गच्छदार नेतृत्वको कार्यदलको सुझावमा थपियो २२ स्थानीय तह, २४ गाउँपालिका बने नगर

0

काठमाडौं, जेठ ९ –
सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको छ । यो सँगै स्थानीय तहको संख्या ७ सय ६६ पुगेको छ । यसैगरी २४ गाउँपालिका नगरपालिकामा परिणत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री एवम् स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गठित कार्यदलको सुझावका आधारमा सरकारले विराटनगर र वीरगन्ज उपमहानगरलाई स्तरोन्नति गरी महानगरपालिका बनाउने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।

यो निर्णयसँगै महानगरपालिकाको संख्या ६ पुगेको छ । पहिला काठमाडौँ मात्र महानगरपालिका रहेकोमा स्थानीय तह पुर्नसंरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगरपालिका भएका थिए ।

बैठकले सुनसरीमा दुई, सप्तरीमा एक, धनुषामा एक, सर्लाहीमा तीन, रौतहटमा दुई, पर्सामा एक, बारामा एक, नवलपरासीमा तीन, रुपन्देहीमा तीन, कपिलवस्तुमा तीन, कैलालीमा एक र बाँकेमा एक स्थानीय तह थपिएको छ । थपिएका सबै गाउँपालिका हुन् ।

यसैगरी झापामा दुई नगरपालिका थपिएको छ भने सिरहामा एक, रौतहटमा ११, धनुषामा एक, बारामा एक, रुपन्देहीमा दुई, बाँकेमा दुई, कैलालीमा एक र महोत्तरीमा तीन नगरपालिका थपिएका छन् । नगरपालिका बनेका सबै यसअघि गाउँपालिका थिए । जनसंख्याका आधारमा उक्त नगरपालिका थपिएको सरकारका प्रवक्तसमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply