नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

0

काठमाडौं, मंसिर ५ – नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेशन लोकप्रिय बन्दै गइरहेको छ ।

‘खल्ती’ नामको यस एप्लिकेशनमा इन्टरनेट तथा बिजुलीको बिल भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको टिकट, रोजेको चलचित्रको टिकट, फोन, मोवाइल, डिसटीभी रिचार्जलगायत सुविधा छन् । यसरी ‘खल्ती’ले पैसा बोकेर हिँड्नुपर्ने झन्झटबाट छुट्कारा दिने भएको छ ।

जानकी टेकनोलोजी प्रालीले सार्वजनिक गरेको ‘खल्ती’ प्रभावकारी हुँदै गइरहेको कम्पनीका कार्यकारी निर्देशक मनिष मोदीले जानकारी दिनुभयो । मोबाइल नम्बरका आधारमा दर्ता गरी ‘खल्ती’को सदस्यता लिन सकिने तथा ई बैंकिङको सेवा लिइरहेका र नलिएकाले पनि मोबाइलको खल्ती वालेटमार्फत कारोबार गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

ुभारतसहित विश्वका विकसित देशहरुमा समेत डिजिटल वालेटको प्रयोग बढ्दै गएको छ । नेपालमा पनि यसको प्रयोग बढ्ने हाम्रो अपेक्षा छ’ मोदीले भन्नुभयो । मोबाइल वालेटका रूपमा सुरु गरिएको खल्ती डटकम वेब र एप दुवै भर्सनमा उपलब्ध छ । ११ महिनाअघि सुरु भएको खल्ती डटकमका अहिले ५० हजार प्रयोगकर्ता पुगेको निर्देशक मोदीले बताउनुभयो । खल्तीमार्फत कारोबार गर्न अहिले ५ बैंकसँग सहकार्य भएको र अरु बैंकहरूसँग सहकार्य बढाइने भएको छ ।

डिजिटल वालेटको प्रयोग सहज र सुरक्षित रहेको कम्पनीको दाबी छ । पेमेन्ट गेट–वेको सहजताले बैंकिङ प्रणालीसँग जोडिन तथा सरकारले महत्व दिएको नगदरहित कारोबारलाई पनि सहयोग पुग्ने निर्देशक मोदीको धारणा छ ।

गुगलले समेत यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गराउने गरेको छ ।

डिजिटल वालेट खल्तीको कारोबारलाई बैधानिक बनाउन नेपाल राष्ट्रबैंकसँग स्वीकृतीका लागि प्रक्रिया चलिरहेको र आशयपत्र पाइसकेको निर्देशक मोदीले बताउनुभयो ।

Share.

Leave A Reply