आन्दोलनकारी आफैंले स्थापना गरे प्रदेश ७ को ‘मन्त्रालय’

0

२० पुस, डोटी । सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी बनाउने तयारी गरेपछि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका डोटीका जनताले दिपायलस्थित क्षेत्रीय कार्यालयहरुमा मन्त्रालयका साईन वोर्ड लगाएका छन् । साथै जिल्लाका सरकारी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

बिहीवार बिहान प्रदर्शनकारीले राजपुरमा रहेका क्षेत्रीय कार्यालयका भवनहरुमा बिभिन्न प्रादेशिक मन्त्रालयका साईन वोर्ड झुण्ड्याएका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको नव निर्मित भवनमा प्रदेशसभा सचिवायल तथा मुख्यमन्त्रीको कार्यालयको साईन वोर्ड राखिएको छ ।

यस्तै क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृहमन्त्रालयको वोर्ड झुण्ड्याइएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्वास्थ्य, शिक्षा तथा सामाजिक बिकास मन्त्रालय, खानेपानी कार्यालयको भवनमा अर्थ मन्त्रालय, शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा भौतिक पूर्वाधार मन्त्रालयका साईनवोर्ड राखिएका छन् ।

आन्दोलनकारीहरुले क्षेत्रीय पशु सेवा निर्देशनालयमा बन, बिज्ञान तथा भुमी सुधार मन्त्रालय र कृषि निर्देशनालयको भवनमा कृषि, पशु तथा सहकारी मन्त्रालय स्थापना गरेका छन् ।

सरकारले आफ्नो अधिकार खोस्न थालेपछि आफुहरुले बाध्य भएर आन्दोलनबाटै मन्त्रालय स्थापना गर्नु परेको आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिए ।

आन्दोलनकारीले बिहीवार दिउँसो जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुमा तालावन्दी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा तालावन्दीका लागि आन्दोलनकारी र प्रहरीकाबीच मुल गेट तानातान भएको थियो । मुल गेटमा चुकुल नभएका कारण ताला लगाउन नसकेको सिलगढी आन्दोलन संयोजन समितिका संयोजक गैसस महासंघका जिल्ला अध्यक्ष रघु कठायतले वताए । उनले पशु सेवा कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला बिकास समिति लगायतका सरकारी कार्यालयमा तालावन्दी गरेको वताए ।

यस्तै आन्दोलनका क्रममा ठाउँ ठाउँमा सरकारको बिरुद्धमा पुत्ला दहन गरिएको छ । दिपायल र सिलगढीमा बिशाल जुलुस प्रदर्शन गरिएको छ । दिपायलमा आन्दोलनकारीहरुले नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टकोसमेत पुत्ला दहन गरेका छन् । बिहीवार बिहान भट्टले एक रेडियो सम्वादमा दिपायल राजधानीका लागि उपयुक्त नभएको प्रतिक्रिया दिएपछि उनको पत्ला दहन गरिएको हो ।

दिपायल अस्थायी राजधानी घोषणा नभएसम्म आन्दोलन जारी रहने आयोजकहरु बताउँछन । आन्दोलनमा क्रममा बिभिन्न कोणसभा गर्दै सरकारलाई खवरदारी गरिएको छ ।

मंगलबार बिभिन्न सञ्चारमाध्यममा सरकारले अस्थायी राजधानी धनगढी तोकेको भन्ने समाचार आएपछि थप चर्किएको आन्दोलनले डोटी जिल्ला पुरै ठप्प छ । दिपायल, सिलगढी, गोपघाट लगायतका मुख्य बजारहरु पूर्ण रुपमा बन्द छन् । यातायातका साधनहरु ठप्प छन् ।

आफूहरु शान्तिपूर्ण र संयमित आन्दोलन गरिरहेको र यदि सरकारले आन्दोलन दवाउन बल प्रयोग गरे परिणाम नराम्रो हुने आन्दोलन संयोजन समितिका सदस्य दीपक खड्काले वताए ।

Share.

Leave A Reply