दूतावासले उद्धार गर्न नसकेका प्रेमराजलाई साउदीबाट प्रवासीले उद्धार गरे

0

मुकेश चौधरी/कैलाली ।

पुस २३ – कैलालीको गौरीगंगा ३ झिलका प्रेमराज ओझा भारतमा काम गर्नुहुन्थ्यो । तलब भारु ५ हजार रुपैयाँ थियो । पैसा साह्रै कम भएपछि काम छोडेर उहाँले साउदी अरब जाने निर्णय गर्नुभयो ।

प्रेमराजले एक लाख ६० हजार रुपैयाँ ऋण लिएर गाउँकै एजेन्ट साधना साउदलाई एक लाख १० हजार रुपैयाँ बुझाउनुभयो । उहाँ साउदी पुग्नुभयो । प्रेमराज पुगेको ६ महिनामै कम्पनी बन्द भयो । ‘कम्पनी बन्द भएपछि सुडानको मालिक साउदी अरब छोडेर आफ्नै देश फर्किएछ’ प्रेमराजकी श्रीमती पवित्राले भन्नुभयो, ‘मालिकले छोडेर गएपनि  उहाँलाई ४ महिनासम्म काम चाहिँ लगाएछ तर तलब दिएन ।’

तलब नपाएपछि प्रेमराजलाई खान बस्नसमस्या हुन थाल्यो । उहाँ साउदीअरबमै रहेका नेपालीहरुको डेरामा गएर बस्न र खान थाल्नुभयो । ‘घर फर्काई दिन भन्दा काम गर्ने कम्पनी होम्स केयर फर फायर फाईटिङ्ग इक्वीपमेन्टले ७ हजार रियल माग्थ्यो,’ छोराले भनेका कुरा सुनाउँदै प्रेमराजका बुवा किसन ओझाले भन्नुभयो, ‘यसले गर्दा प्रेमले त्यहाँ काम गरेर बस्न सक्ने थिएन, घर फर्किनलाई खर्च पनि थिएन ।’

प्रेमले आफ्नो समस्या श्रीमती पवित्रा र बुवा किसनलाई सुनाउनुभयो । बुवा किसनले छोरा साउदी अरबमा अलपत्र परेको जानकारी सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका रिटर्नी स्वयम्सेवक चन्द्रप्रसाद कँडेलमार्फत धनगढीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पुर्‍याउनुभयो ।

त्यही जानकारी आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा पनि पुगेको थियो । ‘सूचना केन्द्रको दवाव प्रेमलाई साउदी अरब पठाउने दुवई ओभरसिज इन्टरनेशनलले खान बस्नका  लागि दुई सय साउदी रियाल पठायो,’ स्वयम्सेवक कँडेलले भन्नुभयो ‘त्यो पैसाले बल्लतल्त एक महिना खाना खान पुग्थ्यो ।’

प्रेमलाई घर पठाउन प्रक्रिया गर्न नेपाली दुतावासमा पनि खबर पुग्यो । ‘दुतावासका कर्मचारी  प्रेमका बारेमा कुरा गर्न होम्स केयर फर फायर फाईटिङ्ग इक्वीपमेन्टको कार्यालय दुई पटक पुगे । तर कम्पनीको अफिस बन्द छ भनेर फर्किएछन ।’

छोरासँग भएको कुरा सुनाउँदै किसनले भन्नुभयो, ‘दूतावासका कर्मचारीले कम्पनीको म्यानेजरलाई भेटाउनै सकेनन् । हामीले यताबाट पैसा पठाइदिन्छौं । कम्पनीलाई तिरिदिनुस् भन्दा पनि दुतावासका कर्मचारीले मानेन् ।’

केही समयमा साउदी अरबमा होटल व्यवसाय गरेर बसेका चौमालाका सुवेदी थरका व्यक्तिलाई कम्पनीमा गएर पैसा तिरिदिन परिवारका व्यक्तिले आग्रह गरे । सुवेदीले कम्पनीलाई ७ हजार साउदी रियल तिरे ।

त्यसको भोलि पल्टै अर्थात मंसिर २१ गते उहाँ नेपाल फर्किनुभएको छ । उद्धार गर्दा लागेको मध्ये एक लाख १० हजार परिवारले बेहोरेको छ भने बाँकी एजेण्ट र म्यानपावरले दिएका छन् ।

Share.

Leave A Reply