जगजीत सिंहलाई आलोकश्रीको संगीत यसकारण सदर भो

0

५ मंसिर, काठमाडौं । मुम्बईमा अनिल कोकरी नामक रेकर्डिस्ट थिए । कोकरीले केही समय नेपाली संगीतकार आलोकश्रीको काठमाडौंस्थित गुञ्जन रेकर्डिङ स्टुडियोमा पनि काम गरेका थिए । कोकरी र आलोकबीच मित्रवत सम्बन्ध थियो ।

‘जगजीत सिंहसँग भेट्न कत्तिको गार्‍हो होला ?’ एकदिन आलोकश्रीले सोधे ।

‘म मिलाई हाल्छु नि, आउनुस् मुम्बई,’ कोकरीले भने ।

एक दिन म्युजिक ट्रयाक बोकेर आलोकश्री मुम्बई हान्निए । मुम्बई पुगेपछि थाहा भयो, जगजीत सिंहसँग कोकरीको प्रत्यक्ष चिनजान रहेनछ । जगजीत सिंहका निजी रिदमिस्टलाई भने चिन्दा रहेछन् ।

आलोकश्रीले ती रिदमिस्टसँग कुरा गरे ।

‘म जगजीत सिंहलाई भेटाइदिन्छु,’ रिदमिस्टले भने ।

तर, ढुक्क हुने अवस्था थिएन । एकदिन तिनै रिदमिस्टको पछि लागेर आलोकश्री जगजीत सिंहको गीत रेकर्ड भइरहेको स्टुडियोमा पुगे ।

‘नेपालबाट एक जना केटा आएका छन् । उनको कम्पोज मैले सुनें, मेलोडी निकै मिठो रहेछ, तपाईं पनि सुनिदिनुस्,’ रिदमिस्टले जगजीतलाई आग्रह गरे ।

रिदमिस्ट र जगजीतबीचको कुराकानी सुन्नेबित्तिकै आलोकश्रीलाई लाग्यो, अब जगजीतलाई गाउन लगाउने सपना तुहियो ।

‘जगजीतलाई धुन सुनाउन पनि हामीले धेरै दिन खर्चिसकेका थियौं,’ आलोकश्री भन्छन् ।

अन्ततः नपत्याउँदो पारामा जगजीतले आलोकश्रीलाई भेट दिने भए । जगजीतले भेट्न चाहेको सन्देश तिनै रिदमिस्टले सुनाएका थिए । नेपालबाट गएको टोलीमा थिए, आलोकश्री, अमुल कार्की ढली र जेबी संयोगी ।


जगजीतलाई कसरी प्रभाव पार्ने त ? अनि, उनीहरुले १२ सय भारतीय रुपैयाँ खर्चेर गुलाबको बुके किने । तीन जनाबीच सल्लाह भयो, भेट्नेबित्तिकै खुट्टा समाएर ढोग्ने ।

उनीहरु स्टुडियोमा पुगे र सल्लाहअनुरुप जगजीतको खुट्टा समाए । जगजीतले डमी सुन्ने कुरै गरेनन् ।

‘एउटा काम गर, उदित तिमीहरुको गाउँकै मान्छे हुन् । उनी निकै राम्रो गाउँछन्, उनैलाई गाउन लगाऊ,’ जगजीतले भने ।

आलोकश्री र उनका साथी जिल्ल परे । केही बोल्नै सकेनन् ।

‘गीत सुनाऊ,’ एकछिनपछि जगजीतले भने ।

उनीहरु अलिकति आशावादी भए । नेपालबाट डमी भोकलका साथ लगिएको ट्रयाक सुनाए ।

‘ट्रयाकमा जसले गाएका हुन्, उनैलाई गाउन लगाऊ । निकै राम्रो स्वर छ,’ जगजीतले भने ।

आलोकको ओठ तालु सुक्यो । किनकि, उनले जगजीतलाई सुनाउन भनेर डमीमा रामकृष्ण ढकाललाई गाउन लगाएका थिए ।

एकछिन् जगजीत सिंह घोरिए । आलोकलाई हेरिरहे । आलोकको अनुहारबाट आँशु र्झन मात्रै बाँकी थियो । रुन्चे अनुहार बनाएर बसेका थिए ।

‘फेरि सुनाउ,’ फेरि आदेश दिए ।

दोस्रो पटक ‘कुन माया सदर भो…’ र ‘दिल चोरेर बदनाम…’ सुने । ‘ठीक छ, म दुई वटा गीत गाउँला,’ जगजीतले भने ।

