इटहरी उपमहानगरको जग्गा खोजी अभियान कहाँ पुग्यो ?

0

२६ पुस, इटहरी । निर्वाचित भएपछि पहिलो पत्रकार सम्मेलन गरेर इटहरीका मेयर द्वारिकलाल चौधरीले उपमहानगरभित्रका सार्वजनिक जग्गा खोज्ने अभियानको घोषणा गरेका थिए । अतिक्रमण गरिएका जग्गामा डोजरसमेत चलाइएको थियो । मेयरको यो अभियानलाई इटहरीवासीले स्वागतयोग्य कार्य भन्दै समर्थन जनाएका थिए ।

तर, सार्वजनिक जग्गा खोज्ने अभियान चलाएका मेयर चौधरीले यतिबेला जग्गा खोजी अभियान स्थगन गरेका छन् । इटहरीमा भूमाफियाको जगजगी भएको भनिएका बेला अभियान रोकिएकोमा स्थानीयवासीले चित्त दुखाएका छन् ।

उपमहानगरपालिकामा अतिक्रमित सार्वजनिक जग्गा खोज्ने भनेपछि इटहरीका स्थानीयहरु उत्साहित बनेका थिए । सामाजिक सञ्जाल र मिडियामा इटहरीका ‘भूमिपुत्र’ मेयर चौधरीको प्रशंसा भइरहेको थियो । तर, हडपिएका सार्वजनिक जग्गा खोजी अभियान अहिले शंस्कास्पद रुपमा रोकिएको स्थानीयको गुनासो छ ।

हल्ला गरेर थालिएको खोजी अभियान गुपचुपमै रोकियो

आफूले पदभार ग्रहण गरेको श्रावण महिनाबाटै सार्वजनिक जग्गा खोज्न मेयर चौधरी सक्रियतापूर्वक लागिपरेका थिए । यही क्रममा इटहरीको डीभीएम र रोयल रिसोर्टले मिचेका संरचनाको लेखाजोखा खोजेपछि मेयरको प्रशंशा थप चुलिएको थियो ।

गत श्रावण १९ गते मेयर चौधरीले इटहरी १७ स्थित स्यास्र्सेकाली पम्प छेउमा टाटा कम्पनीले बनाएको अवैधानिक कल्भर्टमा डोजर चलाए ।

सुरुमा सार्वजनिक जग्गा खोज्दा फेसबुकमा पोस्ट गरेरै खोजी कार्यमा सहयोग मागेका मेयर आजकाल जग्गा खोजीको विषयमा मौन छन् । श्रावण अन्तिममा आएको बाढीले आफ्नो खोजी कार्य तत्कालका लागि स्थगित भएको बताएका मेयर बाढी सकिएको धेरै महिना बितिसक्दा पनि यसबारे मौन छन् ।

कति छ इटहरीमा सार्वजनिक जग्गा ?

गत वर्ष इटहरीमा गरिएको सार्वजनिक जग्गाको खोजीमा ९९५ बिगाह ६ कट्ठा सवा १ धुर सार्वजनिक जग्गा भेटिएको थियो ।

पुरानो नक्सा, सुनसरी मालपोत र नापी कार्यालयको नक्सांकनका आधारमा तयार गरिएको जग्गा खोजी समितिका संयोजक तथा इटहरी उपमहानगरपालिकाका इञ्जिनियर विकाश भट्टराईले बताए ।

अझ ग्राउण्डमै गएर खोज्ने हो भने इटहरीको सार्वजनिक जग्गा झन धेरै बढेर जाने उपमहानगरापलिकाका पुराना कर्मचारीहरु र स्थानीय बताउँछन् । जानकारहरुका अनुसार इटहरीका सार्वजनिक जग्गा उपमहानगर प्रशासन मातहतमा ल्याएर सार्वजनिक पार्क, बृद्ध चौतारी, सार्वजनिक धारा, फलैंचा, बाल उद्यान, बगैंचा, सुधारगृह आदि बनाएर शहरी पूर्वाधार र सुन्दरता बढाउन सकिने स्थानीयको भनाइ छ ।

अभियान जारी राख्न स्थानीयको सुझाव

‘विदेशमा मान्छेले आफ्नो सडक छेउको निजी जग्गा सडकलाई दान दिन्छन’, युवा संघ सुनसरीका अध्यक्ष होमनाथ धमला भन्छन्, ‘हाम्रोमा भने केही फिट र केही धुर सडक मिच्न पाए हुन्थ्यो भन्ने आम मानसिकता रहीआएको छ र त्यो अब स्थानीय सरकारले हटाँउनैपर्छ ।’

धमलाको जस्तै तर्क छ इटहरी- ४ को बगैंचा टोल विकास संस्थाका अध्यक्ष सुनील कार्कीको । ‘हरेक बर्ष बढ्दो सडक दुर्घटना र बाढी तथा डुवानको समस्या हल गर्न मिचिएका संरचनाहरु भत्काउनै पर्ने हुन्छ’, कार्की भन्छन, ‘अस्ति आएको बाढी, डुवान र हरेक दिन हुने जाम त्यसका उदाहरण हुन्, त्यसैले अब त्यस्ता संरचनाहरु भत्काउन मेयरले खुट्टा कमाउनुहुँदैन ।’

नगारिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेल पनि इटहरीको सडक र सार्वजनिक जग्गा अतिक्रमणबाट आजित छन् । आफूले यो समस्या समाधान गर्न पहिले नै मेयरलाई अनुरोध गरेको उनले बताए ।

‘इटहरीमा मिचिएका सार्वजनिक जग्गा, खोला, पैनी र सडकहरुको कुरा गर्दा धेरै लामो समय लाग्छ’, पौडेल भन्छन्, ‘सार्वजनिक जग्गा खोज्न, वास्तविक सकुम्बासी पहिचान गरेर व्यवस्थापन गर्न र मिचिएका संरचनाहरु हटाउने कामको अगुवाइ मेयरले गर्नैपर्छ ।’

उता, इटहरीको सक्रिय सामाजिक अभियानकर्मीहरुको समूह केआइसी इटहरीका नेता दिव्यराज गुरुङ पनि इटहरीको सार्वजनिक जग्गा खोज्ने र अतिक्रममित जग्गा फिर्तीको अभियान जारी राख्नुपर्नेमा जोड दिन्छन् ।

‘हामीले इटहरीलाई प्रदेश एकको राजधानी शहरकोे रुपमा व्याख्या गरिरहेको अवस्थामा यसरी सार्वजनिक जग्गाहरु सबै मिचिएर त हुँदैन नि’, गुरुङ भन्छन् ,’यो समस्या इहटरीको मात्रै हैन, आम नवशहरहरुको हो,त्यसैले यस्तो अभियान रोकिनुहुन्न ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य राम धामी पनि इटहरीको मिचिएका सार्वजनिक सम्पत्ति खोज्नुपर्ने बताउँछन् । पुरानो समयका थारुहरुले पूजा गर्ने ग्रामथानका जग्गाहरु पनि एकाएक हराउँदै गएको र मिचिएकोमा धामी चिन्तित छन् । उनी भन्छन्- ‘इटहरीमा धेरै सार्वजनिक जग्गाहरु मिचिएका छन् र मिच्नेहरुमा यहाँका ठूला भनिने मान्छेहरु नै छन् ।’

Share.

Leave A Reply