चन्द्रौटामा घरनजिकैको खेतमा नवशिशुको भ्रुण फेला

0

चन्द्रौटा(कपिलवस्तु), १६ बैशाख । कपिलवस्तुको शिवराज नगरपालिका ५, सहजटोलमा शनिबार विहान घरनजिकैको खेतबारीमा नवजात शिशुको भ्रुण देखेपछि छिमेकीहरु कानेखुशी गर्न थाले । ‘एक कान, दो कान मैदान’ भनेझैं चारैतर्फ हल्ला फैलियो । एकैछिनमा त हेर्नेको भीडभाड नै बढ्यो । शिशुको शारीरिक संरचनाको विकास भएपनि अझै पूर्णता पाएको थिएन । भ्रुण हेर्दा करीब ४/५ महिनाको शिशुको जस्तो देखिन्थ्यो । भ्रुणमा पुरुष जननेन्द्रिय टाँसिएको अवस्थामा देखिएकाले बालक रहेको प्रहरीले बताएको छ ।

खेतमा बेवारिसे नवजात शिशुको भ्रुण फेला परेको चारैतर्फ हल्ला भएपछि छिमेकीहरु भ्रुण हेर्न जम्मा भए । तर भ्रुण भेटिएको ठाउँ नजिकैको घरमा डेरा गरी बस्ने एक महिलालाई भने यससम्बन्धी कुनै चासो भएको देखिएन । प्रहरी र स्थानीयलाई समेत शंका लाग्यो । सोधपुछका क्रममा आखिर उनै महिलाले आफ्नो भ्रुण भएको स्वीकार गरिन् । दुई जीउ भएकी उमेर हेर्दा झण्डै ४० वर्षे जस्तो देखिने शारदा (नाम परिवर्तन) लाई राति एक्कासी व्यथाले च्यापेपछि बताइन् । रातको समयमा घरबाहिर निस्कँदा भ्रुण आफैं झर्यो शारदाले प्रहरी समक्ष भनिन् । उमेर नपुग्दै भ्रुण खसेकाले एकैछिन्मा शिशुको मृत्यु भएको उनले बताइन् । आफूलाई निकै पीडा भएकाले खाल्डो खनी गाड्न समेत नसकेको उनले आफ्नो व्यथा सुनाइन् । तर छरछिमेकले महिलाले मानसिक सन्तुलन गुमाएर भ्रुण फालेको हुनसक्ने शंका गर्दै आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

एक दिनअघि महिलाका श्रीमान् कामको सिलसिलामा भारत गएको उनले बताइन् । कोठामा ४ छोराछोरी र आफूमात्र बस्दै आएको उनले बताएकी छन् । आफ्नै नन्दको घरमा गत ३ महिनादेखि डेरा गरी उनीहरु सपरिवार बस्दै आएका छन् ।

Share.

Leave A Reply