किसानलाई गाडीभन्दा घोडाको भर

0

प्रकाश धौलाकोटी/उज्यालो

तेह्रथुम, फागुन १७ – जिल्लाको छथर गाउँपालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन् । हरेक वडाका गाउँ–गाउँसम्म पनि सडक पुगेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सवारीको अभाव छ, तर सडकको अभाव छैन । गाउँलेले आफैँ लगानी गरेर भए पनि सडक खनेका छन् ।

जिल्लामा अहिलेपनि गाडी चढेरै धेरै वडा कार्यालयहरु पुग्न सकिन्छ । किसानले उत्पादन गरेका कृषि उपज बजार पु¥याउन पनि सहजै छ ।

तर, छथर गाउँपालिका–१, आङ्दिमका किसान राजकुमार पन्त सामान ढुवानीका लागि घोडा प्रयोग गर्नुहुन्छ । व्यवसायिक गाई फार्म सञ्चालन गरी दैनिक दुध विक्री गर्दै आउनुभएका उहाँले आवश्यक पर्ने सामान आयात र दूध ढुवानीका लागि घोडाको प्रयोग गर्ने गर्नुभएको छ । पन्तले अहिले तीन वटा घोडा पाल्नुभएको छ । ‘व्यवसायिक रुपमा गाई पालेको छु, ढुवानीका लागि घोडा पनि छन्,’ उहाँले भन्नुभयो । सडकको पहुँच भएपनि गाडीभन्दा घोडा भरपर्दो भएको उहाँले बताउनुभयो ।

‘सडक त घरै मास्तिरसम्म छ, तर गाडीभन्दा घोडा सस्तो र भरपर्दो छ, त्यसैले घोडा नै पालेको हुँ,’ उहाँले भन्नुभयोे । पन्तले घोडाले सामान र दुध ढुवानी गरेरै मात्र मासिक ४५ हजार रुपैयाँ बढी आम्दानी गरिरहनुभएको छ । छथर गाउँपालिकामा पन्तजस्तै धेरै जना किसानले उत्पादन गरेको दुध ढुवानीमा घोडाको प्रयोग भइरहेको छ ।

किसानले ढुवानीका लागि सडक र सवारीभन्दा घोडा भरपर्दो भएको निष्कर्ष निकाल्दै घोडा खरिद गरेका हुन् । दुध ढुवानीकै लागि गाउँमा किसानले सहकारीमार्फत् समेत घोडा खरिद गरेका छन् । ‘कच्ची सडक छन्, वर्षामा भरपर्दा पनि छैनन्, त्यसैले घोडानै सबैभन्दा उत्तम छ,’ किसान पन्तले भन्नुभयो । दुध ढुवानीका लागि सवारी साधन पर्याप्त नभएको एवम् गाडीमा खर्च धेरै लाग्ने भएकाले किसान बताउँछन् ।

पर्याप्त मात्रामा गाडी सञ्चालन हुन नसक्दा घोडा नै प्रभावकारी साधन बनेको मार्गदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टिकाराम बस्नेतले बताउनुभयो । सहकारीले गएको वर्ष दुध ढुवानीकै लागि घोडा खरिद गरेको थियो । ‘सडक पुगेपनि सवारीसाधन पर्याप्त छैन,’ उहाँले भन्नुभयो, ‘फेरि वर्षात्का बेला सवारी साधन चल्दैन पनि ।’ यस्तो समस्याले हैरानी खेप्दै आएका स्थानीयले घोडा नै विकल्प ठान्ने गरेका उहाँले बताउनुभयो ।

घोडाबाट दुध ढुवानी गर्नेमा सुदापका काजीमान आंखेवा पनि पर्छन् । उहाँले घोडाबाट ढुवानी गर्नु सहज भएको बताउनुभयो । यस क्षेत्रका प्रायः किसानले व्यवसायिक रुपमा गाई तथा भैंसीपालनसँगै दुध उत्पादन गर्दै आएका छन् । तर, दुध ढुवानीका साधन नहुँदा घोडाको विकल्प नभएको मच्छिन्द्र पशुपालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका आंखेवाले बताउनुभयो ।

उनका अनुसार स्थानीय कृषि उत्पादन शुक्रबारे बजारसम्म ढुवानी गर्दै आएको छ । गाईपालनतर्फ युवा आकर्षण बढिरहेको जिल्ला दुग्ध उत्पादन संघका अध्यक्ष बुद्धिमान खुलालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैदेशिक राजेगारबाट फर्किएका युवा गाई फार्म सन्चालनमा लागेका छन् । छ जनाले गाई फार्म दर्ता गरेका जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।’

Share.

Leave A Reply