पैसाको कुरै भएन । उनले गाउने भएपछि आलोकश्री स्टुडियोको खोजीमा जुटे । जगजीत सिंहको घरनजिकै उनकै नामको मार्गछेउमा रहेको मुम्बईको पुरानो स्टुडियोमा रेकर्डिङको चाँजो मिलाए ।

स्टुडियोमा सबै रेडी थियो । जगजीत सिंह आए । चिया मगाए, पिएर एकछिन आराम गरे ।

‘यो गीत किन गाउँदैछु मलाई थाह छैन तर गाउँछु,’ रेकर्डिङअघि जगजीतले भने

रिदमिस्टकी छोरीको बिहेको तयारी भइरहेको रहेछ ।

‘सा’प मेरी छोरीको विवाह हुन गइरहेको छ । तपाईंले गाउनु भयो भने मैले केही कमिसन पाउने थिएँ,’ रिदमिस्टले आलोकश्रीकै अगाडि भने ।

रिदमिस्टको कुरा सुनेपछि जगजीत अलि बढी प्रभावित भए ।

‘ट्रयाकमा जसले गाएका हुन्, उनैलाई गाउन लगाऊ,’ भनेर जगजीतले भनेपछि आलोकको ओठ तालु सुक्यो । किनकि, डमीमा रामकृष्ण ढकालको स्वर थियो ।

‘ठीक छ, पारिश्रमिक उसैलाई दिनू,’ जगजीतले आलोकश्रीलाई भने ।

दुई वटा गाउँछु भनेका सिंहले लगातार चार वटा गीत एकै दिन गाइदिए । भोलिपल्ट आलोकश्रीलाई लाइभ कम्पोजिसन गर्न लगाए । सबै काम फत्ते भयो ।

‘सर, तपाईंसँग एउटा फोटो लिनु छ,’ अन्तिममा आलोकले भने ।

‘आज दार्‍ही काटेको छैन, भोलि खिचौंला,’ सिंहले भने ।

भोलिपल्ट उनकै समयअनुसार स्टुडियोमै भेट भयो । तस्बिर खिच्ने काम पनि सकियो ।

‘कुन ठाउँबाट आएको ? कसरी बसेका छौ,’ जगजीतले सोधे ।

आलोकश्रीले सबै विवरण खुलाए । उनलाई अर्को कोठामा बोलाएर जगजीतले ५० हजार भारतीय रुपैयाँ झिकेर दिए । आलोकश्री फेरि जिल्ल परे ।

काठमाडौमा ‘संयोग’ शीर्षकको एल्बम निस्कियो । आलोकश्रीले पार्सल गरेर जगजीतलाई एल्बम पठाए ।

‘थ्यांक्यु बेटा,’ जगजीतले म्यासेज पठाए ।

आखिर, जगजीत सिंहको जीवनमै ‘संयोग’ एल्बम अन्तिम बन्यो । संयोगमा गाएको केही समयपछि सिंहको ओपन हार्ट सर्जरी भयो । र, त्यसको केही समयपछि ब्रेन ह्याम्ब्रेज ।

‘संगीत इतिहासमा संयोग एल्बम नै जगजीत सिंहको अन्तिम बन्यो,’ आलोकश्री भन्छन् ।

उदितलाई देखेपछि नर्भस

आलोकश्रीकै संगीतमा यसअघि उदीतनारायण झाको स्वरमा ‘उपहार’ एल्बम सार्वजनिक भइसकेको छ । उदितनारायण, दीपानारायण र आदित्यनारायण झाको स्वरमा केही गीत रेकर्डिङ भइसकेका छन् । थप केही गीत रेकर्ड गरेर झा परिवारकै स्वरमा एल्बम ल्याउने योजनामा छन्, आलोकश्री ।

अहिले उदित र आलोकश्रीको दोस्ती निकै राम्रो छ । फोनमा कुराकानी बाक्लै हुन्छ । स-परिवारको सञ्चो, बिसञ्चो सोध्छन् । मुम्बईमा आलोकश्री त उदितको स्थायी पाहुना नै भइसके । मुम्बई गएका बेलामा आलोकश्रीले डेरा खोज्न पर्दैन ।

