त्रिविमा ब्युँतिन थाल्यो महेन्द्रका ज्वाइँका पालाको अन्तर्राष्ट्रिय डेस्क

0

२५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत्को नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)ले तत्कालीन राजा महेन्द्रका ज्वाईं कुमार खड्गबिक्रम शाहको पालाका अन्तर्राष्ट्रिय डेस्कहरु ब्युँताउन थालेको छ ।

कुमार खड्गबिक्रम ०४० सालदेखि ०४५ सालसम्म सिनासको कार्यकारी निर्देशक थिए । र, उनकै पहलमा सिनासमा सार्कका तत्कालीन सात वटै मुलुकका डेस्क स्थापना भएका थिए । १९ जेठ ०५८ को दरबार हत्याकाण्डमा कुमार खड्गबिक्रम पत्नी शारदासहित मारिएका थिए ।

तत्कालीन राजा वीरेन्द्रको सोचअनुसार स्थापना भएको थिंकट्यांक हो, सिनास । र, सीधा दरबारलाई सल्लाहकार दिने भूमिकामा थियो, पञ्चायतकालमा ।

उक्त संस्थाको पहिलो कार्यकारी निर्देशक डा. प्रयागराज शर्मा थिए । त्यसपछि मानवशास्त्री स्वर्गीय डोरबहादुर बिष्ट कार्यकारी निर्देशक बने । त्यसपछि दरबारले सीधै कुमार खड्गबिक्रमलाई उक्त पदमा नियुक्ति दिलायो ।

शर्मा, बिष्ट र कुमार खड्गबिक्रमका पालामा सिनासको हैसियत उच्च थियो । र, स्रोत, साधनबाट युक्त पनि । त्यतिबेला एसियाका गिनेचुनेका थोरै थिंकट्यांकमध्ये एक मानिन्थ्यो, सिनास ।

२०४६ सालको परिवर्तनपछि बनेका कार्यकारी निर्देशकहरुले ती अन्तर्राष्ट्रिय डेस्कहरुलाई ‘राजाका ज्वाईंले गरेको काम’का रुपमा लिए । र, पूरै बेवास्ता गरिदिए । त्यसयता नै हो, सिनास अवकाश पाउन लागेका प्राध्यापकहरुलाई लगेर थन्क्याउने ‘डस्ट बिन’ बनेको पनि ।

२०४६ सालअघि एसियाका ‘टप थ्री’ थिंकट्यांकमा गनिन्थ्यो, यो संस्था । अहिले एसियाका करिब ६ सय थिंकट्यांकको सूचीमा यो ६३औं स्थानमा छ ।

‘सरकारको थिंक ट्यांकका रुपमा सिनासलाई पुनर्जीवन दिन खोजिएको हो,’ कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भन्छन्, ‘विगतमा यसले दरबारलाई सल्लाह दिन्थ्यो भने अहिले सरकारलाई यसको आवश्यकता छ ।’

नीति निर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिक प्रक्रियामा सरकारको सल्लाहकारको भूमिकामा सिनासलाई पुर्‍याउने लक्ष्यका साथ काम थालिएको उनको भनाइ छ । डा. कार्की थप्छन्, ‘सिनासले पनि समाजमा आफ्नो अस्तित्वबोध गराउन नसकेको र राज्यले पनि एउटा तहमा सहयोग गर्न नसकेको अवस्था छ, अहिलेसम्म । तर, अब पुरानो अवस्थाबाट बाहिर निकाल्ने योजनामा लागेका छौं ।’

अहिले नेपाल-भारत, नेपाल-चीन र नेपाल-जापान डेस्क स्थापना भइसकेका छन् । नेपाल-भारत डेस्कमा डा. गोविन्दबहादुर तुम्याहाङ र नेपाल-जापान डेस्कमा पञ्चनारायण महर्जन प्रमुख छन् । नेपाल-चीन डेस्क प्रमुख बनाइएका डिल्लीराज शर्माले भने व्यक्तिगत कारण जनाउँदै राजीनामा दिएका छन्, अर्को नियुक्ति भएको छैन ।

त्रिविअन्तर्गत्को यो संस्थासँग सीधा भूराजनीति जोडिन्छ । कुमार खड्गबिक्रम शाहका पालामा ‘स्ट्राटेजिक सिरिज’ नै प्रकाशित हुन्थ्यो । र, ‘डेमोक्रेसी वाच’का दुई वटा अंक निकालेर जनताले के सोचिरहेका छन् भन्ने धारणा सार्वजनिक गराइएको थियो ।

