नेताका गलामा कोरोना भगाउने कार्ड !

0

बियोन्ड द वाल ट्रेडिङ कम्पनीबाट किनेर नेताहरूले केही दिनयता ‘भाइरस रिमुभिङ कार्ड’ लगाइरहेका छन् जब कि कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको चिकित्सकहरू बताउँछन् ।कोरोनासम्बन्धी जुनसुकै प्रविधि वा औषधि प्रयोगमा लैजानुअघि स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्नेमा बियोन्ड द वाल ट्रेडिङ कम्पनीले आफूखुसी ‘भाइरस रिमुभिङ कार्ड’ बेचिरहेको छ ।

पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइरस रिमुभिङ कार्ड ।’

पार्टीले यो कार्ड ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ बाट बुधबार खरिद गरेको हो । ‘केटाकेटी हुँदा धामीले जन्तर लगाइदिन्थे । बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो । डाक्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे । घाममा नदेखाउनू भन्ने नियम रहेछ । अरूले लगाएको देखेपछि मैले मागेँ । यसले भाइरस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि †’

चिकित्सकहरु भने कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन् । ‘कोरोना भाइरस नसर्ने र सरे पनि निको हुने कुनै पनि डिभाइस बनेको छैन । कुनै पनि किट वा कार्डलाई भाइरस मार्न योग्य हुने भनेर आधिकारिक निकायले मान्यता दिएका छैनन्,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कान्तिपुरसँग भने, ‘कुनै पनि वस्तु औषधि वा प्रतिरोधात्मक हो वा होइन भन्नलाई त आधिकारिक संस्थाले प्रमाणित गरेको हुनुपर्छ । प्रमाणित नभएको किट लगाउँदा सर्वसाधारणमा भ्रम पैदा हुन सक्छ । किट लगाएरै कोरोना सर्दैन भने त ढुक्कसँग लगाए भइहाल्यो नि । मास्क लगाउनु पनि पर्दैन । दूरी कायम गर्नु पनि पर्दैन ।’

स्वास्थ्यका लागि हानिकारक’

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) द्वारा मान्यता दिइएको दाबी गरिएको ‘भाइरस ब्लकर डिस्इन्फेक्सन कार्ड’ एफडीएमा दर्ता नै नभएको देखिएको छ । एफडीएलगायत विश्वका धेरै औषधि नियामक निकायहरुले यस्ता सामग्रीको प्रयोग नगर्न नै सुझाव दिएको पनि पाइएको छ ।

यस्तो कार्डमा क्लोरिन डाइअक्साइड, ग्यास सस्टेन रिलिज एजेन्ट, जियोलाइट र बाँसको कोइलाजस्ता पदार्थ राखिएका हुन्छन् । कार्ड निर्माताले ३० देखि ६० दिनसम्म ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा (लो कन्सन्ट्रेसन) क्लोरिन डाइअक्साइड हावामा उत्सर्जन गर्दै वरपर भएका ब्याक्टेरिया, धूवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् ।

भाइरोलोजिस्ट तथा रोग प्रतिरोधात्मक क्षमताकी विशेषज्ञ डा. एरियन डेभिजनका अनुसार यस प्रकारको कुनै पनि सामग्रीले कोरोना भाइरसबाट मानिसलाई जोगाउन सक्दैन । उनले हङकङ फ्री प्रेसलाई दिएको प्रतिक्रियाअनुसार यो सम्पूर्ण रूपमा ठगी धन्दा हो । ‘क्लोरिन डाइअक्साइड विशेष गरेर भुइँ पुछ्न प्रयोग गरिने डिस्इन्फेक्टेन्ट हो । यसलाई घाँटीमा झुन्ड्याएर कुनै पनि हालतमा भाइरसबाट सुरक्षित भइँदैन,’ उनले भनेकी छन्, ‘यो गलत हो ।’

एसियामा भियतनाम र थाइल्यान्डले यस्ता सामग्रीको बिक्रीवितरणमा प्रतिबन्ध नै लगाएका छन् भने केही देशमा बिक्रीवितरण भइरहेको छ ।

अमेरिकी संस्था एफडीएका अनुसार क्लोरिन डाइअक्साइडयुक्त सामग्रीको असुरक्षित प्रयोगले मानिसको ज्यानैसम्म जाने खतरा रहन्छ । सो रसायनका कारण श्वासप्रश्वासमा गम्भीर समस्या आउनुका साथै मुटुको चालमा गडबडी, रक्तचापमा कमी, डिहाइड्रेसन (शरीरमा पानीको कमी), रगतमा क्षय, गम्भीर प्रकारको झाडाबान्तासमेत हुन सक्छ ।

Share.

Leave A Reply