कर्मशील जोडी : बंगुरपालनबाट मनग्य आम्दानी गर्दै

0

श्यामशितल परियार/उज्यालो ।

मंसिर १३ – लमजुङको सुन्दरबजार नगरपालिका ७ कुमालटारका बिक्रम कुमालले १५ वर्षअघि विदेश जाने योजनाका साथ पासपोर्ट बनाउनुभयो । एसएलसी दिने बित्तिक्कै उहाँले पासपोर्ट बनाउनुभएको हो ।

पासपोर्ट बनाए पनि उहाँलाई विदेश जान भने मन लागेन । त्यसपछि उहाँले केही वर्ष इलेक्ट्रिसियन बनेर काम गर्नुभयो । यो कामबाट पनि भनेजस्तो कमाई नभएपछि उहाँले खेर गएको जमिनमा बंगुरपालन गर्ने योजना बुन्नुभयो । र २०७१ सालमा साढे ९ लाखको लगानीमा बंगुरपालन व्यवसाय सुरु गर्नुभयो ।

उहाँले सुरुमा २५ वटा उन्नत जातका बंगुरबाट यो व्यवसाय सुरु गर्नुभएको हो । उहाँको बंगुर फार्ममा अहिले सानाठूला गरी झण्डै ७० वटा बंगुर रहेका छन् ।

फार्मबाट उत्पादित मासु र पाठापाठी स्थानीय बजारमै खपत हुन्छ । उहाँलाई बजारको कुनै समस्या छैन । उहाँले बंगुरपालन व्यवसायबाट मासिक झण्डै ६० हजार रुपैयाँसम्म कमाउनुहुन्छ ।

यसै व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि उहाँलाई अब विदेश जाने कुनै चाहना छैन । बरु यसै व्यवसायलाई फलाउने फूलाउने योजना छ उहाँको ।

बंगुरलाई दाना हाल्दै उहाँले भन्नुभयो, ‘विदेश जाने भनेर पासपोर्ट पनि काटेँ, तर विदेश गइन, यही सानातिनो व्यवसाय सुरु गरियो, यसैबाट राम्रो कमाई भएको छ, अब विदेश जान्न, बरु यसै व्यवसायलाई थप विस्तार गर्ने सोच बनाएको छु ।’

उत्पादित मासु प्रतिकेजी ३ सय रुपैयाँका दरले स्थानीय बजार सुन्दरबजार, भोटेओडारमै खपत हुँदै आएको छ । मासुभन्दा पाठापाठी बेच्न फाइदा हुने उहाँको आफ्नै अनुभव छ । ४५ दिनको पाठापाठीलाई उहाँले ४५ सय रुपैयाँमा बेच्नुहुन्छ । ९० दिन नाघेका बंगुरका पाठापाठी उहाँले ६ हजार ५ सय रुपैयाँमा बेच्नुहुन्छ ।

‘मासुभन्दा पाठापाठी बेच्दा फाइदा हुन्छ, त्यसैले यसलाई विस्तारै पाठापाठी  उत्पादन तथा बिक्री केन्द्रको रुपमा अघि बढाउने सोच बनाएको छु,’ उहाँले भन्नुभयो । दिनरात नभनी उहाँ बंगुरकै स्याहारसुसारमा जुट्नुहुन्छ ।

व्यवसायलाई अघि बढाउन बिक्रमलाई हरतहरले सघाउनुहुन्छ, उहाँकी श्रीमती सुनिता गुरुङ कुमालले पनि । श्रीमानको काखापोल्टामा रहेर उद्यम गरी मनग्य कमाई हुँदा सुनिता पनि दंग हुनुहुन्छ ।

‘श्रीमान् र म मिलेर काम गरेका छौँ, कमाई पनि भएकै छ,’ श्रीमानको काखापोल्टामै रही व्यावसायिक काम गर्न पाउँदा अत्यन्तै खुसी छु, जाँगर भए देशमै छ पैसा,’ उहाँले पाठापाठीलाई आइरन सुई लगाउँदै भन्नुभयो ।

बंगुरपालनसँगै उनीहरुले साढे २ रोपनी जग्गामा तरकारी खेती पनि गरेका छन् । मनमा जोस, जाँगर, सीप, क्षमता भए गाउँघरकै माटोमा सुन फलाउन सकिने कुमाल दम्पत्तिको भनाई छ ।

Share.

Leave A Reply