धनुषामा घरेलु हिंसामा कमी

0

रेडियो जनकपुर, ०९ साउन । धनुषामा घरेलु हिंसामा कमी आएको छ । आर्थिक वर्ष २०७६\७७ मा पछिल्लो वर्ष भन्दा घरेलु हिंसामा केही कमी आएको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी नायव निरीक्षक (एसआई) दिपिका ओझाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६\७७ मा घरेलु हिंसा अन्तर्गत ५ सय ६५ वटा उजुरी परेको छ भने आर्थिक वर्ष २०७५\०७६ मा ६ सय १४ वटा उजुरी परेको थियो । गत आर्थिक वर्षमा परेको उजुरी मध्ये ३ सय ७९ वटा उजुरीमा मिलापत्र भएको, ७ वटा उजुरी अदालतसम्म गएको र १ सय ७९ वटा उजुरी अहिले बाँकी रहेको प्रमुख ओझाले बताउनुभयो ।

धनुषामा घरेलु हिंसा अन्तर्गत सबैभन्दा बढी कुटपिटको घटना भएको छ । १२ महिनामा कुल २ सय २३ वटा कुटपिटको घटनाको उजुरी परेकोमा १ सय ३४ वटा घटनामा मिलापत्र भएको छ भने ५ वटा उजुरी कर्ताले मिलापत्र नगरेपछि अदालत पुगेका छन् । ८४ वटा उजुरीको निर्णयहुनु बाँकी रहेको जिल्ला प्रहरीको महिला शाखाले जनाएको छ । आर्थिक वर्ष २०७५\०७६ मा २ सय ६१ वटा उजुरी परेको थियो भने आर्थिक वर्ष २०७४\०७५ मा कुटपिट सम्बन्धि २ सय २ वटा उजुरी परेको थियो ।

गाली गलौज सम्बन्धित गत आर्थिक वर्षमा १७४ वटा उजुरी परेकोमा १ सय ४६ वटा उजुरीमा मिलापत्र भएको छ भने २८ वटा उजुरीको निर्णय हुन बाँकी रहेको छ । त्यस्तै धाकधमकी सम्बन्धि ५७ वटा उजुरी परेकोमा ३५ वटा उजुरीमा मिलापत्र भएको र २२ वटाको हुन बाँकी रहेको छ । खाना लाउन नदिएको घटनामा ५१, घर निकालाको घटनामा १८, नागरिकता विवाह दर्ता सम्बन्धि घटनामा १८ वटा उजुरी परेको छ ।

गत आर्थिक वर्षमा २४ जना पुरुष समेत पिडित भएका छन् । गत वर्ष २४ वटा उजुरी परेकोमा १५ वटा उजुरीमा मिलापत्र भएको र ९ वटाको निर्णय हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५\०७६ मा पुरुष पिडित सम्बन्धित ३७ वटा उजुरी परेको थियो ।

तराई मधेशमा दाईजो ठुलो समस्या भएपनि धनुषामा गत आर्थिक वर्षमा एउटा पनि उजुरी परेको छैन् । महिला सेलकी प्रमुख ओझाकी अनुसार दहेजको निहुँमा घर निकाला गर्ने, खाना लाउन नदिने, गाली गलौज गर्ने, कुटपिट गर्ने लगायतको घटना हुने गरेकोले यसै अन्तर्गतको घटनामा उजुरी परेकोले दाईजो शिर्षकमा उजुरी नपरेको बताउनुभयो ।

गत आर्थिक वर्षमा सामाजिक हिंसा अन्तर्गत समेत ४ सय ४४ वटा उजुरी परेको छ । आर्थि कवर्ष २०७५÷०७६ मा ५ सय ८० वटा सामाजिक हिंसा सम्बन्धित उजुरी परेको थियो । गत आर्थिक वर्षमा सामाजिक हिंसा अन्तर्गत कुटपिटमा २ सय ८, गालिगलौज बैज्यतीमा ८५, धाकधमकीमा ६६, शान्ति सुरक्षा सम्बन्धि ३५, बालविवाह सम्बन्धित २५, अपशब्द तथा दुव्र्यवहार सम्बन्धि २३ र बोक्सिको आरोप धाकधमकी सम्बन्धित २ वटा उजुरी परको जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गतको महिला सेलले जनाएको छ ।

Share.

Leave A Reply