नक्कली भिसाले विदेश हिँडेकी माया विमानस्थलमै थुनिइन्

0

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, मंसिर १९ – २०७२ कत्तिकमा मेडिकल गर्न घरबाट काठमाडौं आएकी नवलपरासीकी माया (नाम परिवर्तन) चार दिनमा कुवेत पुगिन् । कुवेतको विमानस्थलमा त पुगिन तर बाहिर निस्कनै पाइनन् ।

उनीसँग पासपोर्ट थियो, भिसा पनि लागेको थियो । तर विमानस्थलका कर्मचारीले बाहिर निस्कन दिएनन् । कुवेत कस्तो थियो उनले देख्न पाइनन् । तर उनले कल्पनै नगरेको दुःख भोग्नुपर्‍याे ।

चिनजानकै दलालले कुवेतको राम्रो माग आएको छ भनेर मायालाई काठमाडौं बोलाएकी थिइन् । माया पनि काम र कमाइ राम्रो हुन्छ भन्ने सुनेपछि विदेश जान हैन एजेण्टले भनेको ‘डिमाण्ड’ कस्तो रैछ भनेर बुझ्न अनि राम्रो रहेछ भने मेडिकल पनि गर्ने सोचेर काठमाडौं आइन् ।

अघिल्लो दिन नवलपरासीबाट काठमाडौं आएकी माया भोलीपल्टै विदेश जानका लागि नेपालगञ्गको गाडी चढिन् । दिल्ली, श्रीलङ्का हुँदै कुवेतको विमानस्थल त पुगिन तर बाहिर निस्किनै पाइनन् ।

मायासहित पाँच जना नेपाली महिला श्रीलङ्का हुँदै कुवेत पुगेका थिए । सँगै गएका चार जना चेकिङमा पास भए । तर माया पास भइनन् । निकैबेर अल्मल्याए त्यहाँका अध्यागमनका कर्मचारीले ।

मायालाई सबै साथी बाहिर पुग्दा पनि आफ्नो पासपोर्ट कर्मचारीले रोकेपछि निकै डर लाग्यो । जाँचमा उनको पासपोर्ट पास भएन । ‘पासपोर्टमा नक्कली भिसा छ भन्यो, मैले त केही सोच्नै सकिन । कति आत्तिएँ कति,’ माया सुनाउँछिन् ।

भिसा नक्कली छ भनेपछि मायालाई कुवेतको विमानस्थलका कर्मचारीले त्यहीँ राखे । ‘म मात्रै थिएँ, कस्तो ठाउँमा लगेर राखे । अँध्यारो कोठा, रातदिन थाहा पाइनँ,’ माया रुँदै विमानस्थलमा भोगेका दुःख सुनाउँछिन् ।

त्यो कोठामा बसुञ्जेल उनले घाम देख्न पाइनन् । त्यसैले त्यहाँ कति दिन राखे भन्ने पनि उनले मेसो पाइनन् । विमानस्थलमा बसुञ्जेल मायाले आफ्नो ब्याग पनि पाइनन् । भन्छिन्, ‘पानी पनि खान पाइन ।’

भिसा नै नक्कली रहेको भन्दै विमानस्थलकै कर्मचारीले उनलाई नेपाल फर्काइदिए ।  कुवेतबाट कतार ट्रान्जिट भएर नेपाल आइपुगिन । नेपालमा कतार एअरलाइन्सको विमानबाट ओर्लिंदा रातीको १२ बजेको थियो । राती कता जाने होला भन्ने चिन्ता लागेको थियो मायालाई । फेरि सोच्नुभयो, ‘आफ्नै देश हो, जहाँ भएपनि जान्छु ।’

माया ७ दिनमै काठमाडौं आइपुगिन् । कमाउन गएकी मायालाई फर्कनुपर्दा कताकता दुःख लागेको थियो । दलालको पञ्जाबाट बाँचेर फर्किए भनेर उनको मन खुसी थियो ।

नेपालको विमानस्थलमा पनि उनको पासपोर्ट चेक भयो । कुवेतमा झैं नेपालको विमानस्थलमा पनि उनलाई कर्मचारीले सोधपुछ गर्न अध्यागमन कार्यालय पुर्याए । मायालाई अध्यागमन भनेको के हो भन्ने पनि थाहा थिएन् ।

उनलाई अवैधानिक रुपमा जाँदा कारवाही हुन्छ, भारतको बाटो हुँदै विदेश जानु गलत हो भन्ने पनि थाहा थिएन । त्यसैले भन्छिन्, अध्यागमन त प्रहरी चौकी बराबर रैछ ।’ उनले यो कुरा अध्यागममै बसिरहेका आफू जस्तै पीडित नेपाली महिलाबाट थाहा पाइन् ।

