नेपाली सेयर बजार नौ सय विन्दुसम्म झर्ने सम्भावना छः बस्याल

0

१५ पुस, काठमाडौं । भारतको मार्केट पण्डित इन्भेस्टमेन्ट होल्डिङ्सका वरिष्ठ अनुसन्धानकर्ता तथा लगानी विश्लेेषक विष्णुप्रसाद बस्याल पछिल्लो समय नेपाली बजारको विश्लेषणमा सक्रिय छन् ।

सन् २००८ देखि नेपाली बजारमा संलग्न उनले यहाँका केही अन्य लगानीकर्ताको लगानी व्यवस्थापन गरिरहेका छन् । भारतमै ‘चार्टर्ड फाइनान्सियल एनालिस्ट’ कोर्स गरेका बस्यालको पुख्र्यौली थलो स्याङजा हो ।

आम निर्वाचन सकिएर वाम गठबन्धनको सरकार बन्नै लागेका बेला नेपाली सेयर बजारको अवस्था के-कस्तो होला भन्ने बहस भइरहेको छ । पछिल्लो समय सेयर बजारमा देखिएको यही सवालमा केन्द्रित रहेर अनलाइनखबरले बस्यालसँग कुराकानी गरेको छ ।

अहिले नेपाली सेयर बजार घट्दो प्रवृत्तिमा देखिएको छ । यस्तोमा अहिले लगानीकर्ताले किन्ने, बेच्ने वा पर्खिने हो ?

सन् २०१२ मा बजार तीन सयबाट बढ्दो प्रवृत्ति -बुल)मा देखिएको थियो । सन् २०१६ मा गएर उच्चविन्दु १८८१ मा पुग्यो । त्यसयता भने हामी लगातार बियरिस -घट्दो) चरणमै छौं । हामीले पछिल्लो उच्चविन्दुलाई तोड्न सकेका छैनौं । बीच-बीचमा केही अल्पकालीन बाउन्स -उछाल) भने आउने गरेको छ ।

नेपाली सेयर बजारको इतिहास अध्ययन गर्ने हो भने चार वर्षपछि बजार चक्र दोहोरिने गरेको छ । चक्र दोहोरिँदा नेप्से उच्चदरमै करेक्सन (घट्ने क्रम) हुने गरेको छ । यसअघिको उच्चतम विन्दु ११७५ बाट झर्दा नेप्सेले ७७ प्रतिशतसम्म गुमाएको थियो ।

हुन त, अहिले हामी बुलिस टे्रन्ड -उचाइ)मै छौं । यसपटक पनि लगभग ५० प्रतिशतबराबर करेक्सन हुने सम्भावना भने छ । त्यो भनेको नौ सयको हाराहारी हो । आगामी एक वर्षको अवधिमा नेप्से एक हजारको तहसम्म आउने म देख्छु । बीचमा अल्पकालीन बाउन्स भने आउने छ ।

अहिले १४ सय विन्दुको हाराहारीमा च्यानल सपोर्ट -टेवा) छ । १४ सय देखि १५५० वा १५८० मा नेप्सेमा अल्पकालीन बाउन्स हुन्छ । यो क्रम डेढदेखि दुई महिनासम्म चल्नेछ । त्यसपछि बजार बियरिस प्रवृत्तिमै रहेकाले एक वर्षसम्म यो क्रम चल्छ ।

प्राविधिक विश्लेषणको आधारमा मात्र बजारलाई हेर्नुभयो ? आधारभूत पक्षलाई बिर्सन मिल्छ र ?

प्राविधिक विश्लेषणले भीड मनोवृत्ति र बजार मनोविज्ञानलाई हेर्छ । बजार आफैं पनि मनोविज्ञानबाट चल्छ । आधारभूत विश्लेषणको एउटा आधार भनेको इभिसिएन्ट मार्केट हाइपोथेसिस अर्थात् प्रभावकारी बजारको परिकल्पनाबाट हेरिन्छ ।

बजारलाई व्यावहारिकरुपमा हेर्ने हो भने त्यो परिकल्पना लागू नै हुँदैन । यो परिकल्पना लागू हुन्थ्यो भने बजारमा सेयरको मूल्य जहिले पनि सही ढंगले निर्धारण हुने थियो ।

तर, बजारमा कहिले मूल्य अधिमूल्यांकन भइरहेको हुन्छ भने कहिले अवमूल्यन । यसको कारण भनेकै लगानीकर्ताको मनोविज्ञान हो । म आफैं पनि सीएफए -चार्टर्ड फाइनान्सियल एनालिस्ट) हुँ, मैले धेरै हेर्ने आधारभूत विश्लेषण हो । यद्यपि, मेरो धेरै विश्वास प्राविधिक विश्लेषणमा छ ।

बजार १४ सय हाराहारीमा छ, त्यसो भए अब लगानीकर्ताले अहिले सेयर किनेर १५५० तिर पुग्दा बेचे हुन्छ ?

