नेपालका अमिताभ बच्चनसँग काम गर्न पाउँदा खुशी भएकी दीपाश्री

0

काठमाडौं, कात्तिक २९ – निर्देशक दीपाश्री निरौलाले सिनेमा ‘शत्रु गते’ मा कलाकार हरिवंशको जोडी भएर भएर काम गर्दैछिन् । जानकारीअनुसार यस सिनेमाका मुख्य अभिनेता र अभिनेत्री नै हरिवंश र दीपाश्री हुनेछन् ।  

सिनेमाकी अभिनेत्री भएर नै दीपाले कलाकारिताको शुरुवात गरेकी थिइन् । बीचमा आएर उनी हाँस्यकलाकारको रुपमा स्थापित भइन् । हाँस्य कलाकारको परिचय बनाइसकेपछि उनी रेकर्ड ब्रेकर निर्देशकको रुपमा चर्चित भईन् । उनले पहिलो पटक निर्देशन गरेको सिनेमा ‘छक्का पञ्जा’ले  मल्टिप्लेक्समा सय दिनमात्रै मनाएन १७ करोड रुपैयाँ कमाउँदै नेपाली सिनेमाको इतिहासमै धेरै कारोबार गर्ने सिनेमा बन्यो । तर सिनेमा निर्देशनको क्रममा दीपाले विभिन्न किसिमका आलोचनाहरु बेहोरिन् । ‘छक्का पञ्जा’भन्दा पनि ‘छक्का पञ्जा २’ रिलिज भएपछि दीपाको खुट्टा तान्नेहरुको ओइरो लाग्यो । यसैबीच उनले सिनेमामा अभिनेत्रीको रुपमा काम गर्दा धेरैले निर्देशनमा गाली खाएर अभिनेत्री बनेको अनुमान पनि लगाउन भ्याएका छन् ।

तर यस बारेमा बोल्दै दीपाले भनेकी छिन्, ‘खासमा म कलाकार हो ।  अरु काम गरे पनि त्यो कलाकारिताको किरो कता–कता छटपटिरहेको हुन्छ । यहिकारण राम्रो ब्यानरको प्रस्ताव आउँदा गर्न मन लाग्यो । फेरि ‘शत्रु गते’को ब्यानरको त कुरै छोडौँ ।  हरि दाइ र मदन दाइको पथमा हिँड्न चाहने मान्छे हामी । पहिलो पटक मदन दाइ र हरि दाइको टेलिसियल ‘१५ गते’मा ‘सय थरि बाजा एउटै ताल’मा कोरस नाचेको थिएँ । त्यहि मान्छे आज हरि दाइसँगै जोडी बनेर काम गर्न पाउँदा म जस्तो खुशी पनि कोही छैन । अनि म जस्तो भाग्यमानी पनि कोही छैन होला । खासमा एउटा कलाकारको किरो छटपटिएर ‘शत्रु गते’मा आइपुगेको छ । निर्देशनको कुरा गर्नुपर्दा मैले वर्षमा एउटा सिनेमा मात्रै निर्देशन गर्ने हो । राम्रो ब्यानरबाट प्रस्ताव आउँदा गर्नुपर्छ भन्ने मनमा आयो अनि अभिनयमा आएँ ।’

तर अब पूर्ण रुपमा नायिकाकै रुपमा सिनेमामा फर्किने कुरामा भने दीपाको तर्क यस्तो आयो ‘अहिलेका सिनेमाको कथामा नायक र नायिका हुन्छ । त्यस कारण कथाको नायिका भएर काम गरेँ भने त राम्रो भइहाल्यो । तर पाखापखेरामा नाच्ने खालको हिरोइन भने म अवश्य पनि हुन सक्दिन । त्यो त मैले करिअरको शुरुवातमा गरिहालेँ ।  तर सिनेमाको मुख्यपात्रको रुपमा प्रस्ताव आयो भने गर्छु । अहिले चाहि सिनेमाको हिरो हिरोइन भईसकेपछि नाच्नै पर्ने, नुहाउनै पर्ने भन्ने छैन । त्यस कारण त्यो किसिमको हिरोईन चाहि म हुन सक्छु ।’

