कुरिलो खेती प्रविधि

0

जेठ १३, २०७४

परिचय
कुरिलो एक बहुवर्षिय तरकारी बाली हो । यो कलिलो टुसा को लागि खेती गरिन्छ । यसको बोटलाई फर्न, जरालाई क्राउन र खाने भागलाई स्पेयर भनिन्छ । यो एस्पारागेसी परिवार अन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम ‘एस्पारागस अफिसिनालिस’ हो । यसको भाले र पोथीको छुटटा छुटटै बोट हुने गर्दछ । भाले बोटबाट निस्कने टुसाहरु केही मसिना भएपनि पोथी बोटको तुलनामा बढी उत्पादन दिन्छन् । कुरिलोलाई एक पटक लगाएपछि कम्तिामा २० वर्षसम्म उत्पादन लिइरहन सकिन्छ । यसको उत्पति मध्य–एसिया, रुस तथा उत्तरी युरोपमा भएको मानिन्छ ।
हावापानी
उष्ण तथा समशितोष्ण हावापानी भएको स्थानमा कुरिलो खेती सफलतापूर्वक गर्न सकिन्छ । कुरिलो खेतीको लागि हिँउदमा चिसो तथा वसन्त र गृष्ममा न्यानो मौसम राम्रो हुन्छ । यसको लागि १८–२० डिग्री सेल्सियस औसत तापक्रम भएको क्षेत्र राम्रो मानिन्छ । कुरिलोको बोटको बृद्धि र विकासको लागि दिनको तापक्रम २३–२९ डिग्री सेल्सियस र रातको तापक्रम १३–१८ डिग्री सेल्सियस हुनुपर्दछ । कुरिलो खेतीबाट राम्रो उत्पादन पाउनकोलागि ३–५ महिना बोट सुसुप्त अवस्थामा रहनु आवश्यक पर्दछ । यस अवस्थाको लागि माटोको ताफक्रम १० डिग्री सेल्सियस भन्दा तल रहनुपर्दछ ।
जग्गाको छनौट ”
सिँचाई र निकासको राम्रो व्यवस्था भएको पारिलो जग्गा कुरिलो खेतीको लागी छान्नु पर्दछ । बहुवर्षिय प्रकारका झारपातको प्रकोप बढी भएको जग्गा राम्रो हुँदैन ।
माटो :
प्रसस्त मात्रामा प्राराँगारिक पदार्थ भएको माटो कुरिलो खेतीको लागि राम्रो हुन्छ । यसको जरा करिब ५–१० फिटसम्म गहिरो जाने भएको हुँदा गहिरो, खुकुलो, दुमट खालको माटोमा विरुवाको बृद्धि र विकास राम्रो हुन्छ , फलस्वरुप उत्पादन पनि बढी हुन्छ । कुरिलो खेतिको लागि माटोको पि.एच. ६–७.५ राम्रो मानिन्छ ।
नर्सरीमा बीउबाट बेर्ना उत्पादन गर्ने तरिका ः
कुरिलो बीउ नर्सरीमा जमाउने उपयुक्त समय माघ महिना हो । नर्सरीको लागि जग्गा छनौट गर्दा पारिलो र तुषारो नपर्ने ठाउँ रोज्नुपर्दछ । नर्सरी बेड तयार गर्दा बेडको चौडाई करिब १ मिटर वा सो भन्दा केही कम गर्नु पर्दछ भने लम्बाई जग्गाको उपलब्धतामा भर पर्दछ । नर्सरी बेड तयार गर्दा माटोलाई २–३ पटक खनजोत गरी बुर्बुराउने पार्नुपर्दछ । बेड तयार गर्र्दा १०–१५ सेमी अग्लो बनाउनुपर्दछ । राम्रोसँग कुहिएको गोबर मल वा कम्पोष्ट मललाई जग्गाको अन्तिम तयारीको बेला बेडमा मिलाउनुपर्दछ । यसरी तयार गरेको बेडमा करिब १५–२० सेमी भन्दा गहिरो गरी रोप्नु हुदैन । १ किलो कुरिलोको बीउ नर्सरीमा जमाउनको लागि १,००० वर्गमिटर क्षेत्रफल आवश्यक पर्दछ । यसबाट करिब २५००० बेर्ना तयार हुन्छ जसले १ हेक्टर जमिनमा रोप्नको लागि पुग्दछ । बीउ रोप्नु भन्दा पहिले करिब ३–४ दिनसम्म ३०–३५ डिग्री सेल्सियस ताफक्रममा भिजाउनुपर्दछ । बीउ रोपेको करिब २०–३० दिनमा उम्रन शुरु गर्दछ ।
जग्गाको तयारी :
ट्रेन्च तरिकाबाट मुख्य जमिनमा कुरिलो रोप्नको लागि ९० सेमीको दुरीमा २० सेमी गहिराई र ३० सेमी चौडाई भएको कुलो बनाएर त्यसमा सिफारिस गरिएको मात्राको मलखाद हालेर
पुर्नुपर्दछ ।
क्राउन रोप्ने गहिराई २० सेमी भएपनि चिम्टाईलो खालको माटोमा रोप्ने गहिराई घटाउनु पर्दछ । पुरिएको मल माथिबाट क्राउन राखी राम्रोसँग जरा फिँजाएर राखी पहिले ५ सेमी माथिबाट माटोले पुर्नुपर्दछ । पछि विरुवा बढदै जाने क्रममा माटोले पुर्दै जानुपर्दछ र पहिले वर्षमा पुर्ने काम पुरै सक्नुपर्दछ , कुलो पुर्दा करिब ५–७ सेमी जमिनबाट माथि उठाई डयाङग बनाउनु पर्दछ ।