अहिले बजारमा उच्च नकारात्मकता देखिएको छ । हरेक लगानीकर्तामा डर छ कि बजार कतै घट्ने त होइन । बजारले टेवा पाउन सक्ने स्थानमा टेवा पायो भने पायो, पाएन अर्को कुनै विन्दुमा टेवा हुन्छ ।

अहिले १४ सयमा टेवा परीक्षण गरिरहेको छ । बजारले यहाँ टेवा लियो भने अहिलेलाई सेयर बिक्री नगर्नूस् । तर, १४ सयभन्दा केही -१०/१५ अंकले) तल लागेमा केही सेयर बिक्री गर्नूस् र नगद साथमा लिएर बस्नु नै ठीक हुन्छ ।

नियमित कारोबार नगर्ने लगानीकर्ताहरुको जिज्ञासा छ, १४ सयको यो विन्दुमा प्रवेश गर्न हुन्छ ?

नेप्सेको इतिहास हेर्ने हो भने न्यून विन्दुबाट उकालो लाग्दा नेप्से हरेक पटक त्यसको ६ गुणासम्म बढेको देखिएको छ । आगामी एक वर्षम्ा नेप्से एक हजारसम्मको विन्दुमा आउने देखिए पनि अबको पाँच वर्षमा ६ हजार विन्दुसम्म पुग्ने सम्भावना देख्छु । तपाईंसँग लगानी गरेपछि होल्ड अवधि कति छ, यसलाई ध्यान दिनुस् ।

अल्पकालीन लगानी गर्ने हो भने आफूसँग भएको ४० देखि ५० प्रतिशत रकम अहिले लगाउनूस् र १५५० वा १५८० आएपछि निकाल्नूस् ।

दीर्घकालीन लगानी गर्ने हो भने बजारले एक हजारको न्युनतम विन्दु समात्दा पुनः लगानी गर्नूस् । नेपालको सेयर बजार वृद्धिको क्रममै छ, भविष्य सुनौलो छ ।

अल्पकालीन लगानी गर्नेले केही पुँजी सेफ साइडमा राख्दै केही लगानी गर्न सक्छ । अहिले अवसर मिल्दा बेच्दै केही केही मुनाफा सुरक्षित गर्दै जानुपर्छ ।

नेपाली बजारमा नेप्से घट्दा धेरै कम्पनीको मूल्य पनि घट्ने गरेको छ । र, बढ्दा बढ्ने रहेछ । अहिले बजार घट्दा पनि सेयर किन्न सकिने कुनै कम्पनी छैन ?

म धेरैजसो भारतीय बजारमा केन्दि्रत छु । र, नेपालका सबै कम्पनीलाई सूक्ष्म रुपमा हेरेको छैन । परिसूचकगत आधारमा हेर्दा अहिले दुईवटा क्षेत्र बढी सुरक्षित देखिएका छन् ।

एउटा होटेल समूह र अर्को उत्पादनमुलक । बीमा र लघुवित्त क्षेत्र सबैभन्दा धेरै जोखिम भएका सूचक हुन् । सुरक्षित देखिएको क्षेत्रमा पनि यदाकदा संस्थागत सुशासनका कुरा उठ्ने गरेका छन् । तर, त्यसमा सुधार गरेका कम्पनी छन् भने लगानी गर्न सकिने अवस्था छ ।

सुरक्षित मानिएका क्षेत्रका कम्पनीको संख्या निकै कम छ, त्यसमा फेरि चाप पर्ने त होइन ?

नेपाली सेयर बजारमा धेरै क्षेत्र आइसकेका छैनन् । त्यसैले लगानीकर्ताहरुसँग पर्याप्त विकल्प छैन । तर पनि, कतिपयले सम्पूर्ण लगानी बैंक वा बीमामा मात्रै लगाएको देखिन्छ । केही लगानी यी क्षेत्रमा सार्न सकिन्छ । यी क्षेत्रका कम्पनीहरु हेर्दा पनि बजार पुँजीकरण धेरै भएका कम्पनी छान्न सकिन्छ । १० वा १५ प्रतिशत सेयर यी दुई क्षेत्रमा लगाउन सकिन्छ ।

अर्को क्षेत्र भनेको दूरसञ्चार हो । यो समूहमा नेपाल टेलिकम मात्र सूचीकृत छ । यो कम्पनीको विगतको लाभांश प्रवृत्ती हेर्दा रामै्र प्रतिफल दिइरहेको छ । उसको बाध्यता पनि हो ।

सरकारको लगानी रहेकाले टेलिकमले सरकारलाई लाभांश दिनुपर्छ । र, लगानीकर्ताले पनि लाभांश पाउने अवस्था बनेको छ । अरु कम्पनीले लाभांश नदिएर सञ्चितीमा पनि राख्न सक्छन् तर यसले दिन्छ ।

