प्रदेश ७ मा १८ जना महिला प्रदेश सांसद

0

१६ पुस, डाेटी । प्रत्येक्ष निर्वाचनतर्फ एक मात्र महिला सदस्य जितेको प्रदेश नं. ७ को प्रदेश सभामा समानुपातिकतर्फका समेत महिलाको संख्या १८ पुगेको छ ।

प्रदेश सभाको प्रत्येक्षतर्फ बझाङ्ग प्रदेश सभा निर्वाचन क्षेत्र (ख ) का वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ देवकी मल्ल (थापा) बिजयी भएकी थिईन ।

उनले आफ्ना प्रमुख प्रतिद्वन्द्वी  कांग्रेसका नेता नरेशबहादुर सिंहलाई दुई हजार पाँच सय एक मतले पछि पार्दै बिजयी प्राप्त गरेकी थिइन् ।

प्रत्येक्षबाट एक मात्रै महिला सदस्य प्रदेश सभामा आएपनि समानुपातिकतर्फबाट १७ महिला थपिएका छन् ।

प्रत्येक्षमा १७ सिट सहित पहिलो भएको एमालेले समानुपातिकमा प्राप्त गरेका सवै आठ सिटमा महिला पठाएको छ । संबैधानिक व्यवस्था अनुसार प्रदेश सभामा कम्तीमा ३३ प्रतिशत महिला हुनै पर्ने भएपछि एमालेले आठै महिला पठाउनु पर्ने भएको हो ।

एमालेले खस आर्य समुदायबाट माया भट्ट, मनकुमारी साउँद, पूर्ण जोशी र सुशिला बुढाथोकीलाई पठाएको छ । यस्तै थारु समुदायबाट चुनकुमारी चौधरी, दलितबाट दुर्गा बि.क. र अर्चना गहतराज र पिछडिएको क्षेत्रबाट माया तामाङ बोहरा सांसद बनेका छन ।

सिट संख्याको आधारमा एमालेले महिला मात्रै पठाउनु पर्ने भएपछि मुख्यमन्त्रीका प्रमुख दावेदार मानिएका एमाले पोलिटव्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुर थापा सांसद हुन पाएनन् ।

प्रत्येक्षतर्फ चार सिट मात्रै जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएको आठ सिटमध्ये चार महिला पठाएको छ । संबिधान अनुसार आफूले प्राप्त गरेको कुल सिट संख्याको एक तिहाई महिला पुर्‍याउनु पर्ने व्यवस्था अनुसार कांग्रेसले चार महिला पठाएको हो ।

खस आर्य समुदायबाट दिव्यश्वरी शाह र अम्विका कुमारी थापालाई कांग्रेसले सांसद बनाएको छ । यस्तै दलितबाट उमा बादी र पिछडिएको क्षेत्रबाट कुमारीनन्द बमलाई सांसद बनाएको छ ।

यस्तै प्रदेश सभामा प्रत्येक्षतर्फबाट १० सिट जितेको माओवादीले समानुपातिकमा चार सिट हात पारेको थियो । माओवादीले चारै महिला पठाएको छ । निर्मला बडाल (जोशी) र कुन्ती जोशीलाई खस आर्य समुदायबाट माओवादीले सांसद बनाएको छ । यस्तै थारु समुदायबाट बिनिता चौधरी र दलित समुदायबाट शान्ति नेपालीलाई सांसद बनाएको छ माओवादीले ।

प्रत्येक्षतर्फ एक मात्रै स्थान जितेको राष्ट्रिय जनता पार्टीले पनि समानुपातिकतर्फ पाएको एक सिटमा महिला पठाएको छ । राजपाले सुनिता चौधरीलाई सांसद बनाएको हो ।

दलहरुको यो उपस्थितिसंगै ५३ सदस्यीय प्रदेश सभामा महिलाहरुको संख्या झण्डै ३४ प्रतिशत हुने देखिएको छ ।

संबिधानको धारा १७६ अनुसार प्रत्येक्षबाट महिला आउन नसकेको अवस्थामा समानुपातिकबाट तोकिएको संख्यामा महिला ल्याउनु पर्ने व्यवस्था छ ।

चार दलको प्रतिनिधित्व रहने प्रदेश सभामा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो, कांग्रेस तेश्रो र राजपा चौथो दल भएका छन ।

बाम गठबन्धनको दुई तिहाई

एमाले २५ सिट जितेर पहिलो पार्टी भएपनि बहुमत प्राप्त गर्न सकेन । प्रदेश सभामा बहुमत पुर्‍याउन २७ सिट आवश्यक हुन्छ । तर, वाम गठबन्धनले भने सहजै दुई तिहाई पुर्‍याएको छ । एमाले २५ र माओवादी केन्द्रको १४ गरी वाम गठबन्धनले ३९ सिट पुर्‍याएको छ । ५३ सदस्यीय प्रदेश सभामा ३५ ले दुई तिहाई पुग्छ ।

Share.

Leave A Reply