चिसोले कठ्यांग्रिदै तराईका गरिब

0

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुर, पुस २४ – दुई हप्तादेखि शीतलहरले तराई मधेसको जनजीवन निकै कष्टकर बनेको छ । दुई हप्तादेखि चलेको शीतलहरमा दिउँसो घाम नलग्दा धेरै चिसो बढेको छ ।

गएको शुक्रबार केही समय घाम लागेको थियो । त्यसपछि सोमबार मात्र घाम लागेको छ । दिउँसो घाम नलाग्दा धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा, सुनसरीलगायतको जिल्लामा अत्याधिक चिसो बढेको हो । सोमबारबाट घाम लागेपछि यहाँका नागरिकले केही राहत महशुस गरेका छन् । लगातारको चिसो र शीतलहरले कठ्यांग्रिएर २० जना भन्दा बढीको ज्यान गइसकेको छ । पर्याप्त लुगाफाटो नहुँदा गरिब एवं विपन्न कठ्यांग्रिएर दिनरात काट्न बाध्य छन् । धुर्मुस सुन्तली फाउण्डेशन लगायतका संघसंस्था र समाजसेवीले आफ्नो स्तरबाट सक्ने जति आगो बाल्न दाउरा र न्यानो कपडा उपलब्ध गराउने अभियान चलाएका छन् । नागरिकलाई जाडोबाट बचाउन अहिलेसम्म सरकारी स्तरबाट खासै कुनै प्रयास भएको छैन ।

जनकपुरको जानकी नगरमा दसैँ मुसहरको त्रिपाल र बोराको ओत लागाएको सानो टहरा छ । यस्तो टहरामा दसैँ मुसहारका परिवार एउटा पातलो कम्बलले जसोतसो जाडो छल्ने गर्छन् । श्रीमती, एक छोरा, बुहारी र नातिसहित दसैँ मुसहरका पाँच सदस्यको परिवार छ । उहाँ भन्नुहुन्छ, ‘एउटा पातलो कम्बलले कसरी जाडो जान्छ ? तर पनि हामी जस्ता विपन्नको यसरी जाडो छल्नु नियति भइसकेको छ । कोसँग माग्न जानु ?’ । राति जनकपुरको फुटपाथमा बसेका असहायहरुलाई धुर्मुस सुन्तली फाउण्डेशनले उपलब्ध गराएको कम्बल बाँड्न गएका पत्रकारसँग दसैँ मुसहरले यस्तो दुखेसो पोख्नुभयो । त्यति बेला फाउण्डेशनको एउटा न्यानो ब्लाङ्केट मुसहरलाई दिइएको थियो ।

यसरी पुसको जाडो छल्ने दसैँ मुसहरको परिवार एउटा उदाहरणको मात्र हो । उहाँको परिवार जस्तै गरिबीको चपेटामा परेका तराई मधेशका हजारौँ घरपरिवार अहिले पातलो कपडा र परालको आगोको भरमा दिनरात काट्न बाध्य छन् । तर सरकारी स्तरबाट खासै सहयोग भने भएको छैन ।

यस्तो चिसो बढेको अवस्थामा सरकार र जनप्रतिनिधिले दैनिक ज्याला मजदुरी गरेर दिनरात गुजार्ने गरिब तथा विपन्न परिवारलाई न्यानो लुगा र आगो बाल्ने दाउराको व्यवस्था गरिदिनु पर्ने जनकपुरका शिक्षक प्रमोद शरण केउटको आग्रह छ ।

जाडो प्रभावितहरुलाई राहत स्वरुप केही स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले आफ्नो प्रयासबाट आगो बाल्न दाउरा व्यवस्था गरेर वितरण गरिरहेका छन् । तर यो मात्र पर्याप्त छैन । जाडोले सप्तरीका बाढी प्रभावितहरु झनै कस्टकर जीवन विताउन बाध्य छन् । सप्तरीमा अहिलेसम्म जाडोले १३ जनाको ज्यान गइसकेको छ ।  स्थानीय प्रशासनले जाडोबाट बाढीप्रभावितलाई बचाउन न्यानो कपडा र दाउरा वितरण गरीरहेको दैविप्रकोप उद्धार समितिका संयोजक एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए ।

तराईका चिसो प्रभावित एवं बाढी प्रभावितलाई लक्षित गरी धुर्मुस सुन्तली फाउण्डेशनले लागतार न्यानो ब्लाङ्केट  वितरण गरिरहेको छ । चिसोबाट अत्यन्तै कष्टकर जीवन व्यथित गरिरहेको वस्तीहरुमा न्यानो ब्लाङकेट वितरण गर्ने अभियान जारी रहेको कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुसले बताउनुभयो ।

अहिलेसम्म तराई मधेसका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहाको विभिन्न दलित तथा विपन्न वस्तीमा दुई हजार ब्लाङ्केट वितरण गरिसकेको छ ।  सप्तरी, सुनसरीलगायतको तराईका जिल्लामा निरन्तर कम्बल वितरण गर्ने कट्टेलले जानकारी दिनुभयो । कट्टेलले सबै सहयागी मनहरुले चिसो पीडितलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।  चिसोबढेपछि कपडा पसलमा लुगाफाटो किन्नेको भिड लागेको छ । भने बाहिर चहलपहल कम भएको छ ।

Share.

Leave A Reply