धनकुटामा बार्षिक ४ अर्ब ३५ करोडको तरकारी उत्पादन

0

सिद्धराज राई/उज्यालो ।

धनकुटा मंसिर १२ – व्यवसायिक तरकारी खेती गर्ने लहर बढेसँगै धनकुटामा तरकारी उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि विकास धनकुटाको आर्थिक वर्ष ०७३/७४ को तथ्यांक अनुसार गत आर्थिक बर्षमा जिल्लामा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बन्दाकोभी, मुला, आलु, गोलभेंडा, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन भएको छ ।

धनकुटामा अघिल्लो आर्थिक बर्षको भन्दा करिब २९ करोड रुपैयाँ बढीको तरकारी उत्पादन भएको हो । अघिल्लो आर्थिक वर्ष जिल्लामा ४ अर्ब ६ करोड रुपैँया बराबरको तरकारी उत्पादन भएको थियो । जिल्लामा व्यवसायीक तरकारी खेती गर्ने किसान र क्षेत्र बढेको कार्यालयका प्रमुख भरतप्रसाद बिडारीले बताउनुभयो ।

कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्षमा सबै भन्दा बढी हिउँदे र बर्खे गरी एक अर्ब २९ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको गोलभेडा उत्पादन भएको थियो । जिल्लाको १४ सय ५८ हेक्टर क्षेत्रफलमा गरिएको गोलभेंडा खेतीबाट ५१ हजार ९ सय ७८ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लामा उत्पादन हुने तरकारी छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, बिहारसम्म निकासी हुने गर्छ । नेपालको पूर्वी तराईका बजार बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर हुँदै भरतपुर, काठमाडौंसम्म पुग्ने गरेको कार्यलय प्रमुख बिडारीले जानकारी दिनुभयो ।

पछिल्लो समय तरकारी उत्पादनमा धनकुटा मुलुकमै राजधानीको रुपमा चिनिन थालेको छ । जिल्लाको कुल जनसंख्या मध्ये ७० प्रतिशत जनसंख्या कृषि पेशामा आवद्ध रहेका छन् । ८ हजार ८ सय ७७ वर्ग किलोमिटर क्षेत्रफल रहेको धनकुटामा ४० हजार ८ सय २३ हेक्टर अर्थात् ४५ प्रतिशत जमिन खेती योग्य छ ।

Share.

Leave A Reply