बर्दियाको ठाकुरबाबा मन्दिरमा परम्परागत माघी मेला सुरु

0

भावुक योगी/उज्यालो ।

बर्दिया, पुस ३० – माघी पर्वमा ठाकुरबाबा नगरपालिका –९, मा रहेको ऐतिहासिक ठाकुरबाबा मन्दिर परिसरमा ४ दिनसम्म चल्ने परम्परागत माघी मेला आइतबार सुरु भएको छ ।

माघी मेलाका लागि मन्दिर सिँगारिएको छ । दर्शनार्थीहरुका लागि ठाकुरबाबा मन्दिरको ढोका आइतबार राति १२ बजेपछि खुल्ला गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झंकप्रसाद आचार्यले बताउनुभयो । माघी मेलामा ३ सयभन्दा बढी स्टलहरु निर्माण गरिएका छन् ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था गरिएको र पाँच वर्ष अघिदेखि मन्दिर परिसर भित्र नुहाउने कुण्डकोसमेत व्यवस्था मिलाइएको छ । माघे संक्रान्तिका दिन ठाकुरबाबाको दर्शन र पूजाआजा गर्नाले मनोकामना पूरा हुने र विशेष गरी निसन्तान दम्पति यस मन्दिरमा आई पूजाआजा र दर्शन गरेमा सन्तान वर पाइने धार्मिक जनविश्वास रहेको छ ।

माघी मेलामा दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौँ श्रदालु भक्तजनहरु आउने गर्दछन ।

तीन सय वर्षअघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण विष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र यो ठाउँबाट उचाल्न नसकेपछि यही ठाउँमा राखिएको धार्मिक किम्वदन्ती रहेको छ । थारु जातीको महन्त पुजारी रहेका यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ति छ । थारु जातिले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको स्थानीय बुद्धिजीवीको निष्कर्ष छ ।

ठाकुरबाबा नगरपालिकाको भुरीगाँउ बजार नजिक पूर्व पश्चिम राजमार्गको अम्रेनीबाट १३ किलोमिटर दक्षिणतर्फ पर्दछ भने बर्दीयाको सदरमुकाम गुलरियाबाट ४० किलोमिटर पश्चिमतर्फ ऐतिहासिक ठाकुरबाबाको मन्दिर रहेको छ ।

Share.

Leave A Reply