सुजता सुनुवार/उज्यालो ।
इलाम, फागुन २ – इलामको रोङ गाउँपालिकाको सुनाखरी सामुदायिक वन नजिकै भूमापन आधार विन्दुमा राखिएको बोर्डलाई स्थानीयले गुगल प्वाइन्ट भनेर भ्रम फैलाएका छन् ।
विगत लामो समयबाट बोर्ड राखिएको तर स्थानीय नागरिकहरुले त्यो के हो ? र कसले के प्रयोजनको लागि राखेको हो ? भनेर थाहा नपाएकाले बोर्डको फोटो सामाजिक सञ्जालमा राखेर गुगल प्वाइन्ट हो भन्दै भ्रम फैलाएका हुन् ।
सामाजिक सञ्जालमा हल्ला फैलिएपछि स्थानीय गाउँपालिकाका अध्यक्षसहित स्थानीय टोलीले यो क्षेत्रको अवलोकन गरेको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले जानकारी दिनुभयो । राईका अनुसार रोङ गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष मात्रिका बराल, वडा सचिव नेत्र पोखरेल र स्थानीय टोलीले अनुगमन गरेको हो ।
गाउँपालिकाको सामुदायिक वनमा रहेको धजे डाँडाँलाई आधार मानेर भूमापन आधार विन्दु कायम गरी २०६६ सालमा राखिएको थियो । नेपाल सरकारले विकास निर्माण र सबै प्रकारको भौगोलिक नक्सा तयार गर्नको लागि प्वाइन्टलाई संरक्षण गर्न बोर्ड राखेको हो ।
जहाँबाट सबैभन्दा होचो स्थान केचना र सबैभन्दा अग्लो स्थान कञ्चनजङ्घाको अवलोकन गर्न सकिने र नापसमेत लिन सकिने अध्यक्ष राईले जानकारी दिनुभयो । इलामका छिमेकी जिल्ला झापा, तेह्रथुम र भारतको प्रायः सबै स्थानको भौगोलिक नाप लिन सकिने यस्ता भूमापन आधार विन्दुहरु इलाममा तीन वटा रहेको नापी कार्यालयले जानकारी दिएको छ ।
यस्ता भूमापन आधार विन्दु नेपालमा ६८ वटा राखिएका छन् ।