दरबार हाइस्कुलको पुनर्निर्माण गर्न प्राधिकरणको निर्देशन

0

काठमाडौं, पुस २६ –राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दरबार हाइस्कुलका बाह्य स्वरुप परम्परागत ढाँचामा रहने गरी तत्काल पुनर्निर्माण सुरु गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा आज बसेको सरोकारवाला सहितको बैठकले नेपाल र चीनबीच भएको समझादारी अनुसार परम्परागत कार्यान्वयन ढाँचा अनुसार नै दरबार हाइस्कूलको पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले अपाङगतामैत्री हुने गरी कक्षाकोठा, शौचालय, प्रयोगशाला र विपदको समयमा तत्काल उद्धार गर्न सकिने र आवश्यक सुरक्षाका उपायहरु समेत सुनिश्चित गर्ने गरी भूकम्प प्रतिरोधी संरचना तयार गर्ने निर्णय गरेको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिनुभयो ।

दरवार हाइस्कुलको पुनर्निर्माण तत्कालै गर्न शिक्षा मन्त्रालय, शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले आवश्यक प्रक्रियाहरु पूरा गरिदिने र शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चिनीयाँ पक्षसँग समन्वय गरी छिटो निर्माण अघि बढाउने सहमति भएको भूसालले बताउनुभयो ।

यस्तै सम्पदा पुनर्निर्माणको लागि पुरातत्व विभागले नै भाग गरेको साइजमा काठ उपलब्ध गराउन पनि प्राधिकरणले टिम्बर कर्पोरेशन अफ नेपाललाई निर्देशन दिएको छ ।

निजी आवास पुनर्निर्माणमा समेत काठको आपूर्तिमा समस्या रहेको भन्ने गुनासो आएकाले वन तथा भूसंरक्षण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल लाई परिचालन गरेर काठ उपलब्ध गराउन थप सहजीकरण गर्ने पनि निर्णय पनि प्राधिकरणले गरेको छ ।

यस्तै कतिपय स्थानमा ढुङ्गा, गिटी, बालुवालगायत निर्माण सामग्रीको  अभाव भएको भन्ने गुनासो आएको भन्दै प्राधिकरणले विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

Share.

Leave A Reply