अध्यागमनले राखेको ठाउँमा माया जस्तै अरु दुई जना नेपाली र एक जना पाकिस्तानी महिला पनि थिए । तिनै मध्येकी एक महिलाले अध्यागमनको बारेमा बताएकी थिइन् ।

मायाले दलालले जसोभने उसै गरिन् । के वैधानीक के अवैधानीक उनी जान्दिनन् । तर अध्यागमनले राखेको ठाउँमा भेटिएका महिलाले सुनाएको कुराले चाहिँ माया निक्कै आत्तिइन् । ‘यहाँबाट जाँदा त पैसा तिरेर जानुपर्छ बहिनी भनेपछि म त झनै आत्तिए्ँ,’ माया सुनाउँछिन्, ‘नत्र त जेल बस्नुपर्छ भने,’ उनीहरुले सुनाएका कुराले मायाका हातगोडा गले ।

अध्यागममा रहेका महिलाका कुरा सुनेरै आत्तिएकी मायालाई विमानस्थलका कर्मचारीले पनि त्यही कुरा भनेपछि अक्क न बक्क भइन । ‘तपाईं यहाँबाट जान पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्छ भने, कहाँबाट ल्याउनु पैसा भन्दा पैसा नदिए अदालत लैजान्छौं भने,’ मायाले आफूसँग पैसा छैन् भन्दै छुटाइदिन आग्रह गरिन् । तर त्यो सम्भव थिएन ।

कानुन विपरित अवैधानिक बाटो हुँदै विदेश गएर माया जसरी फर्कंदा अध्यागमनले सोधपुछ गर्छ, आफूले गरेको कसुर अनुसार सजाय पाइन्छ भन्ने मायालाई थाहै थिएन । त्यसैले अध्यागमनका कर्मचारीका कुरा सुनेपछि माया झनै डराइन् ।

उनी बेखर्ची भएर फर्किएकी थिइन् । कमाउने सपना बोकेर साना छोराछोरी छाडेर परदेशिएकी मायासँग एक पैसा पनि थिएन् । कसरी पैसा तिर्ने र बाहिर निस्कने भनेर अत्ताल्लिएकी मायालाई विमानस्थलकै प्रहरीले सुझाव दिए । ‘तिमीसँगै बस्ने त्यो काली मोटी केटीसँग पैसा छ मागेर देउ, अनि तिमी घर पुगेपछि उसलाई दिनु नि ।’

मायालाई अध्यागमनमै बसिरहेकी महिलाले पैसा दिइन् । पाँच हजार रुपैयाँ दिएपछि मायालाई अध्यागमनका कर्मचारीले छोडिदिए । मायालाई भारतको हुँदै विदेश गएर गलत गरेंछु भन्दा पनि आफ्नौ देशका कर्मचारीले पीडा माथि पीडा दिए जस्तो लाग्यो ।

माया विमानस्थलबाट निस्केर काठमाडौंको कलंकीसम्म त पुगिन । तर काठमाडौंबाट नवलपरासी पुग्न चाहिने भाडा पनि थिएन । ‘एक रुपैयाँ पनि बाँकी थिएन । म त कलंकीमा बसेर रोइरहको थिएँ । सुर्खेतको एकजना भाइले देखेछन । नेपालगञ्जको बसमा घर हिँडेका ती भाइले मलाई मलाई भाडा तिरेर घरसम्म छाडिदिए,’ २०७३ कात्तिकको अन्तिममा माया घर पुगिन् ।

घरबाट काठमाडौं भनेर हिँडेकी माया ९ दिनमा कुवेत पुगेर घर फर्किइन् । उनलार्ई देख्दा घरका सबैजना छक्क परे । मायाका श्रीमानले त माया नै फर्किएर आइन भनेर पत्याएनन् ।

अवैधानिक बाटो हुँदै विदेश जाँदा मायाले दुःख भोग्नुप¥यो । ९ दिनमा घर पुग्दा माया मानसिक रुपमा विक्षिप्त भएर फर्किएकी थिइन्  । माया फर्किएको १ वर्ष भयो । तर त्यतिबेला पाएको दुःख सम्झिएर अहिले पनि रोइरहन्छिन् । भन्छिन्, ‘अहिले त मानिस पनि मानवता हराएका हुँदा रैछन् ।’

मायाजस्ता धेरै महिलाहरु हिजोआज अवैधानिक बाटो हुँदै विभिन्न देशमा पुगेका छन् । मायालाई त अध्यागमने फर्काइदियो । ७ दिन दुःख पाएपनि दलाल र विदेशी साहुको पञ्जाबाट बच्नुभयो । त्यसैले अवैधानिक बाटो हुँदै विदेश जानुअघि एकपटक सोच्ने कि ।

Share.

Leave A Reply