छेक्यो छेक्यो भैरहवा मैदान हुस्सु र कुहिरोले

0

भैरहवा, माघ ५ – शुक्रबार मुलुकभरबाट सोनाम ल्होसार मनाउनेहरुकोे भिड लुम्बिनीमा लागेकै साँझ छेउको भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो ।

स्थापनाको पच्चीस वर्ष मनाउँदै यात्रामा निस्केको सांगीतिक टोली नेपथ्यले बिहीबार भैरहवाको पक्लिहवा हाइस्कुलको प्रांगणमा आफूलाई प्रस्तुत गरेको छ । जतिबेला तामाङ समुदायले आफ्नो मुख्यपर्व मनाइरहेको थियो त्यतिबेलै भैरहवाको मैदानमा हिउँको वर्षात्सहित तामाङ बहुल लाङटाङ भेगबाटै संकलित गीत ‘भेँडाको ऊनजस्तो’ बजिरहेको थियो ।

यो कन्सर्टसँगै पूर्वी कुना झापाबाट सुरुभएको यसपटकको नेपथ्य यात्रा पश्चिमको अनुभवका साथ विश्राम लिएको छ ।

सिंगो पश्चिमी पहाडी भेगको नाका भएकै कारण भैरहवासँग नेपथ्य जोडिएको छ । गोर्खा भर्तीदेखि शिक्षा, स्वास्थ्य, तीर्थ हुँदै जीविकाका अनेक अवसरका निम्तिद्वार रहँदै आएको यो ओहोर–दोहोर मार्ग पश्चिमेली  लोकभाकासँग पनि जोडिँदै आएको छ । त्यसबाहेक स्वयं नेपथ्यकै कतिपय सदस्यहरुको विगत यो सिमावर्ती सहरमा बितेको थियो । यी सबै कारणले गर्दा भैरहवा कन्सर्ट एक किसिमको आत्मीय पनि बन्न पुग्यो।

‘पोखरा र पोखरेलीहरु जसरी भैरहवासँग जोडिएका छन् नेपथ्य पनि उसैगरी जोडिएको छ’, कन्सर्टको अघिल्लो साँझ मात्र यहाँका  आमा समूहले गरेको स्वागत कार्यक्रमबाट फर्केपछि नेपथ्यका मुख्य गायक अमृत गुरुङ भनिरहेका थिए, ‘मैले बाल्यकालका महत्वपूर्ण क्षण बिताएको यो सहर अहिले पनि ब्याण्डका गितार वादक निरज गुरुङको थलो हो ।’

ब्याण्डको संघर्षकालीन क्षणमा समेत यस सहरमा कन्सर्ट गर्दाका टन्नै अनुभवहरु बोकेको नेपथ्यले यसपाला भने पहिलोपटक खुला आकास मुनि विशालचौरमा आफूलाई प्रस्तुत गरेको थियो ।

अन्यत्रझैँ यहाँ पनि प्रारम्भ म्युजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो।

त्यसको लगत्तै नेपथ्य टोली मञ्चमा प्रवेश गरेको थियो । ब्याण्डले स्टेजमा सबैभन्दा पहिले नयाँ गीत‘कुरुप अनुहार हो’ प्रस्तुत गरेको थियो । साढे तीन दशकअघि विश्वविद्यालय पढ्न कीर्तिपुर पुगेका दुई पोखरेली तन्नेरीहरु सरुभक्तको रचना र विक्रम गुरुङको संगीतमा यो गीत तयार भएको हो । पछिल्लो समय नेपथ्यले गाउन थालेपछि चर्चित बनेको यो गीत ब्याण्डको दसौं एल्बममा समावेश छ ।

त्यसपछि सोनाम ल्होसारको मुडलाई अवाज दिँदै‘भेँडाको उनजस्तो’ सुनाउँदा मैदानभरिका तन्नेरीहरु उफ्रिरहेका देखिन्थे ।
तराइमा यतिखेर जारी शीतलहरले गर्दा बेलुकीपक्लिहवा स्कुलको मैदान पनि हुस्सु र कुहिरोले ढपक्कै ढाकेको थियो । यसरी हुस्सु र कुहिरोले ढाकेको अन्धकारमा बत्तीहरुको प्रभावले गर्दा स्टेजदेखि मैदानसम्मै माहोल मोहकपाराले धमिलो देखिएको थियो ।

‘अरु बेला हामीले स्टेजमा यस्तो प्रभाव ल्याउन खर्च गरेर कृतिम धुवाँ प्रयोग गर्नुपथ्र्यो,’ ब्याण्डका ब्यवस्थापक किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भैरहवामा भने प्रकृतिले नै त्यस्तो वातावरण बनाइदियो ।’

यसरी सिंगो मैदानलाई हुस्सु र कुहिरोले छेकिरहेको त्यो वातावरणमा त्यसपछिको गीत नेपथ्यको सर्वकालिक हिट‘छेक्यो छेक्यो’ नै थियो ।
‘आँगनै भरि’ गाउने बेलामा भने गायक अमृत गुरुङ र श्रोता दर्शक दुवै ब्याण्ड स्थापनाका क्षण सम्झेर भावुक भएका थिए । ब्याण्डको पहिलो गीतका रुपमा औपचारिक घोषणा गरिएको यस गीतलाई प्रस्तुत गर्ने बेलामा पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो ।

