एमालेभित्रै बसेर संविधान संशोधनका लागि संघर्ष गर्छुः अनिता यादव राजपाका ठूला नेता चाँडै एमालेमा प्रवेश गर्दैछन्

0

५ असार, काठमाडौं ।
दोस्रो चरणको स्थानीय चुनाव बिथोल्न राष्ट्रिय जनता पार्टीका शीर्षनेताहरुले पत्रकार सम्मेलन गर्दै गर्दा सोही पार्टीकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव भने एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा थिइन् ।

जतिबेला राजपाले उम्मेदवारी मनोनयन बिथोल्न भएभरको शक्ति लगाइरहेको थियो, त्यति नै बेला कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमाले प्रवेश गर्दै थिए ।

अनिता यादव केही महिनाअघि नवलपरासीमा सम्पन्न भएको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी ६ वटा मधेसवादी पार्टीको एकीकरणपछि राजपाको पनि कोषाध्यक्ष बनेकी थिइन् ।

अनिताका पति श्रीकृष्ण यादव एमालेबाट ०५६ सालमा धनुषा ५ मा चुनाव लडेका थिए । तर, उनी झिनो मतले कांग्रेसका रामवरण यादवसँग पराजित भए । मधेस आन्दोलनको भेलमा श्रीकृष्ण पनि एमालेबाट बाहिरिए । यादव तमलोपाको केन्द्रीय कोषाध्यक्ष रहेकै बेला मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा निधन भयो ।

अनिता २४ वर्षदेखि राजनीतिक गतिबिधिमा रहे पनि पति श्रीकृष्णको मृत्युपछि तमलोपाको केन्द्रीय राजनीतिमा सक्रिय भएकी थिइन् । उनले ०७० सालको संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार बन्दा धनुषा ५ मा ८ हजार ३६५ मत प्राप्त गरेकी थिइन् । त्यो क्षेत्रबाट तत्कालीन राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहेन यादव बिजयी भएका थिए ।

चुनावमा भाग लिने र एमालेलाई हेर्ने दृष्टिकोणमै कुरा नमिलेपछि आफूले राजपा परित्याग गरेको अनिताले बताइन् ।उनले एमालेभित्रै बसेर संविधान संशोधनका लागि संघर्ष गर्ने बताइन् ।

मधेस बिरोधी भनेर प्रचार भइरहेको एमालेमा प्रवेश गर्नुको कारण के हो ? अनिता यादवसँग यही प्रश्नबाट कुराकानी शुरु भयो ।

Share.

Leave A Reply