इतिहासकार धनबज्र बज्राचार्य, हालका एमाले उपाध्यक्ष भीम रावल मात्र होइन, प्राध्यापक डा. देवराज दाहाल, प्राध्यापक श्रीधर खत्री, आनन्द आदित्यलगायत व्यक्तित्व आफ्नो करिअरको एक समयमा सिनाससँग जोडिएका थिए ।

सरकारको सल्लाहकार निकायका रुपमा यसको स्थापना भएको डा. दाहाल बताउँछन् । संयुक्त राष्ट्रसंघबाट अध्ययनका लागि आउने चलन थियो, कुनै समय । संसारभरिका प्राज्ञिक व्यक्तित्वलाई आमन्त्रण गर्ने गरिएको थियो ।

‘देशको थिंकट्यांकका रुपमा खोलिएको हो, सिनासलाई,’ डा. दाहाल भन्छन्, ‘ऐतिहासिक महत्वका अध्ययन/अनुसन्धान हुन्थे, त्यहाँ ।’

उनका अनुसार पञ्चायतको उत्कर्षमा पनि कुमार खड्गबिक्रमले तत्कालीन कांग्रेस र कम्युनिस्टका नेताहरु बोलाएर खुला बहस र छलफल गराउँथे । शेरबहादुर देउवा, दमननाथ ढुंगाना, होमनाथ दाहाललगायत प्रजातन्त्रवादी व्यक्तित्वलाई बोलाएर बहस चलाउँथे ।

सिनासमा भएका अध्ययन/अनुसन्धानलाई त्रिविमा कोर्स बनाएर अध्यापन गराइन्थ्यो । ‘अहिले पश्चिमा मुलुकबाट सिद्धान्त आउँछ र यहाँ पढाइ हुन्छ,’ डा. दाहाल भन्छन्, ‘त्यतिबेला सिनासमै सिद्धान्त प्रतिपादन हुन्थ्यो र त्यही त्रिविमा पढाइ हुन्थ्यो ।’

पुरानो अवस्थामा सिनासलाई फर्काउन सकियो भने धेरै राम्रो हुने डा. दाहालको भनाइ छ । विभिन्न मुलुकका विज्ञ स्वदेशमै तयार पार्ने उद्देश्यले सार्कका सबै मुलुकका डेस्क स्थापना गरिएको थियो । परराष्ट्र मन्त्रालयलाई पनि परामर्श दिने उद्देश्य थियो, त्यसको ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि पार्टीगत भागबण्डाका कारण अध्ययन/अनुसन्धानमा रमाउने प्राज्ञिक व्यक्तित्व कमै पुगे, सिनासमा । ‘यसलाई पुनर्जीवन दिने हो भने राष्ट्रिय आकारमा ल्याउन सक्नुपर्छ,’ डा. दाहाल भन्छन् ।

सरकारले दियो पाँच करोड

उक्त संस्थाको पुनर्जीवनका लागि वर्तमान सरकारले पाँच करोड रुपैयाँको कोष उपलब्ध गराएको छ । त्रिवि, शिक्षा र अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश भएको प्रस्ताव हालै स्वीकृत भएको हो ।

कार्यकारी निर्देशक डा. कार्कीका अनुसार त्यसलाई बन्दोबस्ती कोषका रुपमा राखेर वाषिर्क व्याजवापत प्राप्त हुने रकमबाट अध्ययन/अनुसन्धानका कार्यक्रम सञ्चालन गरिने छ ।

उक्त कोषबाट वाषिर्क करिब ४५ लाख रुपैयाँ व्याज प्राप्त हुने अनुमान छ । सिनासको आफ्नो बैंक खातामा भने अहिले करिब दुई करोड रुपैयाँ छ ।

‘डबल डिग्री’ कार्यक्रमको माग गरिरहेको छ, उक्त संस्थाले । अन्य मुलुकका विश्वविद्यालयसँग समन्वय गरेर डबल डिग्री कार्यक्रम चलाउने योजना अगाडि सारेको हो । ‘वर्ल्ड र्‍यांकिङ’मा त्रिविलाई अझ माथि पुर्‍याउन त्यस्तो कार्यक्रमले सहयोग पुर्‍याउने डा. कार्की बताउँछन् ।

Share.

Leave A Reply