चिसो बढेपछि रामेछापको उत्तरी क्षेत्रका चौँरी गोठ सारियो

0

दीपक भट्ट/उज्यालो ।

रामेछाप पुस २२ – रामेछापको उत्तरी क्षेत्रको उच्च भू–भागमा रहेका चौँरी गोठ चिसो बढेसँगै जिल्लाको तल्लो भेगमा सारिएको छ ।

लेकाली भेगमा जाडो बढेकाले चौँरी गोठ मंसिरको दोस्रो साताबाट नै जिल्लाको तल्लो क्षेत्रतिर सार्न  थालिएको हो । केही दिन अगाडिबाट पानीसँगै परेको तुषारो बढ्न थालेपछि उच्च पहाडी क्षेत्रतिर अत्यन्त चिसो बढेकाले अहिले माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा चौँरी झार्न थालिएको चौँरीपालक किसानले बताएका छन् ।

जिल्लाको बाम्ती, गुम्देल, चुचुरे, डडुवा, गौश्वारालगायतका गाउँ विकास समितिका चौँरीपालक किसानले चिसो छल्नका लागि चौँरी गोठ तल्लो क्षेत्रमा सारेको बताएका छन् । यस वर्ष चाँडै चिसो बढेका कारण चौँरीपालक किसानले कम चिसो हुने तल्लो क्षेत्रतिर गोठ सारेको बाम्ती गाउँ विकास समिति वडा नम्बर–४, की लक्ष्मी शेर्पाले बताउनुभयो ।

यो वर्ष चाँडै चिसो बढेकाले चौँरीलाई चिसोबाट जोगाउन माथिल्लो थोदुङ  लेकबाट देउरालीतिर सारिएको चुचुरेका किसान नाम्गेल शेर्पाले बताउनुभयो । ३ हजार ८० मिटरको उचाइमा रहेको थोदुङ लेकबाट २७ सय मिटरको उचाइमा भएको देउराली डाँडामा चौँरी गोठहरु झारिएको छ । देउराली डाँडामा अहिलेको तापक्रम चौँरीका लागि उपयुक्त भएकाले माथिल्लो क्षेत्रबाट तल्ले क्षेत्रमा गोठ सारिएको किसानहरुले बताएका छन् ।

चौँरी पालन गर्नको लागि २ हजार ५ सय मिटर भन्दा माथि र ४ हजार मिटरभन्दा मुनिको उचाइ उपयुक्त हुने भएकाले रामेछापको उत्तरी क्षेत्रमा बढी मात्रामा चौँरी पालिने गरिएको छ । अहिले रामेछापको उच्च हिमाली क्षेत्रमा ८ सयभन्दा बढी चौरी लेकाली जंगलमा रहेको जिल्ला पशु सेवा कार्यालय रामेछापका पशु प्राविधिक मुकुन्द खड्काले बताउनुभयो ।

चिसो छल्नका लागि चौँरी गोठ झरेसँगै ८ महिनादेखि लेकाली जंगलको बीचमा चौँरी गोठमा बस्दै आएका किसान पनि गाउँतिर देखिन थालेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले चौँरी गोठसँगै आफूहरु पनि गाउँ नजिक झरेको गुम्देलका चौँरी किसान निमा शेर्पाले बताउनुभयो । उहाँले चिसो अवधिभर जिल्लाको तल्लो क्षेत्रमा चौँरीसँगै बस्ने र तापक्रम बढेपछि लेकाली जंगलतिर नै लाग्ने बताउनुभयो ।

 

Share.

Leave A Reply