धनकुटाका कांग्रेस नेतालाई पदमै रहेर काम गर्न कांग्रेस प्रवक्ता शर्माको आग्रह

0

धनकुटा, माघ १६ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धनकुटा कांग्रेसका जिल्ला तथा स्थानीय तहका पदाधिकारी र सदस्यलाई पदमै रहेर काम गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि असन्तुष्ट रहँदै पदबाट राजिनामा दिएका नेताहरुसँगको भेटमा प्रवक्ता शर्माले पदमै रहेर धनकुटा र धनकुटेलीको पक्षमा काम गर्न आग्रह गर्नुभएको हो ।

उहाँले अन्याय र अपमानको विरुद्धमा आवाज उठाउँदै नेतृत्वलाई सच्याएर पार्टीलाई क्रियाशिल र सशक्त बनाउनुपर्नेमा राजिनामा दिनु समस्याको समाधान नभएको बताएको कांग्रेस जिल्ला कार्यसमिति धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, निवर्तमान सभापति मनोहनर नारायण श्रेष्ठ, सचिव विजयसन्तोषी राई, लगायत नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरुले प्रवक्ता शर्मा र नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई ज्ञापन पत्र दिँदै राजिनामा दिनुपर्ने कारणबारे जानकारी गराएका थिए ।

Share.

Leave A Reply