‘यो गीत मैले तयार पार्ने बेलामा तपाईँहरु धेरैजना त जन्मनु पनि भएको थिएन’, दर्शक घेरामा रहेका अधिकांश तन्नेरीहरुसँग ठट्टा गर्दै गायक अमृतले भने, ‘यति बेला गाइरहँदा मलाई तपाईँकै उमेरको त्यो क्षणमा पुगेको महसुस भइरहेको छ ।’ त्यसपछि अमृतले एकपछि अर्को गर्दै झण्डै बराबर मात्रामा नयाँ र पुराना एल्बमका गीतहरु सुनाए ।

कार्यक्रम उत्तरार्धमा पुग्दाचाहिँ एउटा महत्वपूर्ण मोड लियो । अघिल्लो दिनमात्रै भैरहवाको डण्डापारि क्षेत्रमा पैदल हिँड्दा भेटिएका स्थानीय मधेसी समूदायका तन्नेरीबारे अमृतले चर्चा गर्न थाले । आफ्ना प्रशंसकका रुपमा फेला परेका ती तन्नेरीले उनलाई मनपर्ने गीतहरु दिएकामा अमृतप्रति आभार प्रकट गरेका रहेछन् । अमृतले तिनै युवकलाई सम्झँदै मुलुकभरका समस्त फरकफरक पहिचानका तन्नेरीहरुमा समर्पण गरेर त्यसपछि गाएको गीत थियो, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली ’।’

कार्यक्रममा उल्लेख्य संख्यामा मधेसी समुदायका तन्नेरीहरुको उपस्थिति देखिन्थ्यो । तिनैमध्येका एक थिए भोजपुरीभाषी पवन गुप्ता साह । साथीहरुसँग आएका उनी कुनै गीतको तालमा झुम्ने त घरि मोबाइलले अगाडिको दृश्य रेकर्ड गर्ने गरिरहेका थिए । भैरहवाकै जोगीबुटीस्थित स्काई इन्टरनेशनलमा एमबिए अध्ययनरत साहलाई नेपथ्य मन पर्नुको कारण सोध्दा यसका गीतले नेपाली स्वाद समेटेको जवाफ दिए । मातृभाषा बेग्लै हुने समुदायले नेपाली गीतका भाव कसरी टिप्छन् भनेर जिज्ञासा राख्दा उनले उल्टो अचम्म मानेर हेरे ।

‘एक त संगीतसँग भाषाको खासै सम्बन्ध हुँदैन’, नेपथ्यबाहेक अरु पनि केही नेपाली गायक तथा ब्याण्डका प्रशंसक रहेका पवनले भने, ‘घरभित्र भोजपुरी भाषा प्रयोग गरे पनि म नेपाली हुँ र सानैदेखि नेपथ्यका गीत सुनेरै हुर्केको हुँ ।’

पवन यसरी निकै पहिलेदेखि नेपथ्यको ‘फ्यान’ भएता पनि २७ वर्षे सिकन्दर अली भने यो ब्याण्डको पहिलो अनुभव लिँदै थिए । ‘सबैले जताततै नेपथ्य नेपथ्य भनेको सुनेपछि के रहेछ भनेर हेर्न म पनि आएको हुँ,’ओमसथिया गाउँपालिका–४का सिकन्दरले भने, ‘बच्चा, बुढोलाई मन पर्नेदेखि सामाजिक गीतहरु समेत गाउनु हुँदो रहेछ ।’

भैरहवाकै टेन्ट हाउस व्यावसायी उनले अब नेपथ्यका कन्सर्टहरु नछुटाइ हेर्ने जानकारी दिए । यता मञ्चमा भने गायक अमृतले ‘रेशम’ र ‘तालको पानी’ सुनाएर दर्शकलाई छमछमी नचाइरहेका थिए ।

राजधानीबाहिर स्थापना भएका पुरानामध्ये एक भैरहवास्थित मेडिकल कलेजले पछिल्लो समय देशभरिका विद्यार्थीमाझ साख गुमाउन पुगेकोमा पनि अमृतले चिन्ता प्रकट गरे । केही दिनअघि स्वास्थ्य विज्ञान पढ्ने विद्यार्थीहरुले भैरहवा आउन रुची नदेखाएको सन्दर्भ उल्लेख गर्दै अमृतले त्यस्तो अवस्थाको छिट्टै अन्त्य हुने कामना पनि गरे ।

‘त्यस्तो अवस्था नआओस् भनेरै डा. गोविन्द केसी उहिल्यैदेखि काठमाडौंमा अनशन बस्दै आइरहनुभएको छ,’ अमृतले दर्शकहरुलाई अनुरोध गर्दै भने, ‘आउनुस् उहाँको अभियानमा हामीले पनि साथ दिउँ ।’

यी भनाइहरु राख्नुअघि नै सुरु भइसकेको ड्रमसेट र गितारको बिटलाई साथ दिँदै त्यसपछि अमृतले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गाउँदै दर्शक उफारेका थिए। अन्त्यमा‘रातो र चन्द्र सूर्जे’ सुनाएर कार्यक्रमको बिट मारिएको थियो ।

सँधैजस्तै मुख्यगायक अमृतलाई यसपटक पनि ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, लिड गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । भैरहवाको कार्यक्रमलाई स्थानीय‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले आयोजना गरेको थियो ।

Share.

Leave A Reply