प्रदेश २ : प्रदेश सरकारलाई मुख्य विपक्षी दलको समर्थनले राजनीतिमा नयाँ तरंग

0

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, फागुन १३ – विपक्षी दलको हरेक कुरामा विरोध एवं विपक्षमा उभिनु नेपाली राजनीतिको पुरानो संस्कार नै हो । तर देश औपचारिक रुपमै संघीयतामा प्रवेश गरेपछि सकारात्मक राजनीतिक संस्कारको सुरुवात पनि हुन थालेको छ । प्रदेश २ मा यस्तै एउटा सकारात्मक राजनीतिक संस्कार सुरु भएको छ ।

फागुन १० गते बसेको प्रदेशसभा बैठकमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारलाई विपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले समर्थन गरेपछि एउटा नयाँ राजनीतिक तरंग उत्पन्न गरेको छ । यसले आउँदा दिनमा प्रदेशको विकास, समृद्धि, सुशासनमा महत्वपूर्ण टेवा पुग्ने भन्दै नागरिकले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

‘विपक्षी दलले प्रदेश सरकारलाई समर्थन दिएर उदारता देखाएको छ, यसले पछाडिका दिनमा प्रदेशको विकासमा सहयोग पुग्छ । धनुषा औरही नगरपालिका–२ का रमाकान्त झाले भन्नुभयो ‘यो सन्देशले देशका अन्य प्रदेशका विपक्षी दलका नेताहरुले सिको गर्नुपर्छ,  यसरी मात्रै देशको विकास सम्भव हुन्छ ।’

मुख्य विपक्षी दल नेकपा एमालेका प्रदेश सांसद शत्रुधन महतो कोइरीले प्रदेश–२ का नागरिकले दिएको मतको कदर गर्दै मधेशको समग्र विकासको लागि प्रदेश सरकारलाई विश्वासको पक्षमा मत दिएको बताउनुभयो । ‘प्रदेशका नागरिकले हामीलाई विपक्षी दलमा बस्ने र मधेशवादी दललाई सरकार चलाउन मत दिएका छन्’ उहाँले भन्नुभयो ‘झग्डा गरेर प्रदेश र देश समृद्ध बन्दैन । हामी विपक्षमै रहन्छौँ, तर अहिले सरकारलाई विश्वासका मत दिएका छौँ । अगामी दिनमा कामको आधारमा समर्थन र विरोध गर्छौँ, एउटै उद्देश्य प्रदेशलाई समृद्ध बनाउनु छ ।’

यस्तै, माओवादी केन्द्रका प्रदेश सांसद भरत प्रसाद साहले आफ्नो पार्टीको एजेण्डा मधेशवादी दलसँग मिलेको कारण समर्थन गरेको र गुण एवं दोषको आधारमा आउँदा दिनमा समर्थन र विरोध गर्ने बताउनुभयो । साहले भन्नुभयो, ‘जनयुद्ध कालमा हामीले सुशासन, आत्म निर्णयको अधिकार, धर्म निरपेक्षता, गणतन्त्र, पहिचानलगायतको एजेण्डा उठाएका थियौं । यी एजेण्डाहरु सतारुढ दल फोरम राजपाको समेत रहेकाले हामीले समर्थन गरेका छौं । अहिले नै सरकारप्रति टिकाटिप्पणी गर्नु राम्रो होइन ।’

एमाले र माओवादी केन्द्रले मधेशवादी दलको प्रदेश सरकारलाई गरेको समर्थन प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने अपच भएको छ । त्यसैले यसप्रति कांग्रेसका नेताहरुले विभिन्न टिकाटिप्पणीसमेत गरिरहेका छन् ।

प्रदेश सरकारलाई मुख्य विपक्षी दल एमाले एवं माओवादी केन्द्रको समर्थन र कांग्रेसले विपक्षमा गरेको मतदानलाई सत्तारुढ दलले आफ्नै किसिमले समिक्षा गरिरहेका छन् । संघीय समाजवादी फोरम नेपालका सांसद रामअशिष यादवले एमाले र माओवादी केन्द्रले सरकारर्लाइ दिएको विश्वासको मत एकदमै स्वागतयोग्य कदम भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस पुरानो पार्टी भए पनि संघीयताको विषयमा ज्ञानको अभाव र अपरिपक्व निर्णयको संज्ञा दिनुभयो ।

प्रदेश सांसद यादवले भन्नुभयो, ‘हामी संघीयताको अभ्यास गर्दैछौँ । सत्तापक्ष र विपक्षी दल विधिको हिसाबले देखिन्छ । बाम गठबन्धनले देखाएको उदारताले भोलीको दिनमा प्रदेशलाई हरेक दृष्टिले समृद्ध बनाउन सरकारलाई सहयोग पुग्छ ।’

Share.

Leave A Reply