कांग्रेस-राजपा बैठकः चुनाव चिह्न दिलाउने, संशोधनमा बहुमत पुर्‍याउने सहमति

0

३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन नेपाली कांग्रेसको ध्यानाकर्षण गराएको छ । चुनावको वातावरण बनाउन संविधान संशोधन गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने राजपाको माग छ ।

सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा राजपाका नेताहरुले संविधान संशोधन नभए दोस्रो चरणको स्थानीय तह चुनावमा भाग नलिने चेतावनी दिए ।

बैठकपछि राजपाका नेता राजेन्द्र महतोले पत्रकारहरुसँग भने, ‘चुनावको वातावरण बनाउन ध्यानाकर्षण गराउन आएका थियौं । वातावरण बनेन भने जेठ ३१ गते कुनै पनि हालतमा चुनाव हुँदैन । संविधान संशोधन गर्नुपर्‍यो, स्थानीय तहको संख्या बढाउनु पर्‍यो ।’

बैठकमा कांग्रेस नेताहरुले माग सम्बोधन गर्दै जाने आश्वासन दिएका थिए । संविधान संशोधनका लागि बहुमत जुटाउन पहल गर्ने र राजपालाई चुनाव चिन्ह प्रदान गर्न पहल गर्ने बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

‘संविधान संशोधन प्रस्तावलाई पनि टुंगो लगाउन हामी लाग्छौं । दुई तिहाई बहुमत पुर्‍याउन आवश्यक पार्टीहरुसँग छलफल गर्छौं,’ नेता पौडेलले भने, ‘चुनाव चिन्ह दिने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने कुरा भएको छ ।’

उनले राजपाको मागका विषयमा शुक्रबार माओवादी केन्द्र र राप्रपासँग पनि छलफल गर्ने जानकारी दिए ।

Share.

Leave A Reply