अहिले यति राम्रो सम्बन्ध बनाएका आलोकश्री पहिलो पटक झालाई भेट्दा लगलग कामेका थिए । उनले पहिला उदितलाई आफ्नो संगीतमा गीत गाउन लगाउने सपना बुनेका थिएनन् । जब चलचित्र ‘भन्नै सकिनँ’ मा आलोकश्री संगीतकारको रुपमा अनुबन्ध भए, आफ्नो संगीतमा उदितको स्वर भर्ने मेसो मिल्यो ।

झा नेपाल आएको बेला गीत रेकर्डिङ गराउने कुरा भयो । कुनै पनि गीत रेकडिङ गर्नुअघि संगीतकारले गायक-गायिकालाई डमी सुनाउने चलन हुन्छ । प्रायः हार्मोनियम बजाएर डमी सुनाउने गरिन्छ । आलोकश्रीले पनि त्यसै गरे ।

‘हार्मोनियम समाउनेबित्तिकै हात कामेर लगलग भयो । त्यसै डर लागेर आयो,’ आलोकश्री सम्भिmन्छन्, ‘मेरो हात कामेको देखेर उदितजीले चिया मगाउनु भयो ।’

निर्देशक राजेन्द्र सलभ र प्रकाश सुवेदी पनि सँगै थिए ।

चिया आइपुगेको थिएन, झाले आलोकश्रीसँग पुतलीसडकको चिया पसल, पुराना साथीहरु, रेडियो नेपाललगायत सोधे । तीन वटा जोक सुनाए र भने ‘ल, आलोकजी अब गाना सुनाउनुस् ।’

फेरि हालत उही भयो ।

‘खै सर, मलाई डर लाग्यो हातै चलेन,’ आलोकले भने ।

‘अरे यार, तपाईंलाई भन्दा धेरै डर मलाई लागेको छ । नयाँ संगीतकारको संगीतमा कसरी गाउने । तपाईंलाई भन्दा ठूलो च्यालेन्ज मलाई छ,’ उदितले भने ।

उदितले आलोकश्रीलाई हौस्याउन कुनै कसर बाँकी राखेनन् ।

जगजीत सिंहलाई प्रभावमा पार्न आलोकश्री र उनको समूहले १२ सय भारतीय रुपैयाँ खर्चेर गुलाबको बुके किन्यो । उनीहरुबीच सल्लाह भयो, भेट्नेबित्तिकै जगजीतको खुट्टा समाएर ढोग्ने ।

‘तपाईंका आधुनिक गीत खुब हिट छन् रे । मलाई तपाईसँग एउटा एल्बम पनि गर्नु छ,’ उदितले भने ।

एल्बमको कुरा गरेपछि आलोकश्रीमा आँट पलाएछ ।

रेकर्डिङमा दुई घण्टा लाग्यो । जब रेकर्डिङ सकियो, उदितले आलोकलाई भने, ‘म तपाईंप्रति आभारी छु ।’

आलोक बसिरहेका थिए । उदितले भने ‘उठ्नुस् ।’

आलोकश्री उठे, झाले दरिलो अंकमाल गरे । क्यामेरा थुप्रै थिए ।

‘मलाई त्यतिबेला लाग्यो यो कार्यक्रमको हिरो मै हुँ,’ आलोकश्री भन्छन् ।

चलचित्र ‘भन्नै सकिनँ’मा झाले ‘पूरा भयो सपना मेरो’ र ‘सराङकोटैमा …’ गरी दुई गीत गाएका थिए । झाले नेपालमै रेकर्ड गराएका हालसम्मका अन्तिम गीत तिनै हुन् । त्यसपछि पनि उनी नेपाल त धेरै आए तर गीत रेकर्ड गरेका छैनन् ।

झासँगको त्यही भेट आलोकश्रीका लागि निकै फलदायी भयो । नेपाल बसुन्जेल आलोकश्री र उदितसँगै साइड सिन भयो । ‘सँगै एल्बम गर्ने’ कुरामा सहमति जनाउँदै र आलोकश्रीलाई मुम्बई आउने निम्ता दिएर उदित मुम्बई उडे ।

‘भन्नै सकिनँ’को गीत हिट भयो । उदितकै स्वरमा सोलो एल्बम ल्याउने सपना बुन्दै आलोकश्री मुम्बई पुगे । झाकै घरमा पाहुना भए । एउटा एल्बमका लागि कम्तिमा आठ गीत चाहिन्थ्यो । बल्ल-बल्ल चार गीत रेकर्ड गरे । अरु चार गीत रेकर्ड गर्न असम्भवजस्तै भयो । झा कति व्यस्त भने उनकै घरमा बस्दा पनि भेट्न मुस्किल ।