बैंकहरुमा पनि लगानी गर्न सकिन्छ । जसको बजार पुँजीकरण धेरै छ, उनीहरुकामा लगानी गर्दा बजार घटेको अवस्थामा पनि कम क्षति हुने गर्छ । बजार घटिरहेको समयमा अल्पकालीन उछाल हुँदा सबैभन्दा पहिले मूल्य बढ्ने कम्पनी भनेको धेरै बजार पुँजीकरण भएकाहरु हुन् ।

धेरै बजार पुँजीकरण भएकाहरुको मूल्यमा परिवर्तन नआउँदासम्म बजारमा परिवर्तन हुन सक्दैन । यस्ता कम्पनीमा धेरै उतारचढाव नहुने भएकाले धेरै प्रतिफल पनि हात नलाग्न सक्छ । तर, जोखिम पनि कम हुन्छ ।

यसबाहेक जुन कम्पनी वृद्धिको चरणमा छ, त्यसमा पनि प्रतिफलको राम्रो सम्भावना हुन्छ । बैंक छान्दा तिनको खराब कर्जाको अवस्था कस्तो छ, खुद व्याज आम्दानीको अवस्था कस्तो छ भनेर पनि हेर्नुपर्छ ।

नेपाली सेयर बजारमा ‘बोनस वा राइट सेयर फोबिया’बाट लगानीकर्ता निर्देशित भए भन्ने पनि सुनिन्छ, यो प्रवृत्ति पछ्याउने त अहिले बजारमा घोर निराशावादी भएका छन् नि ?

नेपालमा यही प्रवृत्ति हाबी भएको मैले पाएको छु । यहाँ ठूला भनिएका लगानीकर्ताहरुको विश्लेषण पनि कसले कति दिन्छ भन्नेमै आधारित हुन्छ । बोनस सेयर कम्पनीले जारी गर्दा त्यसले कम्पनीको प्रतिसेयर आम्दानीमा वृद्धि गर्दैन । बरु, यसलाई क्षय गर्छ ।

त्यसैले लगानीकर्ताको मुख्य जोड नगद लाभांशमा हुनुपर्छ, जुन नेपाली लगानीकर्ताहरुमा देखिँदैन ।

लगानीकर्ताहरुको बुझाइमा अर्को समस्या पनि छ । मानौं कुनै कम्पनीले शतप्रतिशत बोनस सेयर दिँदैछ र कम्पनीको मूल्य एक हजार छ । नेपाली लगानीकर्ताहरुको बुझाइ हुने गर्छ, त्यो दुवै सेयरको मूल्य एक हजार नै हो ।

वास्तवमा, त्यो प्रतिकित्ता सेयरको मूल्य पाँच सय बराबर भएको हुन्छ । पछि मूल्य बढेर एक हजार पुगिहाल्छ वा मूल्य घटे पनि पाँच सयसम्म आइपुगेन भने पनि भइहाल्यो भन्ने सोच पनि हाबी छ ।

यसबाट जोखिम पनि त हुन्छ भन्ने लगानीकर्ताहरु बिर्सिन्छन् । कम्पनीहरुको सेयरको वास्तविक मूल्यांकन गर्ने भनेको नै बोनस, हकप्रद र ठूलो परिमाणमा कसैले नगद लाभांश दिन्छ भने त्यसको समायोजन गरेर मूल्य निकाल्नु पर्छ ।

अहिले आधारभूत पक्षका रुपमा विकास भइरहेको बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव लगायतलाई कति महत्व दिने ?

यसमा ध्यान दिनैपर्छ, यसैले नै हो अहिले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारिरहेको । मेरो विचारमा यसमा नियामक निकायहरुले पनि केही दह्रो कदम चाल्नु पर्छ ।

नेपालमा २८ को हाराहारीमा वाणिज्य बैंक छन्, थप संख्यामा विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरु छन् । यो संख्या धेरै हो । बैंकहरुको संख्या धेरै छ तर पहुँच विस्तार हुन सकेको छैन ।

जहाँ पुगेका छन्, त्यहीं झुम्मिएका छन् । यो अर्थतन्त्रका लागि पनि जोखिम हो । वित्तीय संस्था पैसाले भन्दा पनि विश्वासमा चल्ने हो । कुनै एउटामा समस्या आयो भने त्यसको श्रृंखलावद्ध प्रभाव देखिन्छ ।

अर्थात्, अन्यमा पनि समस्या हुन थाल्छ । अहिले तरलता अभावको समस्या पनि एउटा वा दुईटाको कारण सबैमा पर्न थालेको देखिएकै छ ।

अहिले नेपाल संघीय संरचनामा गइरहँदा अर्को जोखिम देखिएको छ । सरकारले वैदेशिक अनुदान ताकेको छ । त्यसको व्यवस्थापनमा सरकार कत्तिको सफल हुन्छ भन्ने कुराले नै मूल्यवृद्धिको स्तर र व्याजदर कति बढ्ने भन्ने तय हुन्छ । एक वर्षसम्मको धेरै जोखिम देखिने सम्भावना छ ।

Share.

Leave A Reply