जहाँ १७ वर्षदेखि उम्मेदवार भोट माग्नै गएका छैनन्

0

रसुवा, मंसिर ४ – पर्यटकीय क्षेत्रको रुपमा परिचित लाङटाङमा चुनावको समयमा राजनीतिक दल भोट माग्न नगएको १७ वर्ष भएको छ ।

२०५६ सालको संसदीय चुनावदेखि राजनीतिक दल त्यहाँ भोट माग्न पुगेका छैनन् । सडक सञ्जालले नजोडिएको लाङटाङमा पुग्नका लागि दुई दिन लाग्ने र मतदाता पनि कम भएकाले राजनीतिक दल भोट माग्न नगएका हुन् ।

चुनाव आउन ६ दिन मात्र बाँकी रहेकोले यो पटक पनि भोट माग्न नजाने निश्चित भएको छ । पुगेर फर्कनका लागि न्यूनतम ४ दिन लाग्ने भएकाले दुबै गठबन्धन लाङटाङका मतदातासामु पुग्न नसक्ने भएका हुन् ।

दलले भोट माग्न नजाँदा लाङटाङबासीले चुनाव चिन्ह हेरेर भोट हाल्ने गरेका छन् । गाउँको अगुवाले भनेको भरमा उनीहरुले भोट हाल्ने गरेका लाङटाङका दावा तामाङले बताउनुभयो ।

‘चुनावको समयमा उम्मेदवार भोट माग्न नजाँदा रसुवाको लाङटाङका मतदाता चुनाव चिन्ह हरेर भोट हाल्छन्’, तामाङले भन्नुभयो । सडक सञ्जालले नजोडिएको पर्यटकीय क्षेत्र लाङटाङमा विगतमा भएका चुनावमा पनि उम्मेदवार नपुगेका उहाँले बताउनुभयो ।

२०५६, २०६४ र २०७० सालमा भएको चुनावमासमेत भोट माग्नका लागि उम्मेदवार नपुग्दा निर्वाचन चिन्ह हेरेर मत हालेका थिए । गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा भने लाङटाङकै उम्मेदवार उठेका कारण सहज भए पनि यो पटक पनि उम्मेदवार नपुग्दा मतदाता अलमलिएका छन् ।

भोट माग्नका लागि कुनै पनि राजनीतिक दलको उपस्थिति नहुने र चुनाव जितिसकेपछि पनि उम्मेदवार नपुग्ने लाङटाङबासी बताउछन् । तामाङले भन्नुभयो, ‘चुनावमा एक दिन भोट हाल्छौँ, जितेपछि कहाँ जान्छन् हामीलाई थाहा हुँदैन ।’

प्रचार–प्रसारको समय छोटो हुने भएकाले समय अभावका कारण त्यस क्षेत्रमा पुग्न कठिनाइ भएको नेताहरुले बताएका छन् । सुरक्षाको दृष्टिले अति संवेदनशील भित्र पर्ने लाङटाङमा २ सय ९२ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार लाङटाङ, क्यानजिन र मुण्डुपमा १३९ पुरुष र १५३ महिला गरी  २९२ मतदाता रहेका छन् ।

त्यस क्षेत्रमा मतदाता शिक्षा कार्यक्रम समेत पुग्न नसकेको स्थानीय बताउछन् । लाङटाङका सुप्पा तामाङका अनुसार त्यस क्षेत्रमा अहिले मतदाता शिक्षाको नाउँमा पोष्टर टाँस्ने बाहेक अन्य काम भएको छैन् ।

स्थानीय तहको चुनावको समयमा मतदानको दिन झण्डै ४ घण्टा सम्पर्कबिहिन भएको त्यहाँबाट मतपेटिका ल्याउन समेत समस्या हुने गरेको छ । व्यक्तिले बोकेर ल्याउनका लागि सुरक्षाको दृष्टिकोणले कठिन हुने र हेलिकप्टरबाट ल्याउनका लागि मौसममा भैरहने बदलीका कारण समस्या हुने देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चुनावको लागि मंगलबारदेखि त्यहाँ कर्मचारी खटाइने छ । बाटोको म्याद हेरेर मंसिर ७ गते प्रत्येक निर्वाचन क्षेत्रमा पुगिसक्ने गरेर कर्मचारी खटाइने भएकाले लाङटाङमा मंगलबारदेखि नै कर्मचारी खटाउन लागिएको हो ।

Share.

Leave A Reply