कांग्रेस चुनाव सार्ने पक्षमा छैन : नेता लेखक

0

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि वाम र लोकतान्त्रिक गठबन्धन बनेका छन् । गबन्धनले चुनावी भागवण्डाका लागि छलफल तीव्र बनाइरहेका छन् । पछिल्लो राजनीतिक  घटनाक्रम र तोकिएकै मितिमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा प्रकाश ढकालले कांग्रेस नेता रमेश लेखकसँग कुराकानी गर्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास कसरी अघि बढिरहेको छ ?

देश नयाँ राजनीतिक धुव्रीकरणतर्फ उन्मुख भएको छ । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गर्दै पार्टी एकीकरण नै गर्ने गरी अघि बढेपछि प्रजातान्त्रिक दलबीच गठबन्धन निर्माण हुनु स्वभाविक हो । त्यसो भएकाले लोकतान्त्रिक गठबन्धन हुन्छ । हामी सबै पक्षसँग कुराकानी गरिरहेका छौं ।

वाम गठबन्धनबाट कांग्रेस जस्तो देशभर बलियो उपस्थित भएको पार्टी अलि बढी नै डराएर साना जनमत नभएका दललाई पनि समेट्न खोज्नुभएको हो ?

यसमा डराउने कुरा छैन । कांग्रेसका अगाडि थप चुनौति आएको छ । तर, त्यसो हुँदैमा कांग्रेस डराउँछ भन्ने होइन । हामी एमालेसँग पनि लडेकै हो । माओवादीसँग पनि लडेकै हो । राणाका विरुद्ध, पञ्चायका विरुद्ध पनि लगेको हो । राजनीतिक संघर्ष कांग्रेसको अभिन्न अंग हो ।

त्यस कारण कुनै पनि राजनीतिक संघर्षबाट कांग्रेस तर्सिँदैन । सक्षमतापूर्वक वाम गठबन्धनलाई सामना गरेर अघि बढ्छौं । दुई कम्युनिष्ट पार्टीको तालमेलले आशंका जन्माएको छ । यसले कसै राज्यलाई कम्युनिष्टकरण गर्ने त होइन भन्ने चिन्ता थपिएको छ । त्यसलाई रोक्न पनि लोकतान्त्रिक शक्ति एक हुनु आवश्यक छ ।

लोकतन्त्रप्रति एमालेको निष्ठामा अझै पनि आशंका गर्ने ठाउँ छ र ?

माओवादी त उग्रवामपन्थी धारबाट आएको पार्टी हो । उ अझै लोकतान्त्रिक कारणको बाटोमा अघि बढिरहेको छ । यसै क्रममा दुई कम्युनिष्ट पार्टीको अप्रत्यासित मिलन भएको छ । त्यसको भित्री कुरा त अझै बाहिर आएको छैन । अहिलेसम्म सिट बाँडफाँडको कुरा मात्र बाहिर आएको छ ।

वामपन्थी धेरै मजबुत भएर आए भने त राज्यलाई नै कम्युनिष्टिकरण गर्ने खतरा त रहन्छ रहन्छ । जुन डरलाग्दो अवस्था हो । त्यसो भएको हुनाले लोकतान्त्रिक दललाई मोर्चाबन्दी गर्नु कांग्रेसको दायित्व हो । लोकतन्त्रमा आउने खतराप्रति कांग्रेस सचेत रहँदै अघि बढ्नुपर्छ र बढ्छ पनि । अहिलेसम्म एमालेको लोकतन्त्रप्रतिको आस्थामा प्रश्न गर्ने ठाउँ देखिँदैन । तर, दुई कम्युनिष्ट पार्टी मिलेको अवस्थामा आफ्नो गुण झाड्छ भन्न त सकिँदैन । उसको पनि कम्युनिष्ट धारणाप्रति मोह भंग भएको छैन ।

कांग्रेससँग माओवादी मिल्दा लोकतान्त्रिक हुने तर, त्यहीबाट एमालेसँग मिल्दा चाहिँ लोकतान्त्रि खतरामा पर्‍यो यो भनेर कांग्रेस चुनावमा हारिन्छ भन्ने डरले बढी अतालिएको त होइन ?

पार्टीहरुबीच मोर्चाबन्दी हुनु स्वभाविक हो । म यसलाई अस्वभाविक भयो भनेर टिप्पणी गर्दिन । तर, जुन परिस्थित सिजर्ना भएको छ । त्यसका प्रति सचेत त रहनै पर्छ । कांग्रेससँग माओवादी मिल्दा राज्यको कम्युनिष्टकरण हुँदैन तर कम्युनिष्ट कम्युनिष्ट मिल्दा त त्यो खतरा रहन्छ । जस्तो पहिलो संविधानसभामा माओवादी बलियो हुँदा उसले संविधान निर्माणका  क्रममा राखेका विषयवस्तु राज्यलाई कम्युनिष्ट बनाउने खालका थिए कि थिएनन् ? त्यसको अर्थ विचार त जीवितै छ भन्ने त पुष्टि भएको छ ।

स्थानीय चुनावमा सहकार्य गरेको सत्ता साझेदार माओवादीसँग मिलेर जान तपाईंहरु संवादमा हुनुहुन्थ्यो । माओवादीलाई एमालेको पोल्टामा जान दिन कहाँ चुक्नु भयो ?

