अग्नि पीडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वासन

0

खोटाङ, पुस २३– रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङको हलेसीका आगलागीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएको छ । त्रि–धार्मिक एवं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राति भएको आगलागीमा चार व्यवसायीका पाँच घरलगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरीक्षणका क्रममा शनिबार साँझ हलेसी आइपुग्नु भएको हो ।

आइतबार बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरीक्षण एवं टहरामा दिन बिताइरहेका पीडितलाई भेटघाट गर्नु भएको छ । पीडितसँगको भेटघाटका क्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वासन दिनुभएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

रक्षामन्त्री प्रधानले घट्नास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ । रक्षामन्त्री प्रधान आगलागी प्रभावित क्षेत्रको निरीक्षणपछि दिक्तेलतर्फ हिँड्नु भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

आगलागीमा घरसहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलगायतका पीडित अस्थायी टहरामा कष्टपूर्ण दिन बिताइरहेका छन् ।

Share.

Leave A Reply