टे«न्च नबनाईकन पनि कुरिलो विरुवा रोप्न सकिन्छ । यसको लागि पहिले २–३ पटक जमिनलाई खनजोत गरी सिफारिस मात्राको मलखाद माटोमा मिलाएर जमिन तयार गर्नुपर्दछ । यसरी तयार गरेको जमिनमा सिफारिस गरिएको दुरीमा विरुवा रोप्नुपर्दछ ।
मलखाद :
कम्पोष्ट मल ३० मे. टन, युरिया १०० किलो, डिएपी ६० किलो र म्युरेट अफ पोटास ६० किलो प्रति हेक्टर प्रतिवर्षको दरले पटक–पटक गरी माटोमा दिनुपर्दछ । विरुवालाई फस्फोरसको आवश्यकता अधिक पर्ने भएको हुनाले रोप्ने बेलामा प्रतिबोट २०–२५ ग्राम हडडीको धुलो दिनु राम्रो मानिन्छ । यसका आलाबा विरुवालाई सोडिएम तत्व बढी मात्रामा चाहिने भएको हुँदा प्रतिवर्ष एक बोटमा ५ ग्रामको दरले नुन हाल्नुपर्दछ । अतः रोपेको दोस्रो वर्षदेखि प्रत्येक बोटलाई करिब १.५ –३ किलोसम्म कम्पोष्ट मल र माथि सिफारिस गरिएको मात्राको आधारमा रासायनिक मल दिनुपर्दछ । कुरिलोलाई मल दिने उपयुक्त समय जाडो महिनाको अन्त्यतिर हो तर नाईट्रोजनको दुईभाग मध्ये दोस्रो मात्रा बालाी लिईसकेपछि तुरुन्तै दिनुपर्दछ ।
तर बागवानी अनुसन्धान केन्द्र, मालेपाटन पोखराको १० वर्षको अनुभवमा बिना रासायनिक मल र नुन नराखिकन पनि कुरिलो खेती सफलतापूर्वक गर्न सकिन्छ भनेर प्रमाणित भएको
छ ।
कुरिलोको जातहरु :
नेपालमा आयात भएको अमेरिकन वर्णशँकर भालेजातका कुरिलोहरुमा जर्सि किँग, जर्सी सुप्रिम, जर्सी जेम, जर्सी नाइट आदि हुन । कुरिलोका अन्य जातहरुमा कोनोभर्स कोलोसाल, गायन्ट म्यामोथ, मार्था वासिङगटन, मेरी वासिंगटन, मिनभ, सटन्स पर्फेक्सन, लोरेल्ला आदि महत्वपूर्ण छन् ।
आवश्यक विरुवाको सँख्या प्रति हेक्टर ः
२४,०००–२५,००० क्राउन प्रतिहेक्टर ।
रोप्ने दुरी :
९० गुणा ४५ सेमी ।
क्राउनको साईज : ३०–५० ग्राम ।
रोप्ने समय : जाडो महिनाको अन्त्यदेखि वसन्त ऋतुभरि कुरिलोको रोप्ने उपयुक्त समय भएपनि चैत्रदेखि साउनसम्म रोप्न सकिन्छ ।
सिँचाई : सिँचाई मुख्य गरेर माटोको बनोट, बुनोट, मौसम र बालीको अवस्था अनुसार दिनुपर्दछ । प्रथम सिँचाई बाली रोपेपछि तुरुन्तै दिनुपर्छ भने फाल्गुन महिनादेखि टुसा आउन थाल्ने हुँदा आवश्यकता अनुसार ४–५ दिनको फरकमा सिँचाई गर्नुपर्दछ ।
गोडमेल : कुरिलो बहुबर्षिय बाली भएकोले झारपातहरु पनि बहुबर्षिय प्रकारकै बढी हुन्छन् । त्यसैले समय समयमा गोडमेल गरिराख्नुपर्दछ ।
टुसा का्टने तरिका ः साधारणतया कुरिलो टुसाको उत्पादन दोस्रो वर्षदेखि सुरु हुन थाल्दछ । कुरिलो एक पटक लगाएपछि २० वर्षसम्म उत्पादन लिन सकिन्छ । सामान्यतया टुसाको उचाई १५–२० सेमी भएपछि धािरलो चक्कुले करिब ४–५ सेमी माटो भित्रैबाट काटेर निकाल्नुपर्दछ ।
रोगहरु :
१. कुरिलो सिन्दुरे रोग : यो रोग पक्सिनिया नामको ढुसीद्धारा लाग्ने गर्दछ । यसको मुख्य लक्षण डाँट र हाँगाहरुमा साना, राता तथा पहेँला रँगका थोप्लाहरु देखिन्छन् । १ लिटर गाईको पिसाब ८–१० भाग पानीमा मिलाई छरेमा नियन्त्रण गर्न सकिन्छ ।
२. कुरिलो ओइलाउने रोग : यो रो फयुजारियम् नामक ढुसीबाट लाग्ने गर्दछ । यो रोग लागेको विरुवा पहेँलो खैरो तथा रँग उडेको जस्तो देखिन्छ । यसको नियन्त्रण गर्न स्वस्थ्य नर्सरीका विरुवा प्रयोग गर्ने, पानीको निकास राम्रो गर्ने । यसका जिवाणुहरु माटोमा बस्ने भएको हुँदा रोगी माटोमा खेती गर्नु हुँदैन ।