‘सर, मेरी सानी छोरी छ, बर्थडे आउन लाग्यो । म जानुपर्छ । चार गीत रेकर्ड गर्न पाए हुन्थ्यो,’ केही दिनको बसाइपछि आलोकश्रीले भने ।

‘तपाईं जानुस्, म गाएर पठाइदिन्छु,’ झाले भने ।

आलोकश्री फर्किए ।

दुई महिना बित्यो । गीत आएन । फेरि उदितलाई फोन गरे । उदितले भने ‘अहिले आउनुस् ।’ आलोकश्री फेरि मुम्बई पुगे । तर, उनको व्यस्तता झन् धेरै । भेट्नै गार्‍हो ।

आलोकश्री झाको पर्खाइमा मुम्बईमै थिए, निर्देशक भुषण दाहाल त्यहीं पुगे ।

‘म मुम्बई आइपुगेँ, उदितलाई कसरी भेट्ने ?’ भुषणले सोधे ।

‘सार्‍है गार्‍हो छ,’ आलोकश्रीले भने ।

‘कान्तिपुर टीभी आएको छ भन्नुस् न,’ भुषणले उपाय सुझाए ।

‘दूरदर्शनलाई त टेर्दैनन्, कान्तिपुरलाई के टेर्लान्,’ आलोकश्रीले भने ।

‘तैपनि ट्राइ गर्नुस् न,’ भुषणले भने ।

बल्ल-बल्ल आलोकश्रीले शुक्रबारको दिन चार बजेलाई रेकर्डिङको टाइम मिलाए ।

६ बजे उदित आइपुगे ।

‘उदितलाई स्टुडियो छिरायौं, तपाईंहरु आउनु,’ आलोकश्रीले भुषणलाई खबर गरे ।

भुषण तुरुन्तै आइपुगे । भुषणसँग कुराकानी हुँदै थियो । ‘फायर साइड’ सुटिङको तयारी गरिसकेछन् ।

‘मेरो रेकर्डिङभन्दा पहिला अन्तरवार्ता दिए । ११ बजे अन्तरवार्ता सकियो । बल्ल गीत रेकर्डिङको पालो आयो,’ आलोक सम्भिmन्छन् ।

आलोकश्री त्यसबेला यसकारण खुशी थिए, झा पूरै मुडमा थिए । ‘कहिले तिम्रो पछ्यौरीमा …’ बबाल गाए ।

रामकृष्णसँग दोस्ती

दीप श्रेष्ठ, रामकृष्ण ढकाल, यम बराल, शर्मिला बर्देवा, राजेशपायल राईलगायत धेरै गायक-गायिकासँग सहकार्य गरेका छन्, आलोकश्रीले । यीमध्ये उनको बढी सामिप्यता रामकृष्ण ढकालसँग रह्यो, जुन अहिले पनि कायमै छ ।

२०४२ सालतिर आलोकश्रीको आफ्नै स्कुल थियो, किङ्डम स्टार । त्यही स्कुलमा संगीत शिक्षक थिए, रामकृष्ण ढकाल । लगभग दुई वर्ष ढकालले त्यही स्कुलमा पढाए । गायक ढकाल ‘आशिर्वाद’ एल्बमका कारण चर्चामा थिए । उनी केही नयाँ गरौं भन्ने सोचमा थिए भने आलोकश्री पनि ढकालसँगै सहकार्य गर्न चाहन्थे ।


त्यसैताक ‘कस्तुरी क’ बाल गीतिमाला तयार भयो । संगीत आलोकश्रीको थियो भने स्वर रामकृष्ण ढकाल र लोचन भट्टराईको । काशीराज सुवेदीले शब्द लेखेका थिए ।

‘अ’देखि ‘ज्ञ’सम्म अक्षर समेटेर तयार गरिको बाल गीतिमाला तीन भागको थियो । उक्त एल्बमका लागि ६ महिना लागेको थियो । उक्त गीतीमाला मनोरञ्जनका लागि मात्रै नभई ज्ञानमुलक पनि थियो । आलोकश्री र ढकालबीचको सामिप्यता बढाउन त्यसले राम्रै सहयोग गर्‍यो ।

यसबीचमा आलोकश्री र रामकृष्णबीच सल्लाह भयो, ‘आर्शिवाद-२’ एल्बम ल्याउने । रामकृष्ण आशिर्वादलाई नै निरन्तरता दिन चाहन्थे । तर, एल्बमका लगानीकर्ता गोपाल कर्माचार्य थिए ।

‘आशिर्वाद मेरो ब्रान्ड हो, म जसलाई पनि लिन सक्छु,’ उनले भने ।

नभन्दै कर्माचार्यले यम बरालको स्वरमा विभिन्न रचनाकार र संगीतकारको संगीतमा आशिर्वाद-२ निकाले, जसमा आलोकश्रीको पनि संगीत थियो ।

यसरी जन्मियो ‘आशा’

यम बरालको स्वरमा ‘आशिर्वाद-२’ आएपछि रामकृष्ण अलि खिन्न भए । न स्टेज थियो, न त अहिलेजस्तो सञ्चारमाध्यम ।

रामकृष्ण रेडियो नेपालमा काम गर्थे । केही हुन्छ भनेर होला रामकृष्णले रेडियोमा भएका विभिन्न गीत कलेक्सन गरेर ‘आशिष’ एल्बम निकाल्ने भए ।

गीत जम्मा पारिसकेपछि ढकालले आलोकश्रीलाई भने, ‘सूर्यजी, तपाईं मेरो एल्बमको प्रस्तोता बन्दिनु पर्‍यो ।’ (त्यसबेला आलोकश्रीको नाम सूर्य खाती थियो ।)

बिनालगानी प्रस्तोता बन्न आग्रह गरिँदा नाईं भन्ने कुरा भएन । सूर्यकुमार खाती प्रस्तोता रहेको ‘आशिष’ एल्बम अहिले पनि म्युजिक नेपालको आर्काइभमा सुरक्षित छ ।

‘रामकृष्णजी, तपाईं चिन्ता नगर्नुस्, अब हामी नयाँ गीत रेकडिङ गर्नुपर्छ,’ त्यसैताक आलोकश्रीले भने ।

उनीहरु सिम्फोनिक स्टुडियोमा गए ।

‘पहिलो एल्बमचाहीं मुम्बईमा गएर रेकडिङ गर्ने, दोस्रो फोर ट्रयाकमा नेपालमा रेकर्ड गर्दा मुम्बईको क्वालिटी नआउन सक्छ । क्वालिटी आएन भने त तपाईंको करिअर चट हुनसक्छ,’ सिम्फोनिक स्टुडियोका एक प्राविधिकको कुरा सुनेपछि रामकृष्ण तर्सिए ।

आलोकश्रीले योजना बनाइसकेका थिए, रेकर्डिङका लागि मुम्बई जाने । ६ लाख नेपाली रुपैयाँ बोकेर उनीहरु मुम्बई उडे ।

‘पैसा झोलाभरि थियो,’ आलोक सम्झिन्छन् ।

ढकाल एकदमै चुल्बुले स्वभावका । गीत रेकर्ड गरिसकेपछि डान्सबारमा गएर रमाइलो गर्नुपर्ने । गीत रेकर्ड त सकियो तर गीत निकाल्ने बेलामा पैसा पुगेन ।

‘रेकर्डिङका लागि छुट्याएकोमध्ये केही पैसा डान्सबारमा सकिएको थियो,’ आलोक भन्छन् ।

म्युजिक नेपाललाई ‘एल्बम निकालिदिनुस्’ भनेर आग्रह गर्ने आलोकश्रीलाई उल्टै म्युजिक नेपाललले आग्रह गर्न थाल्यो, ‘आलोकजी, एउटा एल्बम तपाईंकै संगीतमा गर्नुपर्‍यो ।’

रेकर्ड गरेका गीत छोड्ने कुरा त भएन । नेपालबाट थप ९० हजार भारु मगाएर उनीहरु गीतको मास्टर्स बोकेर आए । एल्बमको नाम थियो, ‘आशा’ ।

एल्बमको पहिलो विमोचन नै हङकङमा भयो । त्यतिबेला बजारमा अडियो क्यासेटको मूल्य थियो, ४५ रुपैयाँ । तर, आशाको मूल्य कायम भयो, ६० रुपैयाँ । प्रतिअडियो १२ रुपैयाँ रोयल्टी आउँथ्यो ।

लगभग तीन महिनामा एक लाखभन्दा बढी एल्बम बिक्री भयो । एउटा कोणबाट नियाल्दा रामकृष्णका लागि त्यो एल्बम ‘टर्निङ पोइन्ट’ बन्यो । उनलाई जापान, कोरिया, बेलायतलगायत मुलुकबाट निम्तो आउन थाल्यो ।

