धनुषामा उजुरी गर्न गएका युवक प्रहरीबाटै कुटिएको आरोप, युवक अस्पताल भर्ना

0

जनकपुरधाम ,असार १० गते ।
धनुषा फुलगामाका एक युवकले उजुरी दिन गएको बेला ईलाका प्रहरी कार्यालयका ईन्चार्जले उल्टै कुटपीट गरेको आरोप लगाएका छन् । शुक्रबार राति धनुषाको नगराईन नगरपालिका ४ स्थित रहेको ईलाका प्रहरी कार्यालय फुलगामाका ईन्चार्ज एवं प्रहरी सहायक निरीक्षक धमेन्द्र सिंहले उल्टै कुटपीट गरि घाइते बनाएको फुलगामा ४ बस्ने रजित मुखियाको आरोप छ ।
शुक्रबार राति रजित र उनका कान्छा भाई रञ्जित बिच पाँच सय रुपैँयाको लागि विवाद भएको थियो । त्यसै विवादको उजुरी गर्न आफु ११ बजे राति नजिकै रहेको ईलाका प्रहरीमा पुगेका थिए । चोकीमा पुगेपछि प्रसनि सिंहले आएर राति उजुरी गर्न आएको भन्दै गाली गरेर कराउँदै दायाँ कनचटमा एक झापट हिर्काएको रजितको आरोप छ । झापटले आफु मुर्छित भएपछि लठ्ठीले शरिरको विभिन्न भागमा हिर्काई घाइते बनाएको रजितले दुखेसो पोखेका छन् ।
कुटपिटबाट घाइते भएका रजितलाई त्यहाँका प्रहरीहरुले राति नै घरमा पुर्याएका थिए । त्यसपछि परिवारजन र गाउँलेले उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएका छन् । प्रसनिले कुटपीट गरेर घाइते बनाएको भन्दै स्थानीबासिन्दाले शनिवार विहान केहि बेर ईलाका प्रहरी कार्यालय घेराउ गरी दोषी प्रसनिलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पीडित रजितले विना कारण कुटपीट गरी आफुलाई घाइते बनाउने प्रसनि सिंहलाई कडा कारबाहीको माग गरेका छन् । रजितले दायाँकान चोटको कारण सुनिएको बताएका छन् ।
घटनाको विषयमा धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले मदिरा सेवन गरि रजितले दाईभाईमा झग्डा गरेको र त्यसको विषयमा ईलाकामा जाँदा भोली आउनु भनेर प्रसनि सिंहले फर्काउँदा बाटोमै कतै लडेर घाइते भएको बताएका छन् । उनले प्रसनि कुटपीट गरेको कुरा गलत भएको र घटना विषमया थप अनुसन्धान भइरहेको बताए ।
यता घटनाको विषमया शनिवार नै राष्ट्रिय मानव अधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरले अनुगमन गरेका छन् । आयोगका क्षेत्रीय निर्देशक दिपेन्द्र सिंहले अस्पताल पुगि घाइते रजितको अवस्था र घटनाको विषयमा अनुगमन गरेका हुन् ।

Share.

Leave A Reply