धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : धितोपत्रको राफसाफ दुई दिनभित्र हुने

0

साउन ४, धितोपत्रको दोस्रो बजारमा हुने कारोबारको राफसाफ दुई दिनभित्र हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आइतवार आयोजना गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हाल कायम टि प्लस थ्रीको कारोबार राफसाफ सम्बन्धी व्यवस्थालाई टि प्लस टुमा झार्ने व्यवस्था गरेको हो । 

सो अवसरमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले दोस्रो बजार पूर्ण प्रविधिमैत्री बन्दै गएको अवस्थामा राफसाफ प्रक्रियालाई पनि छोट्याउने व्यवस्था गरिएको बताए ।

बोर्डले समग्र बजार विकास तथा सुधारका लागि दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्सेको कारोबार प्रणालीलाई लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गर्ने, नेप्सेको टिएमएसलाई प्रभावकारी बनाउने, बजारसम्बन्धी आवधिक रणनीतिक योजना तयार गरी लागू गर्ने योजनालाई पनि यस वर्ष प्राथमिकतामा राखेको छ ।

गत वर्षदेखिकै योजनामा रहेको वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीलाई अनुमति दिने योजनालाई पुनः दोर्‍याएको छ । 

यस वर्षको कार्यक्रममा धितोपत्र केन्द्रिय निक्षेप सेवालाई स्तरीय बनाउने , सूचीकृत सरकारी ऋणपत्रको पूर्ण रुपमा अभौतिकीकरण गरी सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाउने योजना पनि बोर्डले ल्याएको छ ।

धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिििनधको व्यवस्था गर्ने कार्यक्रम पनि बोर्डले प्राथमिकतामा राखेको छ । बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिने बाटो सरकारले खुला गरिसकेको अवस्थामा ब्रोकरहरुको आधिकारिक प्रतिनिधिको व्यवस्थाले देशभरबाट ब्रोकरका एजेन्ट मार्फत पनि धितोपत्र बजारमा आवद्ध हुन सकिने भएको छ ।

धितोपत्र दोस्रो बजारलाई सन्तुलनमा राख्नका लागि धितोपत्र व्यापारी (स्टक डिलर ) लाई अनुमति दिने काम पनि यसै आर्थिक वर्षभित्र गरिनेछ । विशिष्टिकृत लगानी कोष संचालन अनुमति दिने, साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने एसएमई प्ल्याटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्ने योजना बोर्डको छ ।

बोर्डले केन्द्रीय तथ्याङक भण्डारण सम्बन्धी सफ्टवेयर विकास गरी तथ्याङ्कहरुको नियमति प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गर्ने र बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथा विकास गर्ने जस्ता कार्यक्रमलाई पनि यो वर्ष प्राथमिकतामा राखेको छ ।
 

Share.

Leave A Reply