एल्बममा आलोकश्रीको दुई वटा नाम छ । प्रस्तोता सूर्यकुमार खाती । संगीतकारचाहीं आलोकश्री । खासमा, उनको न्वारान गीतकार आनन्द अधिकारीले गरेका थिए ।

‘तपाईंलाई आलोकश्री सुहाउँछ र फाप्छ पनि । यही नाम राख्नुस्,’ अधिकारीले यसो भनेलगत्तै सूर्यकुमार खातीको नाम आलोकश्री भयो ।

चर्चाको हिउँचुली

‘आशा’ हिट भएलगत्तै आलोकश्रीले ‘छायाँ’ एल्बमको तयारी गरे । चार गीत कालीप्रसाद रिजाल र चार गीत आनन्द अधिकारीको राखेर एल्बम तयार भयो । संगीत सबै आलोकश्रीको ।

एल्बमको विषयमा उनी कुरा गर्न गए, म्युजिक नेपालमा । म्युजिक नेपालले एल्बम निकाल्न मानेन ।

‘यो एल्बम बिक्री हुन्न, हामी निकाल्न सक्दैनौं, लागतै उठ्दैन,’ म्युजिक नेपालका प्रतिनिधिले भने ।

आलोकश्री सन्तोष शर्मा -म्युजिक नेपालका प्रमुख) कहाँ पुगे र भने, ‘सर, मेरो इज्जतका लागि पाँच सय मात्रै भए पनि निकाल्दिनुपर्‍यो ।’

‘तपाईं अहिलेसम्म एल्बम प्रस्तोताको रुपमा चिनिनु भएको छ । तपाईंकै सोलो संगीतमा कसरी एल्बम निकाल्ने ?’ शर्माले भने । ‘जसरी पनि निकाल्दिनुपर्‍यो,’ आलोकश्रीले आग्रह गरे ।

तीन महिनापछि म्युजिक नेपालले पाँच सय एल्बम निकालिदियो ।

सबै एफएम प्रसारण सिंहदरबारभित्रै थिए । आलोकश्रीले एफएम र रेडियोका लागि केही थान सीडी बनाएका थिए । उनी झोलामा सीडी हाल्थे र रेडियो नेपाल जान्थे । रेडियोकर्मी भेट हुनेबित्तिकै सीडी दिन्थे र भन्थे, ‘मेरो गीत बजाइदिनुस् है ।’

लगभग १० दिनमा पाँच सय एल्बम बिक्री भयो । त्यसपछि एल्बमको अर्डर आयो, ६ हजार प्रति । केही दिनमै थप १२ हजारको अर्डर आयो । एल्बम यसरी हिट होला भनेर न आलोक श्रीले सोचेका थिए, न त म्युजिक नेपालले ।

हुँदा-हुँदा दैनिक २० हजार प्रतिको अर्डर आउन थाल्यो । म्युजिक नेपाललाई ‘एल्बम निकालिदिनुस्’ भनेर आग्रह गर्ने आलोकश्रीलाई उल्टै म्युजिक नेपाललले आग्रह गर्न थाल्यो, ‘आलोकजी, एउटा एल्बम तपाईंकै संगीतमा गर्नुपर्‍यो ।’

संगीतमै केही गर्छु भनेर लागेका आलोकले नाईं भन्ने कुरै भएन । पाँच लाख साइनिङ एमाउन्ट लिएर म्युजिक नेपालबाटै ‘हिउँचुली’ एल्बम निकाले । त्यही विन्दुबाट आलोकश्रीको एक्लो घोडा दौडिन थाल्यो, नेपाली आधुनिक संगीतमा ।

उनको संगीतमा हालसम्म १२ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । ६ सयभन्दा बढीले त हिटको उपाधि नै पाएका छन् । उमेरले आधा शतक पार गर्न लागे पनि उनको उत्साह झन्-झन् झाँगिएको छ ।

‘अझै केही तिख्खर सिर्जना लिएर आउने योजना बनाएको छु,’ आलोक भन्छन् ।

झा खानदानको स्वरमा एल्बम ल्याउने अन्तिम तयारीमा जुटेका आलोकश्रीले केही राष्ट्रिय गीतको कम्पोज गरिसकेका छन् ।

‘अबको राष्ट्रिय गीत पनि प्रदेश अनुरुप हुनुपर्छ, देशजस्तै सबैको भावना समेट्ने खालको,’ उनी भन्छन् ।

Share.

Leave A Reply