आएको छ ।
उहाँले चैतको पहिलो साता बलेवा विमानस्थलमा विमान अवतरण गराउनका लागि सवै तर्फ सहमति र सम्झौता भैसकेको बताउनुभयो । विमानस्थल संचालन गर्न धौलागिरीका स्थानीयले पटक–पटक यस अघि पनि माग गर्दै आएका थिए ।  विमानस्थलमा हवाई उडान भए धौलागिरीका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो ।
मालढुंगाबाट बिमानस्थल हुँदै जाने सडकको लागि आवश्यक बजेट विनियोजन भई काम अघि बढेकोले कालो पत्रे गर्ने तयारी समेत भैरहेको छ । यो विमानस्थल बाग्लुङका नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडालगायतका नागरिकको श्रमदानमा २०१८ सालमा निर्माण भएको हो ।
विमानस्थल बन्द हुनु अघि बलेवाबाट टुइनटर विमानले  काठमाडौं पोखरा र भैरहवा उडान भर्ने  गरेको थियो ।  बिमानस्थल अहिले गौचरनमा परिणत भएको छ ।
Share.

Leave A Reply