‘छक्का पञ्जा २’ बाट खेप्नु परेको आलोचनाबारे कुरा गर्दै दीपाश्रीले भनिन्, ‘हिँड्ने मान्छेलाई त लाग्ने हो ठेस ।  तर बन्दकोठाभित्र बसेको मान्छेलाई पनि आलोचना गर्छु भनेर कसैले साेंच बनायो भने आलोचना गरेरै छोड्छ । सिनेमाको निर्देशनका क्रममा केही कमजोरीहरु भए होलान् म स्वीकार्छु पनि । ‘छक्का पञ्जा’कै कुरा गर्नेहो भने पनि हलमा एकदमै राम्रो भनिदिनु भयो । तर युट्युबमा आएपछि भने सबैले आलोचना गर्नु भयो ।  अब त्यसलाई कसरी मूल्याकंन गर्ने । त्यो आफ्नै पाटो छ । ‘छक्का पञ्जा २’ राम्रो भइरहेको छ ।  बालकदेखि बृद्धहरु आएर स्याबासी दिनुभएको छ । फस्ट हाफमा भने हामीले सरलीकरणमा ध्यान दिएका रहेछौँ । तर  सेकेण्ड हाफमा भने पात्रहरुको आगमन धेरै भएका कारण सरलीकरण नभएको दोष मलाई लागेको भए म सहजै स्वीकार गर्छु । मलाई पनि पात्र धेरै भएर मैले बुझाउन नसकेको हो की ! भन्ने लाग्यो ।

त्यस कारण निर्देशनमा गाली खाएर म हिरोईन बन्न आएको हैन । कलाकारिता नै यस्तो पाटो हो जतिबेला पनि गाली खान सकिन्छ । त्यस कारण गाली मै मज्जा छ ।  यो क्षेत्रमा लागिसकेपछि कसैले पनि शतप्रतिशत राम्रो भन्दैन । तर ढुकेरै दीपकदीपालाई गाली गर्छु भनेर बसेका पनि केही देखियो यसपाली । तर हामीलाई यसमै छ मज्जा ।’

हरिवंशसँग काम गर्दा

दीपकराज गिरीसँग ‘तितो सत्य’मा जोडी भएर काम गरेकी दीपा यतिबेला सिनेमा ‘शत्रु गते’मा हरिवंशको जोडी भएर काम गर्दैछिन् । दीपक र हरिवंशमध्ये कोसँग कामगर्दा सहज ? भन्ने प्रश्नमा यी दुईको त तुलना नै छैन भन्दै उनले भनिन्, ‘हरिदाइसँग पनि मजा आईराको छ । दीपकसँग त मैले तँ तँ र म म भनेर काम गर्दै आएको ।  अनि हरि दाइसँग पनि सहज होस् भन्ने प्रयास गरिरहेको हुन्छु । तर हामी क्यामेराको अगाडि आयौँ भने चरित्रमा घुसीहाल्छौँ ।

नेपालको बरिष्ठ कलाकार हरि दाइसँग जोडी भएर काम गर्न पाईराको छु । जन्म दिएकोमा भगवानलाई धन्यवाददिन चाहन्छु । हरि दाइ र मदन दाइ भनेको त नेपालको अमिताभ बच्चन हो । जसरी बलिवुडमा अमिताभ बच्चनसँग काम गर्न मान्छेहरु लालायित हुन्छन् नी त्यसरी नै नेपालमा पनि हरि दाइ र मदन दाइसँग काम गर्न धेरैलाई मन लाग्छ । तर त्यो मौका भाग्यमानीले मात्रै पाउँछ । त्यो भाग्यमानीमा म परेको छु ।’

Share.

Leave A Reply