कीराहरु :
१. कुरिलोको खपटे कीरा : यसको माउ तथा बच्चा (ग्रुब) ले काण्ड र पातमा खाएर नोक्सान पुरयाउदछन् । यसको नियन्त्रणको लागी कीराको आक्रमण देखिने वित्तिकै नुमान २ मि.लि. प्रतिलिटर पानीका दरले पात तथा काण्ड भिज्ने गरी छर्नु पर्दछ ।
२. झुसिलकीरा : यसले विरुवाहरुको हाँगाविँगालाई खाएर नोक्सान पुरयाउँदछ । यसको नियन्त्रण गर्न नुभान २ एम एल प्रतिलिटर पानीमा राखी बोटमा छर्नुपर्दछ ।

उत्पादन : बहुबर्षिय बाली भएको हुँदा कुरिलो्को उत्पादन सुरुका बर्षहरुमा केही काम भएपनि ८–१० बर्षमा उत्पादन उच्च हुन थाल्छ । राम्रोसँग व्यवस्थापन गरेमा टुसाको उत्पादन तेस्रो बर्षमा १,००० किलो, चौथो बर्षमा २,००० किलो तथा पाँचौ बर्षमा करिब ३,००० किलो प्रति हेक्टरसम्म हुन्छ ।

Share.

Leave A Reply