हामी कहीँ चुकेका छैनौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चाँडो निर्णय  फेर्न अभ्यस्त हुनुहुन्छ । मलाई त्यति धेरै अचम्म लागेको छैन । जसरी उहाँ एमाले छाडेर आउनुभयो, त्यसै गरी कांग्रेस छाडेर पनि जानु भो । हामी चुकेको होइन । त्योभन्दा बढी केही भए विस्तारै खुल्दै जाला ।

उसो भए बार्गेनिङ नमिलको हो ?

त्यसका बारेमा गम्भीर रुपले कुरा भएको होइन । सामान्य कुराकानीमा हामी मिलेर जाने भन्ने घोषित नीति नै हो । स्थानीय तहमा जस्तै मिलेर जाने कुरा भइरहेको थियो, । तर, प्रतिशतमा कुरा भएको थिएन । त्यस्तो कुरा उठेको भए त्यसमा पनि गम्भीरतापूर्वक कुरा गर्न सकिन्थ्यो । त्यो छलफल हामीसँग भएन । उहाँहरुसँग एकै पटक सहमति भयो ।

मधेस केन्द्रीत दलसँग तालमेल गर्ने कुरा गरिरहँदा राजपा र संघीय फोरमले गठबन्धन गर्ने समझादारी गरे । यस्तो अवस्थामा कांग्रेससँग ती दलले तराईमा सहकार्य गर्लान् र लोकतान्त्रिक गठबन्धनले ठोस आकार लिन्छ भन्न सकिएला ?

जहिले जतिका बीचमा बन्छ, बन्छ । पछि विस्तारै छलफल गर्दै जाने हो । धुव्रीकरण सुरु भएको छ । थ्रेस  होल्डका कारण पनि दलहरुलाई मिल्नु पर्ने बाध्यता छ । समानुपातिकमा सिट कायम गर्न कम्तिमा ३ प्रतिशत ल्याउनै पर्छ । राष्ट्रिय दल हुन प्रत्यक्षमा एक सिट जित्नैपर्छ । अर्कोतर्फ वाम गठबन्धका कारण लोकतान्त्रिक पक्षधरलाई पनि मिल्नु पर्ने बाध्यता छ ।

कांग्रेस नेतृत्वमा बन्न लागेको लोकतान्त्रिक गठबन्धनमा साना दलले मागे जति सिट दिन कांग्रेसले छाति उदार बनाउँछ ? किनकी उनीहरुले आफ्नो हैसियतभन्दा धेरै सिट मागेका छन् ?

छलफल भइरहेको छ । माग्दा अलि बढी माग्ने । छलफल गरेर घट्ने स्वभाविक प्रक्रिया हो । वाम गठबन्धनपछि अब कांग्रेसभित्रको ६०४० को भागवण्डा चाहिँ हुन्छ कि हुँदैन ? यसले कांग्रेसलाई निक्कै सकस पार्दै आएको छ ?

प्रत्येक राजनीतिक घटनाका सकारात्क र नकारात्मक पक्ष हुन्छन् । एमाले माओवादीको मिलनले देश कम्युनिष्टकरण हुनुका साथै दुई पार्टी प्रणालीमा जाने संभावना पनि बढेको छ । कम्युनिष्टहरु विचारका आधारमा एक हुन थालेपछि अब यसले हामीलाई पनि एकतामा बल दिन्छ । अहिलेसम्म कांग्रेसमा हामीलाई कसले हराउन सक्छ भन्ने थियो । अब कांग्रेसभित्र पनि सुदृढिकरण हुन्छ ।

कांग्रेस वामपन्थी दलको घेराबन्दीमा परेपछि चुनाव सार्ने खेलमा लागेको छ भन्ने सुनिन्छ । स्थिति त्यस्तै हो ?

मलाई चुनाव सर्छ भन्ने लाग्दैन । चुनाव तोकिएकै मितिमा हुन्छ । चुनावको तिथि मिति घोषणा भइसकेको छ । निर्वाचन आयोगले तयारी तीव्र पारिरहेको छ । अब यस्तोमा चुनाव नगर्नु पर्ने, सार्नुपर्ने कुनै कारण छैन ।  सरकारले त्यस्तो गर्दैन । चुनाव तोकिएकै मितिमा हुन्छ ।

Share.

Leave A Reply